जनमत पुस्तकालय भवनका सर्जक राजभाइ



मोहन दुवाल
आफ्नै लगानी गरेर समाजसेवा गर्नेहरू थोरै मात्र छन्। अझै बनेपाको परिदृश्यमा आफ्नै लगानीमा स्कुल, कलेज, पुस्तकालयहरू बनाइदिनेहरू त छँदै छैनन्। यस खालको वातावरणले ग्रस्त यस नगरक्षेत्रमा आफ्नै लगानीमा पुस्तकालय भवन बनाइदिने वचन दिएका छन् मेरा प्रिय मित्र राजभाइले। ४५ लाखसम्मको लागतमा यिनले काभ्रे बहुमुखी क्याम्पसको प्राङ्गणमा बनाइदिने भए ‘जनमत वाङ्मय पुस्तकालय’ का नाममा पुस्तकालय भवन।

गत १३ गते माननीय सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाबाट शिलान्यास पनि भयो। यिनै समाजसेवी राजभाइ प्रधान मेरा ५०औं वर्ष अघिदेखिका आत्मीय मित्र हुन्, जसको शब्दचित्र राष्ट्रकै लागि सम्झना गर्नलायक नै भएकोले अक्षरमार्फत उच्चारण रुचाइरहेछु। थुप्रै खालका मेरा यात्राहरू छन्।

यात्रामा मलाई साथ दिने थुप्रै मित्र र सहयोगीहरूमध्ये एकजना मेरा शालीन मित्रलाई आज म सम्झन खोजिरहेछु। राजभाइ प्रधान मेरा पुराना मित्रमात्र होइन, आजसम्म पनि मेरो सिर्जनशील समाजपरक यात्रामा मलाई मलजल दिएर साथ दिइरहन रुचाइरहेका एकजना सहृदयी मित्र हुन्। पुरानो सम्झना राख्दा मैले भन्नुपर्छ– सामाजिक, साहित्यिक तथा राजनीतिक गतिविधिमा सँगसँगै कुद्न पाएका यिनीसँग धेरै कुरा र कार्यहरूमा मन मिलाउन पाएको सम्झना बिर्सिनसक्नु छ।

वाचनालय खोल्ने कार्यमा, हस्तलिखित पत्रपत्रिका प्रकाशित गर्ने अभियानमा, मचापुचः (बालसमूह) बनाउँदै चेतना बाँड्ने सवालमा, प्रगतिशील साहित्य–गोष्ठीको सञ्चालनमा, नेपालभाषाका कविगोष्ठीहरूको आयोजनामा, राँको परिवारको गठन कार्यमा, विगुल साहित्यिक पत्रिकाको प्रकाशन र सम्पादनमा यिनी सँगसँगै संघर्षमा खटेका घटनाहरू बिर्सिनसक्नु छ।

समाजमा व्याप्त कलुषिताका विरुद्ध चेतना बाँड्ने थुप्रै्र खालका कार्यहरूमा तिखो खालका भोगाइहरू भोग्दाभोग्दै पनि यात्रामा लम्केका पदचापहरू भुलिनसक्नु खालका छन्। म पुराना सम्झनाहरूमा राखेर हालका राजभाइ प्रधानलाई नियाल्न मन पराइरहेको छु।

धेरै वर्षसम्म एउटै सोच, एउटै बाटो भएर लागिरहेका मित्र राजभाइ प्रधानको निवासस्थान त्यसताकाका लागि हाम्रो आश्रयस्थल हुन्। यसै दौरानमा उनका भाइ जयन्द्र प्रधानसँग पनि हाम्रो सामीप्यता बढ्न थालेको हो। समाजमा परिवर्तन ल्याउने दृष्टि नै हाम्रो त्यसताकाको प्रमुख दृष्टि थियो।

युवा मस्तिष्कमा सामाजिक प्रवाहबाट सम्प्रेषण हुन आएको विचार–दृष्टिलाई मूल मर्मकै रूपमा स्वीकारेर हामी त्यसताका आफ्नै वर्कतअनुसार केही गर्न लालायित भई क्रियाशील रहेका हौं। समाजका यथास्थितिवादीहरूका लागि हामी विद्रोही, सरकारको आँखामा उग्रवादी रहेर काम गर्दाका क्षणहरूमा मित्र प्रधानले सक्रिय भूमिका निभाएर खेलेको भूमिका अविस्मरणीय छन्।

मुचापुचःद्वारा प्रकाशित ल्हाकायोमायन, विगुललगायत मातृभूमि साप्ताहिक पत्रिकामा कविता, कथाहरू प्रकाशित गराइसकेका यिनका साहित्यिक–कृतिहरू पनि चर्चा गर्नलायकका छन्। विगुल प्रगतिशील सामयिक संकलनका दुईवटा अङ्क प्रगतिशील साहित्यकारमाझ चर्चामा आएका अङ्कहरू हुन्। तेस्रो अङ्कको विगुल प्रशासनबाट २०२९ मा प्रेसबाट जफत भएको हो। उक्त अभियानमा अर्थात् विगुल फुक्ने कार्यमा यिनी मेरा साहित्यिक योद्धा हुन्। विगुलका सन्दर्भहरू बिर्सन नसकिने खालका मेरा साहित्यिक कर्महरू हुन्। यस कर्म र कार्यमा पनि यिनको सहयोग निःस्वार्थ खालको नै रह्यो।

स्कुल पढ्दादेखि नै चिनेका यिनीसँग मेरो मित्रता शायद २०२० सालदेखि नै भएको हो। कहिल्यै धोका नदिएका, अप्ठ्यारोमा पनि कहिल्यै साथ नछाडेका मेरा मित्र राजभाइसँग थुप्रै यात्राहरूमा सँगसँगै कुद्न पाएको छु। हाल यिनी व्यापार व्यवसायलगायत कुनै पनि व्यावसायिक कार्यहरूमा संलग्न छैनन् तापनि सामाजिक तथा साहित्यिक कार्यहरूमा मन फुकाएर सहयोग गर्न मन लगाएका छन्। राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न मन पराउने र साथै तिरस्कार गर्नुपर्नेलाई तिरस्कार गर्न जानेका यिनी हालसम्म मेरो यात्रामा साथ दिँदै आएका मेरा अनन्य मित्र हुन्।

यिनले सामाजिक कार्यमा सहयोग गरेका धेरै उल्लेखयोग्य कार्यहरू छन्। शिक्षक आन्दोलनमा आफू शिक्षक नभएर पनि मलाई कष्टमा साथ दिँदाका क्षणहरू भुल्न गाह्रो छन्। राजनीतिमा पनि जनपक्षीय कार्यहरूमा मन दिएर साथ दिएका अनगिन्ती कार्यहरू उदाहरणीय छन्। साहित्यिक अभियानमा पनि यिनले पुर्याइदिएको भावना र कार्यहरू स्वच्छ र चोखा छन्। दुई छोरा र दुईवटी छोरीहरूलाई उच्च शिक्षा दिन केही कन्जुस्याइँ नगरेर यिनले आफ्नो वर्कत्मात्र देखाएनन् उनीहरूलाई कर्तव्यपथमा कुदाउन पनि यिनी सफल रहे।

काम विशेषले टाढाजस्तो देखिएको तर मेरा आत्मीय मित्र राजभाइ प्रधान २००३ माघ ८ गते पिता जनकलाल र माता अक्कलकुमारीका जेठा छोरा भई बनेपा–८, वकुटोलमा जन्म पाएका हुन्। दिव्यलक्ष्मीसँग मायाका उत्सर्गहरू साटेर व्यवसायमा रमाउँदै सामाजिक कार्यमा सक्दो मन दिएर लागिरहेका यिनी कुलेश्वर आवास छोडेर बागडोलको नयाँ घरमा सरे। कुलेश्वरमा हुँदा पनि आवास परिवार कल्याण संस्थाका उपाध्यक्षसम्म भई सहयोग पुर्याएका यिनले कुलेश्वरमा भएका सबै खालका विकास निर्माणका कार्यहरूमा पनि सक्रिय भएर सहयोग र सेवा पुर्याइदिएका देखिन्छ। कुलेश्वर मा.वि.का संस्थापकसमेत भई सेवा गरेका यिनी सेवाका मर्महरू फुकाउन कुलेश्वरमा पनि सक्षम र सबल देखिएका व्यक्तित्व हुन्।

समाजमा केही गर्न रुचाइरहने भावनाले गर्दा सुन्दर सामाजिक कार्यहरूमा यिनले सक्दो सहयोग जुटाइदिएका छन्। प्रतिभा सम्मान प्रबन्ध गुठीमा, जनमतको प्रकाशनमा, बुद्धिजीवीहरूको राष्ट्रिय गोष्ठीहरूमा, मठ–मन्दिर निर्माण कार्यमा, पाटी–पौवा, धारा–बाटो निर्माण कार्यमा यिनले सक्दो मन फुकाएर सहयोग जुटाइदिएका छन्। भावना राम्रो हुनुपर्छ, मान्छे जहाँ बसे पनि हुन्छ। सुन्दर कार्य जसले गरे पनि हुन्छ। यस खालको भावना र कार्य गर्नेहरू महान् हुन्छन्। म यस्ता मान्छेहरू मन पराउँछु।

उनको यस खालको धारणाले मसँग यिनको सामीप्यता टुटेन। माक्र्सलाई जीवनका अविस्मरणीय गुरुका रूपमा स्वीकार्न पाउँदा गौरव महसुस गर्ने प्रधानले ठगी र बेइमानी गर्न जानेका राजनीतिज्ञहरूले देशलाई उँभो लगाउँदैनन्, देशलाई अधोगतिमा मात्र पुर्याउने कार्य गर्दछन्, आज देशको जुन हालत छ यस्तै खालका खराब मनोवृत्तिले डोर्याएर भएको हो भन्ने गर्छन्।

विचारमा सत्दृष्टि, भावनामा हितदृष्टि, व्यवहारमा समदृष्टि बोकेर जीवनपथ चलाउन जानेका यिनले आफ्नै पिताको नाममा जनमतसँग मिलेर सम्मान गर्न मन फुकाइदिएका छन्। सम्भावनाका मनहरू मेरा मुक्तक कृतिलाई प्रकाशन गर्न सहयोग गरिदिएर मेरो कवि भावनालाई थमथम्याइदिएका छन्। जनमतको सहयात्रामा जनमत–सहयात्री सम्मानमा राजभाइ थप्न दिई सहयोग गरेका छन्। आफ्नै पिताको सम्झनामा जनमत–जनक सेवा सम्मानमा साथ दिएका छन्। धेरै छन् यिनका गुणहरू।

अर्काका गुणहरूलाई तारिफ गरिदिने यिनका राम्रो पक्ष चर्चा गर्न लायकका छन्। मेरा साहित्यिक कार्यहरूमा यिनी प्रफुल्लित छन् र उनी आफूले गर्न र लेख्न नसके तापनि आफैंले लेखेजस्तो र गरेजस्तो भान हुन्छ भनी मेरो यात्रामा बल र प्रेरणा थपिदिने गर्छन्। सानै छँदादेखि नै केही न केही लेखिरहने म। उनी मेरा पाठक। लेख्नु मेरो कर्तव्य हो भन्दै केही न केही प्रकाशन गर्ने मेरो रुचिलाई शुरूदेखि साथ दिँदै आएका मेरा मित्रले अद्यावधि पनि मलाई साथ दिइरहेका छन्। त्यसैले भन्नुपर्छ– मेरा जीवन्त साथी हुन् राजभाइ प्रधान। केही न केही समाजका लागि दिइरहनुपर्छ भन्ने भावना र चेतनाका धनी व्यक्ति। प्रधानले आफ्नो जीवनप्रतिको दृष्टिमा यसरी धारणा राख्न मन पराउँछन्– ‘जीवन केही गर्न हो।

जति धेरैको लागि गर्न सकिन्छ त्यति नै धेरैका लागि जीवन भइदिन्छ। महत्वपूर्ण जीवन बनाउने कार्यमा लाग्नु मान्छेको कर्म बनाउनुपर्छ भन्ने मेरो दृष्टि छ।’ छोराछोरीहरू सबैजसो आ–आफ्नो कर्तव्यपथमा लागिसकेकोमा गौरव महसुस गर्दै अब आफूले समाज र देशका लागि केही गर्नु छ भन्छन्। दुःख पाएका, शिक्षालय पनि नभएको ठाउँमा विद्यालयजस्तो खोलेर सेवा गर्ने भावना साँचेर बाँचेका प्रधान यस्तै खालका अन्य कार्यहरूमा पनि सेवा पुर्याउने दृष्टि फुकाउने गर्छन्।

‘अहिलेसम्म केही रोगले आक्रमण गरेको छैन। ७३ वर्ष लागिसकेको छु। परिश्रम गर्न डराउँदिन, परिश्रम गर्न मन पर्छ। सुबिस्ता र सुविधा पाएपछि मान्छेहरू बिग्रन्छन्। म सुबिस्ता र सुविधालाई पनि परिश्रममा ढाल्न रुचाउँछु।’ यस्तै खालका जीवन–धारणा बाकेर बाँचेका मित्र राजभाइ प्रधानले साहित्यलाई जीवनमुखी बनाउनुपर्ने, साहित्यको मर्म मान्छेकै लागि सिर्जना हुनुपर्ने, देश, समाज र जनताका लागि हित नगर्ने साहित्यको भविष्य नहुने सटिक प्रश्न अगाडि सार्ने गर्छन्।

केही गर्नु हो जीवन। आफ्नो लागिमात्र गर्नेहरू आफ्नै लागि बाँच्छन्। परिवारमात्र सोच्नेहरूले परिवार नै सर्वोपरि ठान्छन्। समाज र देशकै लागि केही गर्नेहरू समाज र देशकै भएर जीवन्त रहन्छन्। जति आफूमा स्वार्थ साँचेर बाँच्न रुचाउँछन् उनीहरू इतिहासको कालखण्डमा स्वार्थी भएर नै जान्छन्। मान्छेको जीवन बनाउन समाजका लागि केही न केही अवश्य गर्नुपर्छ। केही नगर्नेहरू मान्छेको नाममा मान्छेका नाममा अधोगतिहरू मात्र हुन्।

यस्तै सुन्दर भावनाहरू साँचेर समाजलाई बलियो बनाउन केही न केही गरिरहेका राजभाइको यात्रामा दिव्यलक्ष्मी भाउजूको स्वास्थ्यमा क्यान्सर रोगले आक्रमण गरेपछि पनि यिनले अमेरिकासम्म लगेर औषधोपचार गराए। पैसाको पर्वाह नगरी जीवन संगिनीको स्वास्थ्यलाभका लागि अथक प्रयत्न गरे।

रोग निको भएको सूचना प्राप्त गरी नेपाल फर्किए। तर पछि अर्कै ठाउँमा क्यान्सर भएको प्रमाणित भएपछि पनि यिनी हारेनन्, निरन्तर स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारमा जुटिरहे। अन्तिम क्षणमा केही नलागेर मिति २०७४ पुस ८ गते उनकी जीवनसंगिनीको देहावसान भयो।

यात्रामा मन दुखाउनुहुँदैन। राजभाइ प्रधानलाई म यात्रामा रमाइरहेको हेर्न चाहन्छु। जीवनमा धेरै खालका समस्या मात्र भोगेनन् यिनले, जीवनसाथीले छोडेर गइन्। तर पनि यिनले आफूलाई हार्न दिएनन्। समाजका लागि केही गरिरहने प्रण बोकेर जनमत वाङ्मय पुस्तकालयको भवन निर्माण गरिदिने बाचासहित बनेपामा समाजसेवामा डट्न आइपुगे। अहिले पनि कुरीतिहरू छन्, राँको त बालिदिनुपर्छ। अहिले पनि ज्ञानका भोकाहरू छन् पुस्तकालय, वाचनालयका ढोकाहरू खोलिदिनुपर्छ। अहिले पनि सुतिरहेकाहरू छन्, विगुल फुकेर उठाइदिनुपर्छ।

मित्र प्रधानले सोचेझैँ अहिले पनि सर्वसाधारण दीन–दुःखीहरू शिक्षाबाट वञ्चित छन्, उनीहरूका लागि विद्यालय–महाविद्यालय खोलेर सहयोग गरिदिनुपर्छ। अहिले पनि कुप्रथा, कुविचारहरू छन्, तिनीहरूलाई निमिट्यान्न पार्न प्रगतिशील दृष्टिका विम्बहरू प्रकाशझैँ बस्ती–बस्तीमा फिँजाइदिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्