पतञ्जलि–४ प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला



आयुर्वेद विद्याको आवश्यकता

हिमवत् देश आर्यावत्र्तका गिरि–उपगिरिमा बस्ने जनसमुदायले नयाँ–नयाँ रूपमा उत्पन्न भइरहने रोगहरूबाट आफ्नो बचाउ गर्न अरण्य निवासी ऋषिमुनिहरूलाई गुहारे। तिनका गुनासा सुनेका ती ऋषिमुनिहरूले उनलाई निकट भविष्यमै यसको केही उपाय गर्ने आश्वासन दिएर तिनीहरूलाई बिदा गरे।

ती लोकोपकारी ऋषि–महर्षिहरू भने ती दुःखी मानवका दुखेसा सुनाउन र त्यसको कुनै समाधान निकाल्न महर्षि अत्रिको आश्रम हिमालयतर्फ गए। आफ्ना पिता ब्रह्मासँग ब्रह्मसंहिता नामक चिकित्साशास्त्रको अध्ययन गरेका महर्षि अत्रिबाट नै यसको समाधान हुन्छ भन्ने कुरामा तिनीहरू विश्वस्त थिए।

तपोभूभि हिमालयको पाखामा अवस्थित खेचरपर्वत अर्थात् खप्तडमा महर्षि अत्रिको गुफा थियो। मानव मात्रलाई रोगव्याधिबाट मुक्ति दिलाउने उपायबारे छलफल गर्न खेचरपर्वत खप्तड शिखरको विशाल पाटनमा ऋषिहरूको जमात आएको देखेपछि महर्षि अत्रि गुफाबाट बाहिर आए। त्यहाँ जम्मा भएकाहरूमा अगस्त्य अङ्गिरा, अभिजित्, असित, आश्वरथ्य, आश्वलायन, कपिञ्जल, कश्यप, कुशिक, कौण्डिन्य, गाग्र्य, गालव, गौतम, च्यवन, जैमिनि, धौम्य नारद, भृगु, भार्गव, पुलस्त्य, बादरायण, मरीचि, मैत्रेय, वशिष्ठ, विश्वामित्र, शौनक, साङ्कृत्यायन, सांख्य आदि ऋषि–महर्षिहरू थिए। हिमवत् देशमा भएको त्यस भेलामा सबै ऋषिमुनिहरूले आफ्ना दुवै हात जोड्दै अत्रिलाई भने– ‘महर्षे ? धर्म, अर्थ, काम, मोक्ष यी चारै पुरुषार्थको उत्तम साधन आरोग्य नै हो। रोगले मनुष्यको आरोग्यलाई मात्र होइन, कल्याण र जीवनको समेत हरण गर्दछ। अहिले जनजीवन दिनहुँ उत्पन्न हुने नयाँ–नयाँ रोगबाट उत्पीडित छ। यसको समाधान गर्ने उपाय के होला ? आज हामी यहाँ जम्मा हुनुको उद्देश्य यही हो। के गर्दा यस समस्याको समाधान हुन्छ ? तपाईं नै आज्ञा होस्।’

सबैको अनुरोध सुने पछि महर्षि अत्रिले ध्यानस्थ भएर दिव्यदृष्टिले यसको समाधानबारे विचार गरे। एकछिन्पछि ध्यानबाट जाग्दै उनले भने– ‘अहिले आयुर्विज्ञानको नयाँ प्रविधिका जानकार स्वर्गमा देवराज इन्द्र छन्। तिनले आफ्ना लोकका जनतालाई आयुर्वेद चिकित्सा पद्धतिद्वारा निरोग गराएका छन्। यो विद्या पहिले ब्रह्माले दक्षप्रजापतिलाई सिकाएका थिए।

दक्षप्रजापतिले अश्विनीकुमारलाई र अश्विनीकुमारले पनि इन्द्रलाई सिकाएका हुन्। अहिले अश्विनीकुमारहरू पनि स्वर्गमा देवताका चिकित्सक भएर कार्य गरिरहेका छन्। अब हामीले तिनै इन्द्रका सामु गएर उनलाई अनुरोध गरी उनीबाटै आयुर्वेद विद्या प्राप्त गरेर त्यसलाई मनुष्यलोकमा ल्याउनुपर्दछ अनि त्यसको प्रचारप्रसारद्वारा लोकको कल्याण गर्नुपर्दछ।’

त्यहाँ बसेका सबलैै यसै कुराको अनुमोदन गरे। ऋषिहरूलाई आयुर्वेद सिक्न इन्द्रलोक पठाउने प्रस्ताव त्यस सभाले सर्वसम्मतिबाट पारित गर्यो।
क्रमशः

प्रतिक्रिया दिनुहोस्