‘विगतमा सोचे जस्तो काम गर्न सकिन’



विकासमान श्रेष्ठ
वडाध्यक्ष, ललितपुर महानगरपालिका–५

ललितपुरको मुख्य व्यापारिक केन्द्रको पहिचान बनेको लगनखेल र आसपासका क्षेत्रलाई ललितपुर महानगर–५ले समेट्छ । बढ्दो जनघनत्व, सवारी चाप र चोक–चोकमा थुप्रिने फोहोरमैला सो वडाको पहिचान झैं बनेको छ ।

अल्पकालिन र दीर्घकालिन योजना सहित यस्ता समस्या सम्बोधन गर्ने पहल भइरहेको वडाध्यक्ष विकासमान श्रेष्ठ बताउँछन् । विगत ३८ वर्षदेखि सामाजिक गतिविधीमा क्रियाशिल श्रेष्ठसँग नेपाल समाचारपत्रले गरेको कुराकानी ।

तपाईले वडाको जिम्मेवारी सम्हालेको डेढ वर्षको अवधिमा के–के काम भए ?
वडाका सार्वजनिकस्थल र अतिक्रमण भएका जग्गा पहिचान गरी व्यवस्थित गर्ने काम भएको छ । लगनखेलको ऐतिहासिक न्हुँ पोखरी र कुमारीपाटीको अर्को ऐतिहासिक पोखरीलाई व्यवस्थित गर्न थालिएको छ । यी पोखरीको ऐतिहासिक पक्ष झल्काउने गरी योजना बनाइरहेका छौ ।

न्हुँ पोखरीलाई व्यवस्थित गर्न गुरुयोजना बनाउन शुरु भएको छ, यसको लागि ५० लाख रुपियाँ विनियोजन भइसकेको छ । वडाका धेरै सडकलाई व्यस्थित गर्ने, कालोपत्र गर्ने, ढल निकास बनाउने यही अवधिमा भएको छ । वडाका वृद्ध–बृद्धालाई नजिकैका तीर्थस्थलको भ्रमण गराउने, महिला र बालबालिका लक्षित विविध कार्यक्रम भइरहेका छन् । महिलाहिंसा विरुद्धको सचेतना कार्यक्रम टोल बस्तीमा भइरहेको छ ।

तपाईले सार्वजनिकस्थल अतिक्रमण रोक्ने पहल भइरहेको बताउँदै गर्दा तपाईको वडासँगैको ऐतिहासिक सप्तपाताल पोखरीको ऐतिहासिक पक्ष मेटिएको छ नि ?
हो, वास्तवमा सप्तपाताल पोखरीको पहिचान मेटिएको छ । यो पोखरी जोगाउन, बचाउन विगतमा नागरिक स्तरमा धेरैपटक आन्दोलन भएको छ । पोखरी नमूना मच्छिन्द्र विद्यालयसँगै जोडिएकाले पूर्वाधार बनाउने क्रममा पटक–पटक विवाद भएको छ । विद्यालयको शैक्षिक वातावरण पनि नखस्किने, पोखरीको क्षेत्रपनि नमिचिने गरी संरचना बनाउनुपर्छ ।

सो पोखरी विगतमा ५ वडा भित्रै थियो, अहिले १५ वडामा समेटिएको छ तर अन्तरवडा समन्वय गरेर पोखरीको ऐतिहासिक पक्षलाई पुनजिवन दिने पक्षमा छौ ।

वडाको मुख्य परिचय झल्किने लगनखेल चोकमा सँधै फोहोर थुप्रिनुपर्ने कारण चाहिँ के हो ?
वास्तवमा नगरको फोहोर मैला व्यवस्थापन कार्य निकै जटिल बनिरहेको छ । नगरको मुख्य चोक बजार बनेको लगनखेलबाट निस्कने फोहोर धेरै नै छ । खासगरी लगनखेल–मंगलबजार खण्डका फुटपाथ पसलका कारण पनि प्लास्टिक सहितको फोहोर निकै बढ्ने गरेको छ ।

फुटपाथ पसलकै कारण लगनखेल–मंगलबजारबाट दैनिक ३÷४ ट्रक फोहोर निस्किन्छ । फोहोर जे जसरी निस्किए, बढेपनि वडाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । लगनखेल चोक र अन्य चोकमा थुप्रिने फोहोर मुख्यतया नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटका कारणले हुने गरेको छ ।

सिससोडमा एक दिन मात्रै फोहोर लैजान रोकियो भने ललितपुर सहित धेरै ठाउँमा ३÷४ दिनसम्म फोहोर उठाउन समस्या हुन्छ । नगरको फोहोर नगरमै व्यवस्थापन गर्न सकिन्छ भनेर विभिन्न उपाय खोजिरहेका छौ । फोहोर व्यवस्थापन वडा र नगरपालिकाको पहलले मात्रै संभव नहुने भएकाले नीजि क्षेत्रसँगको सहकार्य पनि अघि बढिरहेको छ ।

मुख्य सडक र चोकमा दोहोरिरहने ट्राफिक समस्या समाधानका लागि के गर्दै हुनुहुन्छ ?
लगनखेल र आसपासका मुख्य सडक फराकिलो भएपनि ट्राफिक समस्या समाधान हुन सकेको छैन । सवारी पार्किङका लागि सडक फराकिलो बनाइएको हो कि झैं लाग्छ, सडकमै जथाभावी सवारी पार्किङ गर्दा सवारी व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी पार्किङ निःशुल्क भएर पनि अस्तव्यस्त पार्किङ भएको हो भन्ने हामीले अनुभव गरेका छौ ।

सवारी व्यवस्थापन गर्नेबारेमा पटक–पटक ललितपुर ट्राफिक प्रमुखसँग पनि छलफल गरेका छौ, संभवत अब दशैं तिहारपछि जथाभावी सवारी पार्किङ गर्न दिइने छैन । संकेत चिन्ह्रको व्यवस्था गरी तोकिएको स्थानमा मात्रै सवारी रोक्न, पार्क गर्न दिइने छ । लगनखेल आसपासमा सवारी पार्किङका लागि अन्य विकल्प नभएर पनि समस्या बढेको छ । यो समस्या वडाको मात्रै होइन सिंगो महानगरको समस्या हो, महानगरले यसको विकल्प खोजिरहेको छ ।

लगनखेल बसपार्क पनि त्यति व्यवस्थित देखिदैन नि ?
ललितपुरका धेरै ठाउँ सहित काठमाडौं र भक्तपुर आउने–जाने सवारी यहीबाट छुट्ने भएकाले बसपार्कमा सवारीको चाप निकै बढेको छ । बसपार्कलाई व्यस्थित गर्नैपर्छ, बसपार्क होइन, बसस्टप बनाइयो भने सवारी व्यवस्थापन केही हदसम्म सहज हुन्छ । घन्टौसम्म सवारी रोक्ने, ओहोर–दोहोर गरिरहने सवारी पनि त्यही भित्रिँदा समस्या बढेको छ ।

यो बसपार्क ललितपुर महानगरका विभिन्न ५ वडाले छोएकाले धेरै वडाको सेन्टर पोइन्ट पनि हो । ललितपुरको ५, ६, १२, १५ र १९ वडासँग बसपार्क जोडिएको छ । बसपार्कलाई व्यवस्थित गर्न अन्तरवडा समन्वय जरुरी हुन्छ, यसबारेमा पनि हामीले छलफल गरिरहेका छौ ।

तपाईकै वडाको ठूलो क्षेत्र सेनाको राजदल गणले पनि ओगटेको छ । सेनासँग वडाको सम्बन्ध कस्तो छ ?
हामीले आग्रहमा गण सँधै सकारात्मक रहेको छ, वडाका हरेक सामाजिक गतिविधीमा सेनाको सहयोग र सहभागिता रहने गरेको छ । सामाजिक गतिविधी र अन्य कार्यक्रममा गरिने निमन्त्रणा र आग्रहमा गणले सँधै सकारात्मक सहयोग पु¥याउँदै आएको छ ।

अबको एक वर्षमा तपाईको क्षेत्रमा के कस्तो परिवर्तन देख्न सकिन्छ ?
डेढ वर्षको अवधिमा धेरै योजना अघि बढाएका छौ, केही पुरा भइसकेका छन्, धेरै हुने क्रममा छन् । स्थानीय तहको ऐन नियमको अभावमा विगतमा मैले सोचे जस्तो काम गर्न पाइन । तर अबको एक वर्षपछि वडाका सबै सडक व्यवस्थित हुनेछन्, धुलो बाटो कतै पनि हुने छैन ।

कालोपत्रे सडक मात्रै हुनेछन् । वडाका चोक, सडक र समग्र वडाका सार्वजनिक स्थलमा सडक र सार्वजनिक बत्तिको व्यवस्था हुनेछ । सडक र अन्य सार्वजनिक स्थलमा सरसफाईसँगै हरियाली प्रवद्र्धनका कार्यक्रम अघि बढ्ने छन् । वडाभित्रका पोखरीले नयाँ जिवन पाउनेछन्, अतिक्रमित जग्गा व्यवस्थित हुनेछन् । वडावासीको गुनासो समयमा सम्बोधन गर्न तत्पर रहने छु ।

प्रतिक्रिया दिनुहोस्