दशैँको मुखमा कर्मचारीले तलब पाएनन्



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका सरकारी कार्यालयका कर्मचारीले ३ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दशैं आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाउदा समस्या भएको छ ।

प्रदेश मातहत आएका कार्यालयहरु तलब पाउन नसकेको कर्मचारीहरुले बताएका छन् । गएको साउनदेखि अहिले सम्म तलब नपाएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । साविकको जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले तलब पाउन सकेको छैनन् उनले भने“ तलबकै बिषयमा बुझ्न आफू धनगढी पुगेको र अहिले तलब निकासा हुने छाँटकाँट छैन् ।

दशैंको मुखमा तलब नपाउने चिन्तामा रहेका कृषि ज्ञान केन्द्र बैतडीका जेटीए महेश अवस्थीले बताए । यस्तै प्रदेश सरकार मातहत स्थापना भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुले पनि गएको साउनदेखि तलब नपाएको सो कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले बताए ।

डिभिजन वन कार्यालयका कर्मचारीहरुले पनि साउनदेखि तलब नपाएको डिभिजन वन अधिकृत प्रभात सापकोटाको भनाई रहेको छ । चाडपर्वको समय नजिक आएपनि तलब पाउने छाँटकाँट नदेखिएपछि कर्मचारीहरु चिन्तित बनेका छन् । यस्तै बृहत्तर जलधार केन्द्र महाकालीका कर्मचारीहरुले पनि तलब नपाएको साविकको भु संरक्षण कार्यालय तत्कालिक प्रमुख अष्टभुजानन्द उपाध्यायले जानकारी दिए।

प्रदेश सरकार रहेका कार्यालयहरुको तलब नपाउँदा नेपालीहरुको मुख्य चाड दशैतिहार नै खल्लो हुने भन्ने चिन्तामा कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्