१६ बर्षपछि धोवी खोला करिडोर निर्माणले तीब्रता



सुरेश तामाङ, काठमाडौं ।
काठमाडौंका मुख्य सडकमा देखिएको सवारी चापलाई कम गर्ने उद्देश्यले परिकल्पना गरिएको विभिन्न कोरिडोरहरुमध्ये धोविखोला कोरिडोर निर्माणले गति लिएको छ । १६ बर्ष अघि उपत्यकाभित्रको ट्राफिक जाम घटाउने र शहरी सौन्र्दय कायम राख्ने उदेश्यको साथ निर्माण थालिएको करिडोले तीब्रता लिएको छ । सडक निर्माणसँग यातायात सञ्चालनमा सहजता ल्याएको छ ।

यो कोरिडोर निर्माण पछि खोलाको अतिक्रमणमा रोकथाम तथा नियन्त्रण, खोलाको प्रदुषित वातावरणमा सुधार गरी सहरी सौन्दर्यतामा बृद्धि गर्ने उद्देश्य राखेको छ । त्यस्तै उपत्यकाको मध्य शहरी भागको उत्तर दक्षिण लिंक रोडको रुपमा विकास गर्दै सवारी चापलाई व्यवस्थापन गर्ने योजना यो करिडोरको छ ।

तर निर्माणको काम थालेको १६ वर्ष वितिसक्दा समेत धोविखोला करिडोरको काममा सन्तोषजनक देखिदैन । करिडोरमा सहज तरिकाले सवारी गुडाउन सकेको छैन । आयोजनाको सबै जसो काम धिमा गतिमा अघि बढी रहेको छ ।

यस्तो अबस्था काठमाडौं बासीले दैनन्दिन सास्ती खेप्दै आईरहेका छन्, बर्षौदेखि । यो कति सम्म लम्बिने हो न कसैलाई थाहा नै छ नत सम्बन्धित निकायले चित्त बुज्दो जवाफ दिन नै सक्छ ।

समय मै बजेटको अभाव, स्थानीयको अबरोध, अन्तर निकायबीच समन्वयको अभाव, मुआब्जामा समस्या, सुकुम्बासी वस्ती समस्या लगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाई भएको धोबिखोला कोरिडोर सुधार आयोजनाका प्रमुख दिपक श्रेष्ठले बताउनुभयो ।

विसं. २०५९ देखि नै धोबिखोलाको निर्माण कार्य थालिएको थियो । तर बल्ल आर्थिक वर्ष २०६७÷०६८ देखी मात्रै निर्माणको कामले केही गति लिन थाल्यो । काम उही कछुवा कै गतिमा हिँडिरह्यो ।

हालसम्म यस आयोजनाले ३५ करोड निकासी गरेर २० करोड खर्च गरिसकेको यस आयोजनाले दिएको जानकारी अनुसार हालसम्म समग्र आयोजनाकै कामको प्रगति ४५ प्रतिशत सकेको छ ।

कपनको राम मन्दिर, भंगालपुल, चावहिलको बैजनि पुलहुँदै बागमती दोभान (खैरोपुल)सम्म तीन चरणमा धोविखोलाको दुबै किनार गरी जम्मा २४ किमि सडकको ट्र्याक खोल्ने, कालोपत्रे गर्ने, ढल बिछ्याउने, फुटपाथ बनाउने काम भैरहेको धोबिखोला कोरिडोर सुधार आयोजनाले गरिरहेको छ ।

आयोजनाका वरिष्ठ ईन्जिनियर सज्जन सिल्वलले २ वर्षभित्र धोविखोलाको बाग्मती दोभानदेखि कपन राम मन्दिरसम्मको सबै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको बताउनुभयो ।

हालसम्म धोविखोला कोरिडोर सुधार आयोजनाले बाग्मती दोभानको खैरो पुलदेखि चावाहिलको बैजनी पुलसम्म पूर्वपट्टिको भाग साँढे ५ किलोमिटर कालोपत्रे सम्पन्न गरिसकेको छ ।

यस सडकमा सवारी साधन गुड्न थालिसकेको छ भने पश्चिमपट्टि भने यस्तो अबस्था छैन । अझैसम्म पनि पश्चिमपट्टिको भागमा सवारी गुड्न सकेको छैन ।

पश्चिमपट्टि अझै कालोपत्रे गर्न बाँकी रहेको छ । पश्चिमपट्टिको किनारामा छिटपुट रुपमा कालोपत्रे गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । कार्तिकसम्म पश्चिमपट्टिको काम पनि सम्पन्न गर्ने आयोजनाको योजना छ ।
चावहिलको बैजनीपुलदेखि राम मन्दिरसम्मको ट्रयाक खोल्ने, रिभर ट्रेनिङको काम ८० प्रतिशत सम्पन्न गरेको आयोजनाको दाबी छ । यसको भाग ६ दशमलब ७ किमि रहेको छ ।

आयोजनाले चालु आबभित्र निलोपुलसम्मको धोविखोला नदी किनार दायाबायाको सडक कालो पत्रे गर्ने लक्ष्य राखेको छ । तर सोचेअनुसार भने अझै पनि काम हुन सकेको छैन । जसका कारण समयमै काम सम्पन्न हुनेमा आशंका छ ।


नदी किनारमा ढल बिछ्याउने काम बाग्मती सभ्यता एकिकृत विकास समितिले गर्दछ । समितिले हालसम्म कपन भंगालसम्मको नदी किनारसम्म ढल राख्न ठेक्का पट्टाको काम सम्पन्न गरेर निर्माण कम्पनी मैदानमा उतारेपनि अझै काम हुन सकेको छैन । समितिले चावहिल बैजनी पुलदेखि ५ सय मिटर माथिसम्म मात्रै ढल बिछ्याएको छ । समितिले चाँडै काम थाल्ने बताएपनि अझैसम्म पनि काम थालेको छैन ।

‘समितिले ढलको पाईप राख्ने काम ढिलाई गरेकोले हाम्रो काममा पनि ढिलाई भएको हो,’ आयोजनाका वरिष्ठ इन्जिनियर सिल्वलले भन्नुभयो– ‘हामीले निलोपुलसम्म कालोपत्रे गर्ने ठेक्का लगाईसकेको छ । समितिले बैजनी पुलदेखि ५ सय मिटर परसम्म मात्रै ढलको पाईप राखेको छ ।’
उपत्यका भित्र टिप्परलाई गरिएको रोकले गर्दा कच्चा पदार्थको अभावलाई आयोजना र समितिले मुख्य कारण बनाउँदै आएको छ । साना सवारीमा कच्चा पदार्थ ढुवानी सम्भब नरहेकोले टिप्परको विकल्प अन्य सवारी नभएकोले काममा ढिलाई भईरहेको आयोजनाले जनाएको छ ।

आयोजनाले पहिलो चरण अन्तर्गत बाग्मतीको खैरोपुलदेखि चावहिलको बैजनी पुलसम्म साँढे ५ किमि दायाबाया गरी ११ किमि सडकको भाग रहेको छ।

यस्तै दोस्रो चरणमा चावहिलको बैजनी पुलदेखि कपन भंगालपुलसम्म ४÷४ किमि दायाबाया गरी जम्मा ८ किमि सडक कालोपत्रे गर्नेछ । भने तेस्रो चरणमा कपनको भंगालपुदेखि राम मन्दिरसम्म २ दशमलब ७ किमि सडक विस्तार गर्ने लक्ष्य राखेको छ । आयोजनाले दुबै तर्फ ९÷९ मिटरको सडक बनिरहेको छ भने खोलाको चौडाई भने १० देखि १६ मिटरसम्म रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्