नेकपा रुकुमले स्थानीय तहमा एकता गर्न कार्यदल बनायो



धनवीर दाहाल, रुकुम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले स्थानीय तहमा पार्टी एकता गर्नका लागी कार्यदल निर्माण गरेको छ । सकेसम्म दशैं अघि नै स्थानीय तहका वडा देखी गाँउ तथा नगरपालिकाको एकिकरण प्रक्रियालाई टुंगोमा पुर्याउनका लागी कार्यदल गठन गरिएको नेकपाले जनाएको छ ।

पार्टी केन्द्रीय सदस्य राजकुमार शर्मा संयोजक रहेको ७ सदस्यीय कार्यदलमा केन्द्रीय सदस्य शेरबहादुर के.सी, बसन्त शर्मा, ठगेन्द्रप्रकाश पुरी, गोपाल शर्मा, बिमलकुमार पुन र महेन्द्र के.सी रहेका छन् ।

आइतबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा पार्टी कार्यकर्ता प्रशिक्षण तथा भेलाको आयोजना गरी सो जानकारी गराइएको हो । पार्टी स्थायी समिती सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले कार्यकतालाई जनताको माझमा गएर पार्टीका निति र सिद्धान्तबारे प्रष्ट पार्न निर्देशन दिनुभएको छ । यसै गरी नेकपाको जिल्ला पार्टी एकिकरण पनि छिटै हुने कर्णाली प्रदेश इन्चार्ज शर्माले जानकारी दिनुभयो । जिल्लामा सबै टुंगो लागीसकेको र केन्द्रबाट सर्कुलर आउन बित्तिकै जिल्ला पार्टी एकता घोषणा हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जनताको भावना अनुसार काम गर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । रुकुम पश्चिममा रहेका ६ स्थानीय तहका जनप्रतिनिधि सहित भएको अगुवा कार्यकर्ता भेलामा सबै स्थानीय तहले आ आफ्नो कामको रिपोरटिंग गरेका थिए । यसै पालिका स्तरबाट पार्टीका सदस्यहरुले स्थानीय सरकारले गरेका कामबारे रिपोरटिंग गरेका थिए ।

मुसिकोट नगरपालिकाबाट देवीलाल गौतम र माधव गौतम, चौरजहारी नगरपालिकाबाट कर्णबहादुर पुन र कल्याणी खड्का, आठबिसकोट नगरपालिकाबाट गोर्खबहादुर के.सी र बिरबहादुर शाही, बाँफिकोट गाँउपालिकाबाट नरबहादुर के.सी र बिद्यापति रिजाल, सानीभेरी गाँउपालिकाबाट बिर्खबहादुर बिष्ट र लोकबहादुर खड्का तथा त्रिबेणी गाँउपालिकाबाट गणेश के.सी र गणेश खड्काले रिपोरटिंग गर्नुभएको थियो ।

पार्टी प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर के.सी, राजकुमार शर्मा, बसन्त शर्मा, राष्ट्रिय सभा सांसद ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी, प्रदेश सभा सांसद गोपाल शर्मा र रातो कामीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्