नदी कटानले अबरुद्ध सडक सुचारु



नेपाल समाचारपत्र, पर्वत ।
कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी(बगरफाँट(बाँसखर्क सडक सञ्चालन भएको छ ।

गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शनिबारदेखि खुलेको हो ।

उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी(बगरफाँट(बाँसखर्क सडक अस्थायी रुपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।जलजला गाउँपालिकाको नदीले कटान गरेको सडक मर्मत गरेर अस्थायी रुपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय जलजला वडा नं ३ का वडाध्यक्ष रवि भण्डारीले जानकारी दिए । वारीबेनीदेखि बगरफाँटको बीचमा पर्ने करीब २० मिटर सडक कालीगण्डकीले बगाएको थियो । सडक सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न ढुवानी गर्न सहज भएको छ ।

सडक सञ्चालनमा आएपछि जलजला–१ बाँसखर्क, २ माझफाँट र ३ बगरफाँट तथा वडा नंं ५ लेखफाँटका बासिन्दा चाडबाडको बेलासँगै लाभान्वित बनेका छन्। यो सडक हुँदै बाँसखर्कबाट वार्षिक रु पाँच करोडको सुन्तला निर्यात हुँदै आएको छ । कटानकै कारण नदी किनारमा रहेको बगरफाँट र बारीबेनी बस्ती जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्