टुँडिखेलमा गुन्जियो शम्भुजितको संगीत



संगीतकार शम्भुजित बाँस्कोटा शनिबार राजधानीको टुँडिखेलमा गुन्जिएका छन्। उनी आफँद्वारा संगीतबद्ध गीतहरूको संगीतमार्पmत गुन्जिएका हुन्। शम्भुजित स्वर्णिम संगीत यात्रा–२०१८ नामक कार्यक्रममा बाँस्कोटाद्वारा संगीतबद्ध गीतहरू विभिन्न गायकगायिका प्रत्यक्षरूपमा गाएर सुनाएका थिए। बाँस्कोटा स्वयंले पनि गीत प्रस्तुत गरेर दर्शक लोभ्याएका थिए।

दर्शक भिडका बीच निःशुल्करूपमा आयोजित कार्यक्रममा झन्डै २ दर्जन गायकगायिकाले उनीद्वारा संगीतबद्ध गीत प्रस्तुत गरेका थिए। झमक्क साँझसम्म आयोजित कार्यक्रममा बाँस्कोटाले गायिकाहरूका साथ युगल गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा मखमली स्वरका धनी गायक प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी गायिका स्मिता दाहालसम्मले बाँस्कोटाद्वारा संगीतबद्ध गीतसंगीत प्रस्तुत गरेर दर्शक झुमाएका थिए।

देशमा शान्तिको कामना गर्दै कलाकारले परेवा उडाएर आरम्भ गरिएको कार्यक्रमको शुरुआत गर्दै गायक प्रेमध्वज प्रधानले ३ गीत गाएर दर्शकलाई मोहित तुल्याए। उनले दशकअघि रेकर्ड गरिएको नर्तकी बनी अभिनय ग¥यौ, तिम्रो घुम्टो र देउरालीमा माया गाएर दर्शकलाई मोहित तुल्याएका थिए। अर्का गायक आनन्द कार्की र गायिका निशा देशारले जनम जनम जिउँलासँगै बोलको फिल्मी गीत गाएर दर्शक लोभ्याए भने निशासँगै उमेश पाण्डेले अल्लारे फिल्मको सुपरहिट गीत रातो टीका निधारमा टलक्क टल्कियो गाएर दर्शक नचाए।

गायक यम बरालले अल्लारेकै अब चोटहरूले पिरोल्दैन मलाई गाएर दर्शकलाई भावुक बनाए भने राष्ट्रिय सभाकी सांसद गायिका कोमल ओलीले बाँस्कोटासँग बाँझो खेतमा छड्के सलाम छ गाएर दर्शक उचालिन्। त्यस्तै सदाबहार गीत यस्तै रहेछ यहाँको चलन गाएर दर्शकलाई भावुक बनाएकी गायिका देविका वन्दनाले भरे आउँछु सपनीमाजस्ता फिल्मी गीत गाएर रोमाञ्चित पनि बनाइन्। कार्यक्रममा यस्तै रहेछ यहाँको चलन गायक अमर तण्डुकारले धेरै दिन भो तिम्रो झझल्को, विश्व नेपालीले के भुल गरेँ मैले, यो साइनो मायाका, बानिका प्रधानले मेरा आशक्तिका, सुरेश लामाले एकै नजरमा माया बस्यो है, जब जब म एक्लो हुन्छु, मनोजराजले यो माया के हो आगो हो कि पानी, सपना हो यो मेरो भनेजस्ता गीत गाएर कार्यक्रममा रौनकता थपे।

सञ्जय तुम्रुकले म त अब रिसाउँछु बोल्दै बोल्दिनँ, सुरजकुमार थापाले अब त यो जिन्दगानी, टीका प्रसाईंले चैत मासे खडेरीमा, युवराज चौलागाईंले मन पराउने हजार भेटिन्छन्जस्ता गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे। उता गायक र गीतकारका रूपमा समेत ख्याति कमाएका शम्भुजितले अच्छा लेकिन लन्डनको जाडोले सताउलाजस्ता गीत गाएर दर्शक उफारे। कार्यक्रममा गीतकार उन्नति बोहरा ‘शिला’को गीती पुस्तक फर्की आऊ शान्ति तिमीको प्रेमध्वज प्रधान, शम्भुजित बाँस्कोटा, उन्नति बोहरालगायतले संयुक्तरूपमा सार्वजनिक गरे।

बाँस्कोटाको यही कार्यक्रम आज आइतबार साँझ राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुँदै छ। कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, योगेश वैद्य, दीपक खरेल, राजेशपायल राईका साथमा भारतबाट आएका गायिकाद्वय अनुराध पौडवाल र सञ्जीवानीले पनि आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन्। दुवै कार्यक्रम साधना कला केन्द्रले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्