पुस्तक चर्चा : आभासलाई सतहबाट नियाल्दा



ज्ञानमणि नेपाल कालोटोपी
आभास रामेछापका साहित्यकार विनोदकुमार श्रेष्ठको उपन्यास हो । यो उनको पछिल्लो अर्थात् तेस्रो कृति हो । यस उपन्यासको नामकरण उपन्यासकै पात्रका नामबाट जुराइएको छ । यो प्रेमिल काल्पनिक उपन्यास हो भन्ने आत्मस्वीकृति लेखकले दिएका छन् र पढ्दा पनि सोही अवस्था देखिन्छ । यस उपन्यासले फरक क्षमता भएका व्यक्तिको प्रेम जीवन र त्यसका समस्यालाई अगाडि सारेको छ । उपन्यासले फरक क्षमता भएको नायक र सवलाङ्ग नायिकाबीचको प्रेमलाई नायिकाको अन्यत्र विवाह र सन्तान प्राप्तिपछि पनि इन्टरनेटका माध्यमबाट निरन्तरता दिइएको छ । प्रेमलाई विवाहको घेराबाट बाहिर पु¥याउनु यस उपन्यासको उदेश्य हो ।

यस उपन्यासका भाषामा कतै कवितात्मकता छ । प्रायः वर्णन र विवरणात्मक शैली नै आत्मसात् गरिएको छ । यो उपन्यास आभास र सन्ध्याकै उपन्यास हो । सन्ध्या आफ्नो लोग्नेका आँखा छलेर गम्भीर प्रकृतिको अपाड्गता भएको आभासलाई भेट्न आउने गरेकी छ । उसले नै प्रेमको व्यापकताका पक्षमा वकालत गरेकी छ । यस कृतिभित्रको नायकमा लेखक पनि धेरै मात्रामा अनुवाद भएका छन् । फरक क्षमता भएका व्यक्तिका जीवनका अनुभवलाई हामी लेख्न सक्दैनौँ, उहाँहरूजस्तै लेखकले मात्र लेख्न सक्छन् । लेखक कलिलो उमेरमै ड्राइभर भएर स्ववलम्बनको जीवन बाँच्न थालेका थिए । तर दुर्घटनाले गर्दा अहिले असाध्यै जटिल किसिमको आपड्गता व्यहोरिरहेका छन् ।

हाम्रो समाजले अहिले पनि शारीरिकरुपमा अपांगता भएकालाई हेप्ने गरेको छ । तर उसले बुझेको छैन कि मौका पायो भने अपांगता भएकाले पनि सवलांगको भन्दा राम्रो काम गर्न सक्छ भनेर । त्यो कुरालाई लेखकले पुष्टि गरिदिएका छन् । उनी आफूले भोगका सबै खाले परिस्थितिले आभास जन्मिएको हो ।

एकदिन सबैले मर्नै पर्छ, आर्यघाटको बाटो रोज्नै पर्छ । कसैले पनि म ठूलो र ऊ सानो भन्ने खालको मानसिकता पाल्नुहुँदैन । संसार आफैं विचित्रको छ । यसलाई बुझ्न चाहने र सक्नेहरुका लागि दुःखमा पनि संसार चामत्कारिक छ तर बुझ्न नसक्ने र दुःखमा आत्तिने अनि सुखमा मात्तिनेहरुका लागि संसार बोझिलो पनि छ । यी र यस्तै विषयलाई पात्रका माध्यमबाट प्रस्तुत गर्न खोज्नु आभास उपन्यास र लेखक विनोदकुमार श्रेष्ठको प्रयास हो, जसले सार्थकता पनि पाएको छ । मरेर जाने मान्छेको शरीरलाई सृजनशील काममा लगाउन सके यसले इतिहास बनाउन सक्छ भन्ने प्रेरणा पनि लेखकको छ ।

पुस्तक पढ्दै जाँदा कतै लेखक आफू अपांगता भएकाले हीनताबोध पो भएको हो कि भन्नेपाठकलाई भ्रम पर्न सक्ने अवस्था पनि छ । विषय छनोट ठीक छ तर प्रस्तुतीकरणमा कतै अलमल पो भएका हुन् कि वा अलि यथार्थमा भन्दा कल्पनामा पो हराएका हुन् कि भन्ने पनि भ्रम पाठकलाई पर्न सक्छ । तर थोरै आकारको पुस्तकमा पनि धेरै कुरा अटाएर प्रस्तुत गर्नुलाई लेखकको लेखकीय क्षमता मान्न भने चुक्नुहुँदैन । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यसको मूल्य ३ सय रुपियाँ राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्