यस्तो छ चाडपर्व लक्षित पर्वत प्रहरीको सुरक्षा योजना



नेपाल समाचारपत्र, पर्वत ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्रहरी सुरक्षा बढाउनुका साथै सुरक्षा चेक जाँचलाई पनि तिब्रता पारिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्व सुरक्षायोजना सम्बन्धि पत्रकार अन्तक्रियामा विशेष सुरक्षा कार्ययोजना अन्तर्गत पर्वतमा प्रहरी सक्रियता बढाउँदै गएको जानकारी दिइएको हो । पर्वत प्रहरीले जिल्लाको सिमाका रुपमा रहेको मालढुंगामा पहिलोपटक दैनिक सुरक्षा चेकजाँच पोष्ट खडा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले बताए । ’पर्वतमा विशेष सुरक्षा योजना थालेपछि प्रहरी र नागरिक बीचको सम्बन्धमा सुधार आएको छ’ प्रनाउ तिवारीले भने ‘दशै तिहार नजिकिँदै आएका बेला हामी थप सक्रिय भएर अघि बढ्दै छौँ ।’

डिएसपी तिवारीले चाडपर्वमा भीडभाडको मौका छोपेर उच्छ्रिङ्खल तथा अन्य आपराधिक गतिविधि हुन नदिनका लागि सिविल ड्रेसमा समेत प्रहरी परिचालन गरिने बताए । उनले चाडपर्वको समयमा जनताले सुरक्षा सेवाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पर्वतमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरु बाहेक अन्यत्रपनि ६० भन्दा बढी प्रहरी कर्मचारीहरु सिविल पोशाकमा खटाइने उनले बताए ।

दशैका बेला अष्टमी र नवमीका दिन मेला लाग्ने विशेष धार्मिक स्थलहरुमा सुरक्षाका लागि प्रहरीले योजना बनाइरहेको र जुवातास, जाँडरक्सी तथा सामाजिक विकृति न्यूनिकरणमा नागरिकहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको तिवारीले बताए । भिडभाडमा हुने अस्वाभिक गतिविधि माथि नियमित निगरानी राख्ने र शंका लाग्ने वित्तिकै त्यहाँ तैनाथ प्रहरीलाई खबर गरी हुन सक्ने सम्भावित घटनालाई रोक्ने प्रयासमा प्रहरी लाग्ने उनको भनाई छ ।

पर्वलाई ध्यानमा राखेर विगतभन्दा बढी पैदल, मोटरसाइकल र सिविल प्रहरी गस्ती परिचालन गर्ने योजनामा छौं’ डिएसपी तिवारीले भने ‘दशैं नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाट हुने सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा सर्तकता बढाइएको छ ।’ डिएसपी तिवारीले त्यस्ता सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा व्यवस्था अझै कडा पारिने बताए ।

चाडपर्वको नाममा जुवातास नखेल्न प्रहरीले आग्रह गरेको छ । ‘त्यस्तो भेटिए जो कोहीलाई कारवाही गरिने छ’, प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठले भने । केही दिन अघि पर्वतको कुश्माबजारबाट जुवातास काण्डमा ९ जनाको समुहलाई कार्बाही गरेपछि केही हदसम्म साम्य हुँदै गएको जुवातास न्यूनिकरणमा प्रहरी सक्रियता बढाइरहेको उको भनाई थियो । उच्छि«ङ्खल घटना हुन नदिन ठाउँ– ठाउँमा चेक प्वाइन्ट राख्ने तथा धेरै भीडभाड हुने वित्तीय संस्था, सपिङ सेन्टर र गरगहनाका कारोबार धेरै हुने ठाउँमा प्रहरीको स्क्यानिङ अभियान बढाइएको छ ।

सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्वतमा प्रहरी र प्रशासनबाट चाडपर्र्वलाई सफल बनाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समयमा बर्षायाम सकिएपनि ग्रामीण क्षेत्रमा सवारीहरु सहज रुपमा सञ्चालन हुन नसकेको कुरालाई मध्य नजर गर्दै सडक सञ्चालनमा सरोकारवालासमक्ष तत्काल बसेर आवश्यक छलफल गरेर समाधान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्