मोड्रिचलाई फिफा ‘द बेस्ट’ अवार्ड



लन्डन, (एजेन्सी)
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड रियल मेड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।

योसँगै लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशक लामो फिफा बर्ष खेलाडीको आधिपत्य पनि लुका मोड्रिचले तोडेका छन् । रियल मेड्रिड र क्रोएसियाका खेलाडी मोड्रिचले सोमबार राति लन्डनमा आयोजित फिफा वेस्ट अवार्डमा फिफा बर्ष खेलाडी २०१८ को अवार्ड जितेका हुन् ।


उनले युभेन्ट्स तथा पोर्चुगलका रोनाल्डो र लिभरपुल तथा इजिप्टका मोहमद सलाहलाई पछि पार्दै बर्ष खेलाडी बन्न सफल भएका हुन् । मोड्रीचले गत जुलाइमा सम्पन्न फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पु¥याउँदा कप्तानको भूमिका निभाएका थिए । यस्तै गत सिजन रियल मेड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउने क्रममा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । मोड्रीच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि हुन् ।

उनीसंगै उत्कृष्ट तीनभित्र परेकामध्ये रोनाल्डोले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । रोनाल्डोले विश्वकपमा स्पेनविरुद्ध गोल गर्नुबाहेक खासै स्तरीय छाप बसाउन सकेनन् । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । उनले प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । उनले पनि राष्ट्रिय टोलीलाई विश्वकपसम्म पु¥याए तर विश्वकपमा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् । यसपटक पाँच पटक बर्ष खेलाडी घोषित भएका रोनाल्डो छैटौं पटक उपाधि जित्नबाट चुकेका छन् भने पाँचै पटक बर्ष खेलाडीको अवार्ड जितेका मेसी भने अन्तिम तीनमा पर्न असफल रहे ।

फिफा द बेस्ट अवार्ड अन्तर्गत ब्राजिलियन खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । ब्राजिलियन राष्ट्रिय टोली तथा ओर्लान्डो प्राइडकी खेलाडी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी हुन् । उनले यसक्रममा लियोनबाट खेल्दै आएका अद हेगरबर्ग र जेनिफर मारोज्सालाई पछि पारिन् । मार्टाले महिला कोपा अमेरिका उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । फ्रान्सेली क्लब लियोनका रेनाल्ड पेड्रोसले भने उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जितेका छन् । उनले आफ्नो टोलीलाई घरेलु लिगका साथै च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्