पूर्व उपाध्यक्ष कुँवरको एन्फामाथि प्रहार



फिरोज राजोपाध्याय
अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वमाथि गम्भीर आरोप लागेको छ । यसले फुटबलमा एकपटक फेरि भ्रष्टाचारले जरो गाडेको हो कि भन्ने सन्देह भयो । एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले सोमबार पत्रकार सम्मेलन गरी एन्फाका नयाँ नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन् ।

यो कतिको साँचो अनुसन्धानबाटै थाहा हुनेछ । कुँवरले गम्भीर आरोपको अनुसन्धान गर्न फुटबलको सर्वोच्च निकाय फिफा र एसिया फुटबलको निकाय एएफसीलाई पत्राचार गरिसकेको पनि जानकारी गराए । उनको यो दावी कति साँचो हुनेछ त्यो हेर्न बाँकी नै छ ।

कुँवरले वैसाख २२ गते भएको एन्फाको निर्वाचनमा भाग लिएको थिएन । उनले चुनाव हुने एक दिन अगावै उम्मेद्वारीबाट हटेको घोषणा गरेका थिए । उनले उक्त निर्वाचनलाई विधि र विधान विपरित भएको दावी गर्दै आएका छन् । सो निर्वाचनले कर्मा छिरिङ शेर्पालाई अध्यक्षमा निर्वाचित गराए भने सम्पूर्ण पदमा उनकै प्यानेलले विजय दर्ता गरेको थियो । यो नतिजापछि पूर्व अध्यक्ष गणेश थापाको वर्चश्व एन्फामा समाप्त पनि भयो ।

थापाले समेत निर्वाचन हुन अगाडि हालका निर्वाचित अध्यक्ष शेर्पालाई फुटबलका लागि सहि व्यक्ति नभएको भनेर धारणा राखेका थिए । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा थापाले एन्फामा यसअघि हैकम चलाउँदै आएका थिए । तर शेर्पाको जितसँगै अहिले एन्फामा थापाका मान्छे कोही छैनन् र केही नजिकका व्यक्ति पनि शेर्पाको नेतृत्वमा विलिन भइसकेका छन् ।

अहिले निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व पाएको ५ महिनामा कुँवरले ठोस प्रमाण आफुसँग भएको र यो नेतृत्व भ्रष्टाचारमा लिप्त भएको दावी गरेका छन् ।

उनले ६ बूँदा उठाएका छन् । यी यसप्रकारका रहेका छन्ः

१. निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की दिएको तथा आर्थिक प्रलोभनमा पारेको ।
२. मतदाताहरुलाई प्रत्यक्ष रुपमा पैसा बाढ्ने काम गरेको ।
३. मतदातालाई प्रत्यक्ष प्रभावित गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठूलो धनराशि खर्च गरेको ।
४. साथ साथै मतदातालाई चुनावलगतै युरोप भ्रमण गराएको ।
५. न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने काम गरेको ।
६. निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीहरुलाई सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको ।

माथि उल्लेखित आरोपहरु एन्फा अध्यक्ष शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र नविन पाण्डेलगायत थुप्रै पदाधिकारीहरुमाथि कुँवर लगाएका हुन् । उनले फिफा र एएफसीको कोड अफ इथिक्स विपरित कार्य गरेको पुष्टि हुने हुँदा ती निकायले सबैलाई कारवाही गर्नेमा विश्वास राखेका छन् । एन्फाको स्रोत अनुसार ती सबै आरोप भ्रामक र त्यसमा कुनै पनि सत्यता छैन । एन्फाले कुँवरलाई प्रमाण पेश गर्न पनि आग्रह गरेको छ ।

यति मात्रै होइन कुँवरको आरोप विश्वकप टिकटबारे पनि रहेको छ । जुन जायज माँग पनि रहेको उनको दावी छ । कुँवरका अनुसार विश्वकपबाट आएको टिकट के गरियो भन्ने कुरा कसैलाई अत्तोपत्तो छैन । यस्तै नवीन पाण्डे कुन हैसियतले फिफा कँग्रेसमा सहभागि भए यसको पनि जवाफ कुँवरले मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्