जय भोले फुलपातीमा



राम्रा फिल्म हेर्न चाहने दर्शकका लागि खुशीकै कुरा मान्नुपर्छ, चर्चामा रहेका र प्रतिक्षित मानिएका २ फिल्म छक्का पञ्जा २ र जय भोले एक आपसमा नभिड्ने भएका छन्। प्रतिक्षाको सूचिमा रहेका यी २ फिल्म एक आपसमा जुध्नेबारे भएका प्रचारबाजी र अनुमानलाई तोड्दै छक्का पञ्जा २ घटस्थापनाका दिन रिलिज हुने घोषणा गरिएलगत्तै जय भोले पूmलपातीका दिन असोज ३० गते अल नेपाल रिलिजमा आउने पक्का गरिएको छ।

यसपालिको दशैं जय भोलेसँगै भन्ने नारासहित जय भोले फूलपातीका दिन रिलिज हुने यसका निर्माता निर्देशक अशोक शर्माले जानकारी गराएका छन्। २ फिल्म आपसमा जुध्दा दुबैलाई राम्रो नहुने भएकाले दर्शक चाहनाअनुसार असोज ३० गते जय भोले रिलिज गरिने शर्माले बताए। उनका अनुसार जय भोले दशैंमा रिलिज गर्न काठमाडौं र मोफसलका बहुसंख्यक हलसँग सम्झौता गरिएको छ।

‘मुख्य दशैं फूलपातीबाट सुरु हुने भएकाले दशैंको मनोरञ्जक कोसेलीस्वरूप दर्शकहरूमाझ जय भोले ल्याउन लागेका हौँ’ शर्माले भने– ‘दीपकराज गिरी र मेरो सहमतीमै फूलपातीमा जय भोले एकल रिलिज हुनेछ। त्यसै कारण उहाँहरू एक साताअघि घटस्थापनामै आउनुभएको हो।’

रिलिज ठेटसँगै फिल्मको फस्ट लुक्सका रूपमा ४ पोस्टर पनि सार्वजनिक गरिएको छ। चारै थरी पोस्टरमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ। पोस्टरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, राजाराम पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, अशोक शर्मा, शुरवीर पण्डित, किशोर भण्डारीलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। सामाजिक कथामा आधारित हास्यप्रधान फिल्ममा खगेन्द्र लामिछानेलाई पृथक भूमिकामा उतारिएको निर्देशक शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्