‘महंगो भएपनि नेपालमा सुरुङ मार्ग नै निर्माण गर्नुपर्छ’



सञ्जय श्रेष्ठ
उपमहानिर्देशक, विकास सहायता कार्यान्वयन महाशाखा, सडक विभाग
लामो गृहकार्यपछि राजधानी जोडने प्रमुख नाका नागढुंगामा सुरुङमार्ग निर्माणको काम अगाडि बढेको छ । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । जापान सरकारको आर्थिक सहयोगमा सुरुङमार्गको डिजाइन तयार पारिएको हो । नेपालको भौगोलिका अवस्था अनुसार सुरुङमार्गको महत्व, लगानी र आगामी योजना लगायतको विषयमा केन्द्रीत भएर सडक विभाग वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जय श्रेष्ठसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

सुरुङ मार्ग निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?
ग्लोबल टेण्डर आह्वान गरिसकेको छौ । सरकारले यसै आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फात पनि पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो । एक महिनाभित्र टेन्डर खोल्छौ ।

लागत मुल्य कति लाग्छ ?
जापान सरकारले नेपाल सरकारलाई ०.०१ प्रतिशतको इन्टेष्टमा ६०.६० मिलियन प्रतिशत यन ऋण सहायता प्रदान गरेको हो । नेपाल सरकारले जग्गा अधिग्रहण र स्थायी संरचना बनाउन आफ्नै स्रोतबाट खर्च गर्छ । निर्माण कार्य र सुपरभिजन गर्नको लागि जापान सरकारबाट ऋण सहायताबाट गर्ने हो ।

सुरुङमार्ग निर्माण गर्न कति समय लाग्छ ?
हामीले निर्माण गर्ने सुरुङ २.६८ किलोमिटरको हो । निर्माण कार्य सम्पन्न गर्न ४२ महिना लाग्छ । मुख्य टनेलसँगै अर्को ईमरजेन्सी टनेल पनि बन्छ । यसको साथसाथै सर्भिस ट्रयाक पनि बनाउछौं । यसको अलवा टनेल निर्माण गर्दा पानीको मुहान सुक्न गएको अवस्थामा त्यो क्षेत्रमा पानीको समस्या पर्न जान्छ । त्यसबाट प्रभावित क्षेत्रका बासिन्दालाई पाइपबाट खानेपानी सेवा दिन्छौ । मुख्य सुरुङको चौडाई ११ मिटर हो । तर गाडी सञ्चालन गर्न ९.५ मिटर हो । एउटा गाडी जाने र अर्को गाडी आउने हुन्छ । यदी बीचमा गाडी विग्रिएको अवस्थामा गाडी राख्ने ठाउँ पनि निर्माण गरिएको हुन्छ र तानेर बाहिर निकालिन्छ । टनेलभित्र ओभर टेक गर्न पाइदैन । सिस्टमा चलाउनु पर्छ । सन् २०२२ को सुरुमा सञ्चालन गछौं ।

यो सुरुङमार्ग नेपालमा पहिलो पटक बन्न लागेको हो ?
नेपालको सन्दर्भमा इमान्दारपूर्वक भन्दा पहिलो रोड टनेल भन्दा हुन्छ । धेरै बर्ष अघि त्रिभुवन राजपथको चुरे पहाडमा करिब २ सय ५० मिटरको टनेल बनाइएको थियो । तर त्यसमा आधुनिक प्रविधि प्रयोग गरिएको थिएन । वानवे मात्र हुने अवस्था थियो । पछि चुरे पहाड काटेर सडक निर्माण गरेपछि टनेल सञ्चालनमा छैन् । चुरेपछि पहिलो पटक नागढुंगा नै पहिलो टनेल रोड हो । यो आधुनिक सुविधा सम्पन्न खालको हुन्छ ।

ठूलो लगानीबाट निर्माण हुने सुरुङमार्गबाट के फाइदा हुन्छ ?
–यो टनेल रोड निर्माण गरेपछि हाल नागढुंगाबाट काठमाडौ प्रवेश गर्ने बाटो वीस मिनेट छोटो हुन्छ । ट्राफिक जामको समस्या हटछ । अहिले जामको भयावहक अवस्था हेर्ने हो भने यात्रुहरुले घन्टौ समय जोगाउन सक्छन । यो नाकामा टनेल बनेपछि आगामी दस बर्षको लागि ट्राफिक जाम हुँदैन । सहज रुपमा यात्रुहरुले आवतजावत गर्न पाउने छन् ।

कोटेश्वरमा निर्माण गर्ने भनिएको सुरुङमार्ग निर्माणको काम कहाँ पुग्यो ?
–कोटेश्वरमा बढ्दो ट्राफिक जामलाई घटाउनको तीनकुनेमा रहेको भैरव मन्दिबाट भक्तपुरका मनहरा खोला सुरुङमार्ग निर्माणको काम अगाडि बढाउन पहल भएको छ । तर एरपोर्टले अनुमति नदिएसम्म हामीले सर्भे गर्न सक्दैनौ । अनुमति नपाउदा समस्या परेको छ । सर्भेको काम अगाडि बढाउनको लागि अर्थ मन्त्रालय मार्फत अनुरोध गरेर पठाएका छौं । जापान सरकारलाई सर्भे गरिदिनको लागि अनुरोध गर्ने काम भएको छ । निकट भविष्यमा नै यो कार्य अगाडि बढाउछौ । आवश्यकता पर्दा हामीले प्लेन ल्याड गर्दा पनि अण्डरपासले कुनै असर नपर्ने गरी निर्माण गछौं । त्यति सुरक्षित निर्माण गर्न सक्छौ । कोटेश्वरमा बन्ने अण्डरवास ३० मिटर चौडाइको हुन्छ । कोटेश्वरमा बन्ने अण्डरवासले थपक्रथ, भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने सवारी साधनको व्यवस्थापन सहज हुन्छ ।


सर्भिस ट्रयाक निर्माण गर्ने हो भने अहिलेको ट्राफिक जाम घटाउन सकिन्छ नि होइन ?
–हो, हामीले विकल्पको रुपमा अण्डरपास न बनाउनु पर्छ नै । अहिले तत्कालको लागि समस्या समाधान गर्न सर्भिस ट्रयाक खोल्दा पनि कोटेश्वरको जाम कम गर्न सकिन्छ । दुई÷चार बर्षको लागि समस्या समधान हुन्छ । अण्डरपास बनाउको लागि पनि सर्भिस ट्रयाक चाहिन्छ । एरपोर्ट र सडकलाई कुनै समस्या नपर्ने गरी समन्वय गरेर काम गर्नुपर्छ । टनेल निर्माण गर्नु अघि नै सर्भिस टयाक गर्नुपर्छ । सर्भिस ट्रयाक दुई देखि तीन महिनाको अवधिमा निर्माण गर्न सकिन्छ । नागरिक उडयन प्राधिकरणसँग समन्वय गर्न प्रयास भएको अवस्थामा काम छिटो हुन्छ ।

काठमाडौंमा बढ्दो ट्राफिक व्यवस्थापन गर्न के गर्न सकिन्छ ?
शहरी क्षेत्रको ट्राफिक व्यवस्थापन र बाहिरको फरक हुन्छ । शहरी क्षेत्रभित्र पार्किङको समस्या छ । सडक चौडा गरेर पनि पार्किङ गर्ने प्रचलन छ । व्यवस्थित पार्किङ छैन् । कसरी व्यवस्थापन गर्ने, पूर्वाधार कसरी विकास गर्ने भन्ने स्पष्ट योजना सहित अगाडि बढनु पर्छ । नदी किनारका बाटोलाई तत्काल निर्माण गरेर सञ्चालनमा ल्याउने, वैकल्पिक सडकलाई राम्रोसँग व्यवस्थापन गर्ने, साना गाडीहरु संख्या घटाएर ठूला वसहरुको प्रयोग गर्नुपर्छ ।

बसको लागि पनि छुट्टै लेन बनाउने, त्यहाँ अरु सवारी प्रवेश नै गर्न नदिने नियम लागू गर्नुपर्छ । समयमा नै गन्तव्यमा पुग्ने ग्यारेन्ट गराउन सके, साना गाडी आफै विस्थापित हुन्छन् । यो प्रणालीमा जानु पर्छ । कतिपय ठाउँमा फ्लाई ओभर र अण्डरपास बनाएर जानुपर्छ । अहिले अव्यवस्थित रुपमा रहेको सडक र सवारीलाई व्यवस्थापन गर्न सकेनौ भने सन् २०२५ पछि काठमाडौं उपत्यकामा निकै ठूलो समस्या सृजना हुन्छ । सवारी चढने भन्दा हिडने पहिला गन्तव्यमा पुग्ने अवस्था आउछ ।

भक्तपुर र काभ्रे जिल्लाको सीमाना साँगामा पनि सुरुङ निर्माणको प्रक्रिया कहाँ पुग्यो ?
–अहिले नागढुंगामा सुरुङ मार्ग निर्माण गर्न लागेका छौं । यसको मुख्य उदेश्य भनेको टेक्नोलोजी टा«न्फर गर्ने हो । नागढुंगाको टनेल निर्माणमा नेपालका कन्सलटयान्डलाई डिजाइन र सुपरभिजनमा अनिवार्य रुपमा सहभागी गराइने छ । नेपाली कन्सल्टयान्सीले भविष्यमा यस्ता टनेल निर्माण गर्नुको साथै सुपरभिजन समेत गराउन सक्षम बनाउने हैसियत होस । साथै नेपाली कन्टयाक्टरलाई सहभागी गराउनको लागि अभिप्रेरित गरिरहेका छौं ।

नेपाली ठेकेदार कम्पनीहरुले पनि यसबाट पाठ सिक्दै अनुभव बटुल्दै भविष्यमा अन्य टनेल निर्माण गर्दा सकोस भन्ने हाम्रो प्रमुख विषय हो । हामीले सूर्यविनायक–धुलिखेल सडक खण्डको साँगामा पनि टनेल निर्माण गर्ने भनेका छौं । जापान सरकारलाई प्रस्ताव गरेका छौ । यदी कुनै समस्या आएन भने सन् २०१९ को मार्चभित्र यसको लागि लोन सम्झौता हुनेछ । साँगामा काठमाडौंबाट धुलिखेलतर्फ जादा १.३ किलोमिटर टनेल हुन्छ । धुलिखेलबाट काठमाडौ आउदा १.२३ किलोमिटर हुन्छ । फरक–फरक सुरुङ निर्माण हुन्छ । एक सुरुङबाट जाने अर्कोबाट आउने आउने गरी निमार्ण हुन्छ ।

नेपालको सन्दर्भमा त सुरुङ मार्ग निकै महंगो छ नि, नेपाल सरकारले मात्र निर्माण गर्न सक्छ त ?
–नेपालको भौगोलिक अवस्था अनुसार निर्माण गर्नुपर्ने टनेल नै हो । भुकम्पको समयमा सबै भन्दा सुरक्षित मार्ग नै टनेल हुन्छ । यो टनेल निर्माण गर्दा यातायात सञ्चालन गर्दा दुरी कम हुन जान्छ । इन्धनको बचत हुन्छ । पहाडी भौगोलिक अवस्था भएकाले गाडी विग्रने समस्या हुँदैन । सुरुको लागत केही महंगो भएपनि दिर्घकालिन रुपमा निकै सस्तो र दिगो टनेल मार्ग नै हुन्छ । भविष्यमा देशलाई निकै ठूलो फाइदा हुन्छ । वातावरणिय रुपमा पनि राम्रो हुन्छ ।

नागढुंगा हामीले नेपालको पहिलो नमूनाको रुपमा काम गर्न खोजिरहेका छौ । यसलाई सफल बनाएर अन्यत्र पनि अभिप्रेरित भएर नेपालको टेक्नोलोजी प्रयोग गरेर निर्माण गर्न सकिन्छ । यसबाट आर्जन गर्ने ज्ञान सीप प्रयोग गरेर नेपाल आफैले टनेल बनाउन सक्छ । सञ्चालन र मर्मत सम्र्भार गर्न पनि नेपाली इन्जिनियरलाई सहभागी गराइन्छ ।

सुरुङ मार्गको लागि मुअब्जा वितरणको काम कसरी अगाडि बढेको छ ?
यस आर्थिक बर्षभित्र नै मुअब्जा बाँडने काम सम्पन्न गछौ ।

सुर्यविनाय, धुलिखेल सिन्धुली वर्दिवास अन्तर्गतको सडकको अवस्थाको सुधार गर्नको लागि विभागले के योजना बनाएको छ ?
–यस सडकका संरचनालाई जोगाइ राख्नको लागि क्षमता भन्दा बढीका सवारी साधन सञ्चालन गर्न रोक लगाउनु पर्छ । क्षमता भन्दा बढी सवारी साधन सञ्चालनमा रोक लागउने काम यातायात व्यवस्था विभागको हो । ओभरलोड बोक्नेलाई बन्द गर्नुपर्छ । क्षमता भन्दा बढी बोक्नेलाई कारवाही गर्नुपर्छ । यसको लागि हामीले गृहकार्य गरिहेका छौं ।

निकट भविष्यमा निरुत्साहित गरिन्छ । हाइवे निर्माण सम्पन्न भए लगत्तै त्यहाँ वस्ती विकास हुने प्रचलन छ । त्यो वस्ती विकास गर्दा त्यसले सृजना गर्ने समस्या हामी सावधान र अनुमान पनि गर्न सक्दैनौ । यसलाई निरुत्साहित गर्न पनि काम गर्नुपर्छ । कल्पना नगरेको ठाउँमा पनि भित्ता खारेर काम गर्ने रेष्टरेन्ट राख्ने, घर बनाउने, जसको कारण पहिरो जाने समस्या आएको छ । यसको बारेमा हाइेव आसपासमा बस्ने बासिन्दाले नै सोच्नु पर्छ । हाइवेलाई जोखिममा पार्ने काम बन्द गर्नुपर्छ । अन्यथा राज्यले हस्तक्षप गर्नुपर्ने अवस्था आउछ ।

सडक निर्माण गर्ने लहर नै चलेको छ । सडकलाई व्यवस्थापन कसरी गर्न सकिन्छ ?
जुन बेलादेखि कानुन नमान्ने मान्छे ठूलो हुने प्रवित्तिको विकास भयो । समस्या त्यहीँबाट सुरु भयो । कुनै पनि नयाँ सडक निर्माण गर्नको लागि सडक विभागको अनिवार्य अनुमति चाहिन्छ । तर त्यो ऐन नियमलाई मिचेर आफू खुसी जसले जहाँबाट चाहियो त्यहाँबाट सडक निर्माण गर्ने होडबाजी नै चल्यो । नयाँ सडक खन्दा मुख्य राजमार्गसँग जोडिनै भयो । देशभरका सबै राजमार्गमा समस्या छ । कानुन भन्दा व्यक्तिहरु धेरैमाथि उभिएको अवस्था छ । त्यो कुरालाई निरुत्साहित गर्न सकेनौ भने सहज रुपमा हिडन नसक्ने अवस्था सृजना हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्