निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य



मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो ।

घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धान प्रगति शून्य जस्तै छ ।
‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन’, कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले भन्नुभयो– ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन।’ उहाँले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गर्नुभयो ।

अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले पनि सघाइरहेको छ । गत भदौ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धीरु बस्नेतको संयोजकत्वमा समिति पुनर्गठन गरी फेरि अनुसन्धानका लागि कञ्चनपुरमा रहेको छ । तर यो समितिले पनि अहिलेसम्म ठोस प्रमाण पनि जुटाउन सकेको छैन । प्रहरीले हत्याराको कुनै सुइँको पाउन सकेको छैन ।
घटनाको अनुसन्धानमा प्रहरीको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको प्रहरी अधिकृतको भनाइ छ । निर्मला हत्याकाण्डमा प्रहरी प्रशासन निकै आलोचित भयो ।

नेपालको उच्च अनुसन्धान छवि बनाएको सीआईबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (निलम्बित) एसपी डिल्लीराज विष्टसँगै फस्यो । प्रहरी इतिहास मै पहिलो पटक सिआईबी पनि अनुसन्धानमा चुक्यो । यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह लगाएको छ ।

प्रहरीले नै प्रमाण नष्ट गरेको भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असईलाई निलम्बन गरेको थियो । छोरीले न्याय पाउने आशा मर्दै गएको निर्मलाका आमाबुवाको भनाइ छ ।

स्थानीय सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने निर्मला पन्तको बलात्कार र हत्या घटनापछि उनको लागि न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भइरहेको छ । हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशभरि नै फैलिएको हो । मुख्य अभियुक्त भनेर स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो ।

त्यस क्रममा प्रहरीले कहिले अश्रुग्यास प्रहार ग¥यो भने कहिले आन्दोलनकारीमाथि गोली प्रहार भयो । प्रहरीले चलाएको गोली लागी दुई दर्जन आन्दोलनकारी घाइते भए । स्थानीय एक बालक सन्नी खुनाले ज्यान नै गुमाउनुप¥यो । घाइतेमध्ये एक जनाको राजधानीमा उपचार भइरहेको छ । हालसम्म उनको होस आएको छैन् भने उनले एउटा खुट्टा समेत गुमाउनुपरेको छ ।
घटना घटेको दुई महिनाको अवधिमा कञ्चनपुरलगायत देशैभरि विभिन्न घटना भएका छन ।

 

प्रतिक्रिया दिनुहोस्