आयुष्मानले गीत हेरेर गर्व लागेको बतायो – प्रियंका कार्की



नायिका प्रियंका कार्कीले कथा काठमाण्डु नामक फिल्मका लागि प्रमोद अग्रहरीका साथ आफूले दिएको अन्तरंग दृश्य सामान्य भएको दाबी गरेकी छिन्।
‘यसको त्यो गीत आउँदा नै फिल्मको विषयमा भन्दा दर्शकले धेरै कुरा बुझ्नुहुन्न भनेर ट्रेलरपछि मात्र फिल्मको बारेमा बोल्छु भनेर बसेको थिएँ। त्यो सिनका कारण संगीता दिदी (निर्देशक संगीता श्रेष्ठ) सँग बोलचाल नै नभएको वा सम्बन्ध नराम्रो केही होइन। ट्रेलर रिलिजको बेला म बाहिर भएकाले आउन पाइनँ। त्यसकारण पनि मानिसलाई हामीबीच राम्रो सम्बन्ध छैन भन्ने लाग्यो होला’, फिल्मका लागि आफूले दिएको अन्तरंग दृश्यका सम्बन्धमा दर्शकहरुको प्रतिक्रियाबारेमा उनले भनिन्– ‘मलाई इन्स्टाग्रामलगायत विभिन्न माध्यमबाट  दर्शकहरुले यस्तो अभिनय किन गरेको, तपाईंलाई मन नै नलागी गरेको जस्तो देखिन्छ भन्नुभएको छ।
त्यहाँ एउटा केटीलाई उसको प्रेमीले सेक्सुअल याब्युज गरिरहेको छ र त्यो एकदम रियास्टिक वेमा देखाइएको छ। धेरैले किन डाइरेक्ट त्यस्तो सिन बनाएको? त्यसलाई ब्युटिफुल्ली प्रिजेन्ट गर्न सकिन्थ्यो भने। तर याब्युज कहिल्यै पनि ब्युटिफुल हुन सक्दैन। लभ मेकिङ मात्र ब्युटिफुल हुन्छ। त्यहीकारण उक्त दृश्य आएको हो।’
आइतबार फिल्मबारे जानकारी दिन निर्माण समूहले राजधानीमा आयोजना गरेका भेटघाट कार्यक्रममा प्रियंकाको भनाइ थियो– ‘हाम्रो समाजको प्रत्येक तेस्रो घरमा छोरी मान्छे विभिन्न किसिमले पीडित भएकै हुन्छन्। यदि छोरा मान्छेले नराम्रो काम गरे पनि दोष भने छोरीलाई नै लगाइन्छ। विवाहपछि पनि छोरी मान्छेले धेरै भोयलेन्स सहिरहेका हुन्छन्। त्यसैमा आधारित कथा काठमाण्डुको प्रस्तुत एक कथामा कसैले पनि हिंसा सहनुहुन्न भन्ने कथा लिइएको छ। दर्शकले उक्त फिल्मको महिला पात्रलाई प्रियंका भन्ठान्नुभयो, यसलाई पनि म माया नै सम्झन्छु। फिल्मको गीत रिलिज हुने दिन म बाहिर थिएँ। संगीता दिदीले आायुष्मान (देशराज जोशी श्रेष्ठ) लाई यो गीत देखाउनुभएछ। गीत हेरेर उसले मलाई फोनमा यस्तो ट्यालेन्टेड मान्छेलाई आफ्नो श्रीमतीका रुपमा पाउन लागेकामा आफू भाग्यमानी भएको र गर्व लागेको बतायो।’
सञ्चारकर्मी तथा फिल्मकी लेखिका तथा निर्देशक संगीता श्रेष्ठले महिलाहरु पुरुषबाट पीडित भएको देखेका कारण यही विषयलाई लिएर कथा काठमाण्डु निर्माण गरेको बताइन्। ‘कतिपय मानिसले मलाई महिला भएर किन महिलालाई नै फिल्ममा डोमिनेट गरेर देखाएको भनेर कमेन्ट गरिरहेका छन्। तर  महिलाको समस्या देखाउन त्यहाँ महिला नै चाहिन्छ। अधिकार भन्ने कुरा महिला होस् या पुरुष दुवैलाई बराबर हुनुपर्छ।
हामीमा गाउँघरका महिला मात्र पीडित छन् भन्ने भ्रम छ तर शहरका पढेलेखेका महिला पनि उत्तिकै पीडित छन्’, संगीताले भनिन्– ‘कुनै क्षेत्रमा टप स्थानमा पुगेका महिलाहरु नै आफ्नो श्रीमानबाट पीडित भएका हुन्छन्। जुन कुरा समाजले के भन्ला भनेर बाहिर ल्याइँदैन। त्यस्तै कथा काठमाण्डुको पात्र पनि टप मोडल हो। तर उसले प्रेमीको हिंसा सहेर बसिरहेको हुन्छ। हामीले ट्रेलरमा त्यही देखाएको हो।’  फिल्मका अभिनेता प्रमोद अग्रहरीले आफूले समाजका धेरै कथाहरु कथा काठमाण्डुसँग मिल्ने पाएको र अब यस्तो हुनुहुँदैन भनेर फिल्म खेलेको बताए। आगामी असोज १२ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान डीएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरिको मुख्य भूमिका छ। आहाना फिल्मसको ब्यानरमा विजय राईद्वारा निर्मित फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा छिन्। फिल्म लुजा सिंहले खिचेका छन् भने मित्र गुरुङले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्