प्रबलीकरण विधिबाट विद्यालय भवन निर्माण



विमल विष्ट, डोटी
डोटी जिल्लामा पहिलो पटक प्रवलीकरण विधिबाट विद्यालयका भवन निर्माण कार्य सुरु गरिएको छ । माटोको गारो लगाएर निर्माण गरिएका पुनर्निर्माण हुन सक्ने विद्यालयका भवनलाई प्रवलीकरण (रेक्टो फिटिङ) विधिबाट सायल, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका ९ विद्यालयका २० वटा भवनलाई प्रवलीकरण विधिबाट निर्माण गरिएको हो । भूकम्पको जोखिमबाट वच्न पूर्व तयारीस्वरुप जापानी प्रविधिबाट भवनको निर्माण भएको हो ।

७ रेक्टर स्केलसम्मको भूकम्प आउँदा लचकिने लचकदार उक्त भवन त्यो भन्दामाथि आएमा एकै पटक नभत्किने गरेर ग्याबीन जालीको प्रयोग गरेर न्यून जोखिम भएको भवन निर्माण गरिएको हो ।

वल्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) द्वारा सञ्चालित सामुदाय तथा विद्यालय बिपद् पूर्व तयारी तथा उत्थानशीलता परियोजना अन्तर्गत तीन करोड ७९ लाख २८ हजार ६ सय ८९ रकमको लागतमा २० वटा भवन निर्माण गरिएको कार्यक्रम संयोजक तीर्थ भट्टले बतानु भयो । उहाँले भन्नु भयो ,‘विद्यालय सुरक्षा ढाँचालाई कार्यान्वयन गर्दै विद्यालय सुरक्षित तथा प्रवलीकरण प्रवर्द्धन गर्नु कार्यक्रमको उद्देश्य हो ।’

प्राय जीर्ण भबन रहेका विद्यालयमा उक्त परियोजना संचालन गरिएको हो। भूकम्पीय रुपमा विद्यालयको सम्पूर्ण भवन जोखिममा रहेको बेला रेक्टोफिटिङ विधिमार्फत भवन निर्माण भएपछि निकै राहतको अनुभूति भएको सरस्वती आधारभूत विद्यालय दिपायलका निमित्त प्रधानध्यापक भक्तबहादुर माझीले बताउनु भयो ।

नेपाल प्रहरीको संरक्षणमा संचालन भइहरेको उक्त विद्यालयमा ७ कोठाका २ भवन निर्माण गरेसँगै अभिभावक मख्ख छन् । ‘बैशाख १२ गते भूकम्प गएपछि केही समय यस्तो विद्यालयमा छोराछोरी पठाउन साह्रै चिन्ता लाग्थो, स्थानिय अभिभावक पार्बती नेघीले भन्नु भयो ‘अब नयाँ प्रविधिको प्रयोग गरेर हामी नानीबाबुलाई विद्यालय पठाउँदा कुनै चिन्ता हुँदैन ।’

प्रवलीकरण विधिमा ज्याकेट प्रविधि प्रयोगमा ल्याएकाले भवनबाट हुने क्षेती न्यून हुने इन्जिनियर हरी बुढाले बताउनु भयो । ‘भित्र प्रखाल हुन्छ । बाहिर ग्याबिन तारले बनेको हुन्छ त्यस बाहिर पलस्टर गरिएको हुन्छ, इन्जिनियर बुढाले भन्नु भयो,‘पहिलो कुरा यो खस्दैन । खसेमा पनि टुक्रा÷टुक्रा भएर खस्छ । भत्किने बेलासम्म नानीबाबु बाहिर खुला चौरमा पुग्न सक्छन् ।’

विद्यालयका संरचना भूकम्प प्रतिरोधी बनाउनु अहिलेको आवश्यकता भएको दिपायल सिलगढी नगरपालिका २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो । वडा अध्यक्ष खड्काले भन्नु भयो,‘हामीले भूकम्प आएपछि भन्दा पनि पूर्व तयारीमा जोड दिनु पर्ने हो। तर हुन सकेको छैन ।’ जिल्लाका अधिकांश पुराना संरचना भूकम्पको उच्च जोखिममा रहेका बेला प्रवलीकरण विधि नयाँ प्रयोगको रुपमा प्रयोगमा आएको हो ।

विद्यालयमा संरचना निर्माण गर्नुका साथै सामुदायका व्यक्तिलाई पनि भूकम्पको जोखिमबाट बच्नका लागी जनचेतना दिने गरिएको सामाजिक परिचालक जमुना कुँवरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्