‘गलत काम गर्ने जो कोही प्रहरीलाई कठोरतापूर्वक कारवाही गछौं’



शैलेश थापा क्षेत्री
प्रवक्ता, नेपाल प्रहरी
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै दुई महिना बितिसक्दा समेत घटनामा संलग्न अभियुक्त पक्राउ गर्न सकेका छैनन् । कञ्चनपुर घटनामा हेलचेक्र्याइँ गरेको भन्दै प्रहरीका अधिकृतहरुसमेत निलम्बनमा परेका छन् । कञ्चनपुरको घटनाले प्रहरीमाथि चौतर्फी आलोचना भइरहेको छ ।

तर प्रहरी संगठनले केही पात्रका कारण सिंगो संगठनलाई विवादमा मुछ्न नहुने बताएको छ । चौथर्फी दबाब भए पनि पीडित परिवारले अझै न्याय पाउन सकेका छैनन् । यसै विषयमा कञ्चनपुर घटना, देशभर बढ्दो बलात्कारको घटना र समस्या समाधानका लागि प्रहरीले गरिहेको कामको विषयमा केन्द्रित भएर नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीसँग नेपाल समाचारपत्रका लागि दीपक रिजाल र मधुसूदन रायमाझीले गरेको कुराकानीः–
निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्दा समेत प्रहरीले दोषी पक्राउ गर्न किन सकिरहेको छैन ?
–कञ्चनपुरको घटना दुःखद थियो । घटनाको अनुसन्धान गर्ने काम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हो । सुरुमा उसले नै घटनाको अनुसन्धान गर्ने काम ग¥यो । हाम्रो स्थानीय नेतृत्व केही कुरामा अलिकता लाप्रवाह देखियो । निर्मला पन्त हराइन् भन्ने कुरा आउनासाथ खोज्नका लागि लाग्नु पर्दथ्यो ।

प्रहरीले पीडित परिवारसँग राम्रो व्यवहार नगरेको देखियो । त्यही भएर हामीले प्रहरी उपरीक्षक दिल्ली विष्टलाई काम गर्न नसकेकोमा निलम्बन ग¥यौं । अहिले हाम्रो अनुसन्धान र छानविनको दायरामा हुनुहुन्छ ।

लगत्तै हामीले प्रहरीले त्यहाँ नयाँ टिम खटायौं । नयाँ टिमलाई सहयोग गर्न प्राविधिक रुपमा विशेषज्ञ पनि खटाएका छौं । अधिकृतहरु पनि खटिएका छन् । महिला तथा बालबालिका सम्बन्धित अपराध भएर महिला अधिकृतलाई पनि खटाएका छौं । यसरी प्रहरी प्रधान कार्यालयले कञ्चनपुरको घटनामा प्रवेश गरेर विशेष सहयोग गरेको छ । यो अपराधमा संलग्न अपराधीलाई चाँडोभन्दा चाडो सार्वजनिक गर्ने काम जारी छ । आगामी दिनमा सफल अनुसन्धानसहित अभियुक्त सार्वजनिक गर्छौं ।

प्रहरीले नै कञ्चनपुर घटनाको प्रमाण नष्ट गरेको आरोप लगाएका छन् नि ?
–तत्कालीन अवस्थामा खटिएका प्रहरी अधिकृत र प्रहरीको भूमिका के रह्यो भन्ने विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय निकै गम्भीर छ । त्यही भएर हामीले अपराध अनुसन्धान विभाग पनि हेर्नु हुने प्रहरी नायब महानिरीक्षक धीरु बस्नेतको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेका छौं ।

छानविन समितिले अनुसन्धानमा भएको लापरवाही पनि अध्ययन गर्नेछ । यदि प्रमाण नष्ट गरेको हो भने कसुरअनुसार कारबाही हुन्छ । प्रहरी प्रधान कार्यालयले गैरव्यावसायिक काम गर्ने जोकोहीलाई पनि कारबाही गर्छ ।

हत्याजस्तो संवेदनशील विषयमा प्रहरीले किन समयमा नै ध्यान दिन सकेन ?
–यो घटना साउन १० गते भएको छ । हाम्रो सीआईबीको टोली तीन दिनभित्र त्यहाँ पुगिसकेको थियो । महिला तथा बालबिालकाविरुद्ध हुने कुनै पनि हिंसात्मक घटनाका अपराधी पक्राउ गर्नुपर्छ भनेर हामी सचेत छौं ।

कञ्चनपुर घटनाले प्रहरीमाथि नकारात्मक धारणा बनेको छ । पुरानै अवस्थामा फर्काउनका लागि के गर्दै हुनुहुन्छ ?
–नेपाल प्रहरीको विकल्प थप व्यावसायिक नेपाल प्रहरी नै हो । यसको अर्को कुनै विकल्प हुनै सक्दैन । कानुन कार्यान्वय गर्ने क्रममा एकल जिम्मेवारी भनेको प्रहरीलाई दिइएको छ ।

जसरी कञ्चनपुर घटनामा प्रहरीप्रति विभिन्न ठाउँमा विरोधका कार्यक्रम पनि भए । यसले के देखाएको छ भने आम नागरिकहरु नेपाल प्रहरीले गर्ने कामप्रति प्रत्यक्ष चासो राख्नुहुन्छ र यो संगठनले गलत काम नगरोस् भनेर पहरेदारी गरिरहनुभएको छ ।

यसलाई हामीले सहज रुपमा ग्रहण गरेका छौं । यो घटनाले आगामी दिनमा थप व्यावसायिक बन्नका लागि सकारात्मक दबाब सृजना गरेको छ ।

पुरानै अवस्थामा फर्काउने तर्फ निकै सचेत छांै । विगत चार महिनाको तथ्यांकलाई हेर्ने हो भने हामीले लागूऔषध बरामद गर्ने काममा दोब्बर प्रगति गरेका छौं । शान्ति सुरक्षामा खलल पु¥याउने सीके राउत, विप्लव समूहका १ सय २५ का नेता कार्यकर्ता पक्राउ गरेका छौं ।

साना हातहतियार दोब्बर बरामद भएका छन् । राजस्व चुहावट नियन्त्रणमा पनि प्रहरीले उल्लेखनीय काम गरेको छ । सकारात्मक काम पनि मनग्य भएका छन् । जबरजस्ती करणी भनेको महिलाको अस्मितासँग जोडिएको कुरा हो । यसलाई कुनै हालतमा मिलमेतो गर्ने र सम्झौतामा टुंगो लगाउन हुँदैन भनेर परिपत्र गरेका छौ । जबरजस्ती करणीको मुद्दामा अनुसन्धान गर्ने काममा कनै पनि कमिकमजोरी नहोस् भनेर परिपत्र पनि गरेका छौं ।

प्रहरी महानिरीक्षकको सचिवालयले निकट भविष्यमा नै जबरजस्ती करणीको सम्भावित समूहलाई लक्षित गरेर कार्यक्रम बनाइरहेका छौं । यस कार्यमा प्रहरी झन् बढी सक्रिय भएर लाग्दा आगामी दिनमा पुरानै अवस्थामा फर्काउन सकिन्छ ।

कञ्चनपुरको घटनाको बारेमा प्रहरीलाई जानकारी छ । प्रहरीले अपराधी पक्राउ गरिरहेको छैन भन्ने आम जनताको आरोप छ नि ? सत्य के यही हो ? यत्रो आक्रोश बढ्दा पनि किन अपराधी पक्राउ गर्न सक्नुहुन्न ? प्रहरीले सार्वजनिक गरेको व्यक्ति नै नक्कली प¥यो नि ?
–शक्तिशाली व्यक्ति नेपथ्यमा बसेर यो सब गरिरहेको छ भन्ने आएको छ । पीडितको परिवारले प्रहरी महानिरीक्षलाई भेटनुभएको छ । गृहमन्त्रीलाई भेटनुभएको छ । प्रधानमन्त्रीलाई भेट्नुभएको छ । उहाँहरु सबैले निष्पक्ष अनुसन्धान गर्छौं भन्नुभएको छ । यो अपराध शक्तिशाली व्यक्तिले भन्दा पनि चतुर व्यक्तिले गरेको छ भन्ने हाम्रो ठम्याइ हो ।

त्यसकारणले चतुर मानिसले गरेको अपराधमा जटिलताहरु हुन्छन् । तर अन्ततः ती पत्ता लाग्छ र कानुनी कठघरामा ल्याउँछौं । जहाँसम्म गलत व्यक्ति सार्वजनिक भयो भन्ने कुरा आयो । हामीले अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गरेका छौं । वैज्ञानिक प्रयोगले दिलीपराज विष्ट होइन भन्ने प्रमाणित भएकाले छोडेका छौं ।

–जबरजस्ती करणीको घटना नियन्त्रण गर्न पाठ्यक्रममा नै समावेश गर्नुपर्छ

डीएनए मिलेन भनेर स्वीकार ग¥यो त्यो आफैंमा अभूतपूर्व हो । किनभने प्रहरीले स्थानीय निकायले यो मानिस हो भनेकोमा केन्द्रीय निकायले डीएनए रिपोर्टबाट होइन भन्ने आँट पनि निष्पक्षताको काम हो । सामान्यता स्थानीय तहबाट हुने कुरालाई माथिल्लो निकायले हो भन्ने चलन थियो । हामीलाई डीएनए मिल्दैन भेनर बाहिर लैजाँदा राम्रो सन्देश जाँदैन भन्ने थाहा थियो । तर निर्दाेष व्यक्ति पर्नु हुँदैन भनेर संगठनले निर्दोष व्यक्तिलाई फसाउने काम गरेन । डीएनए नमिलेको हदसम्म कोही व्यक्तिलाई ल्याउन सक्ने अवस्था छैन् । स्थनीय प्रहरीमार्फत एकचोटि धोका खाइसकेको अवस्था छ । फेरि पटक–पटक धोका खाने पक्षमा छैनौं । हतारोमा निर्दोष मानिस नपरोस् भन्ने चाहिरहेका छौं ।

अपराधमा संलग्नलाई छिटो पक्राउ गर्न चारैतिरबाट प्रेसर छ ? तर तपाईको भनाइअनुसार त अझै समय लाग्ने देखियो नि होइन ?
–हामीसँग वर्षांै लगाउने सुविधा छैन् । हामी सकभर छिटो गर्ने पक्षमा छौं । तत्कालिन अवस्थामा अनुसधान्मा देखिएको लापबाही अभियुक्तको चतुरपना देखिन्छ । यो घटनाको दोषी सार्वजनिक गर्न हामीलाई बढी हतारो छ । किनभने प्रहरीमा आएको क्षयीकरण रोक्न प्रहरी त लाग्ने नै छ । हतारो हामीलाई छ । बडिखेल, रानीवारी घटना, रणबहादुर बम घटनाको अनुसन्धान गर्न पनि लामो समय लागेको थियो । अहिले बर्षौ लगाउने पक्षमा छैनांै । अनुसन्धानमा केही जटिलता थपिएको छ । चाँडोभन्दा चाँडो अभियुक्तलाई सार्वजनिक गर्ने पक्षमा छौं ।


पन्तको हत्याको अभियुक्त जोगाउन होटलको सिसी क्यामरोको फुटेज डिलिट गर्ने काम भएको पीडित परिवारले दाबी गरेका छ, यदि होइन भने प्रहरीले कि विज्ञप्तिसमेत जारी गर्दैन ?
–अनुसन्धानमा रहेका कतिपय तथ्यलाई सार्वजनिक गर्नुहुन्न । सूचनाको २०६४ सम्बन्धी ऐनले पनि यो व्यवस्था गरेको छ । नेपाल प्रहरीको मिडिया पोलिसी पनि त्यही हो । अनुसन्धान भइरहेको बेला तथ्यहरु बहिर ल्याइदिनु हुन्न । सामाजिक सञ्जालमा आएको धारणालाई छानबिन समितिले हेर्छ । अहिले अभियुक्त ठहर नभएको अवस्थामा सबै सार्वजनिक गर्न मिल्दैन । त्यसकारण सबै कुरा बाहिर नल्याएको पनि हो ।

बलात्कारका घटना बढनुमा के कारणले काम गरिरहेको छ ?
–विगत सात वर्षको डाटा हेर्ने हो भने महिला तथा बालबालिकाको विरुद्ध अपराध बढेको देखिन्छ । गत वर्षको तथ्यांक र यस बर्षको तथ्यांक हेर्ने हो भने जबरजस्ती करणीको घटना तीस प्रतिशतले बढेका देखाउँछ ।

जबरजस्ती करणको घटना बढ्नुमा थुप्रै कारण छ । पहिलो कारण महिला हिंसा तथा जबरजस्ती करणको घटनामा कुनै पनि प्रहरीले लापरवाही गरेको अवस्थामा संगठनले तत्काल कारवाही ग¥यो । उदाहरणका लागि दरवामार्ग, सुनसरी, कञ्चनपुरको घटना हेर्दा हुन्छ । जसको कारण प्रहरीप्रति विश्वास बढेर दर्ता गर्ने क्रम नै बढयो । अहिले महिलामा जनचेतनता बढेको छ ।

समाजले अहिले के ठान्यो भन्दा अपराध सहेर बस्ने चिज होइन । यसलाई बाहिर ल्याउनुपर्छ भन्ने कुराहरु प्रहरी कार्यालयसम्म आइपुग्यो । तेस्रो आजभोलि इन्टरनेटमार्फत धेरै कुरा पाउन सकिन्छ । इन्टरनेटमा बालबालिकाले सकारात्मक नकारात्क दुवै कुरा पाउँछन् ।

यो घटना बढनुमा अभिभावको भूमिका पनि पुनरमूल्यांकन हुनुपर्छ कि जस्तो लाग्छ । अभिभावकले स्मार्ट फोन, ल्याबटप, किनिदिनु भो । तर आफ्ना छोरोछारीले इन्टरनेटमा के हेरिरहेका छन भन्ने कुरामा खासै चासो राख्नु भएको पाइँदैन ।

–कञ्चनपुर घटनामा पुनः हतारोमा निर्दोष मानिस नपरोस् भन्ने चाहिरहेका छौं

अपरिपक्क दिमागले परिपक्क साइट भिजिट गरिदिदा खेरि यस प्रकारको गतल बाटो रोज्ने गर्छन् । अहिले सम्बन्ध सामाजिक सञ्जालमा बन्दै छ । सामाजिक सञ्जालमा भएको चिनजानकै कारण पहिलो भेटमा नै बलात्कारमा परेको घटना पनि छ ।

चोथौ कारण मूल्य मान्यतामा आएको बिचलन पनि हो । नयाँ पुस्ताले क्रमश नैतिकता भुल्दै गएको छ । निर्मला पन्त दिउँसो साथीको घरमा गएको देखिन्छ । घरबाट फर्किएको छ । बाटोमा सुरक्षा दिने प्रहरी थिएन । तर समाज, बाटो छेउछाउका मानिसहरु थिए । अहिले जुन प्रकारले समाज रुपान्तरण हुँदै गएको छ त्यसले पनि जबरजस्ती करणीको घटना बढाएको छ ।

बलात्कारबाट कसरी बच्ने भन्ने विषयमा पनि बुझाउन जरुरी होला नि होइन ?
–हामीले जबरजस्ती करणीको घटना नियन्त्रण गर्न दशवटा जति विषयवस्तु बनाएका छौं । यसमा मुख्य त सुरक्षाकै कुरा हो । सात कक्षामा पढ्नेले प्रहरीमा उजुरी गर्न नसके पनि शिक्षक अभिभावकलाई भन्न सक्छ । यदि गलत नियत राखेको बारेमा कसरी थाहा पाउने ? १०० नम्बरमा कसरी कल गर्ने भन्ने सिकाउँछौ ।

१२ कक्षासम्म जाने सोच बनाएका छौ । यदि अभियुक्तले पक्राउ नै गरिहाल्यो भने प्रतिवाद कसरी गर्ने योजना बनाएका छौ । शिक्षा मन्त्रालयसँग समन्वय गरेर जाने सोचिरहेका छौ । आत्मरक्षा कसरी गर्ने भन्ने विषयलाई पाठयक्रममा नै समावेश हुनुपर्छ । शैक्षिक सत्रमा पढाइनुपर्छ ।

बलात्कारको घटना कसरी घटाउन सकिन्छ त ?
–गत बर्ष ६२ प्रतिशत बलात्कारको घटनामा परिचितहरु संलग्न भएको देखिन्छ । घटनाको अनुसन्धान गर्न बीचमा मौका हुनुपर्छ । तर परिवारकै सदस्य, विद्यालयका शिक्षक, ब्याइफ्रेन्ड, साथी साथीमा अनुसन्धान गर्ने कुरा मुस्किल हुने गरेको छ ।

त्यसको रोकथाममा प्रहरी एक्लैको प्रयास चाहीँ काफी नहुदो रहेछ । परिवारको पनि जिम्मेवारी हुन्छ । समाजको पनि जिम्मेवारी हुन्छ । इनजीओ आईएनजीओको, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका पनि जिम्मेवारी हुन्छ । यसरी जोडिदै गयो भने रोकथाम र न्यूनीकरण गर्न सकिन्छ ।

जबरजस्ती करणको घटना घटाउनको लागि हामीले एउटा अभियान सञ्चालन गर्ने सोच बनाएका छौ । ११ देखि १७ बर्षको उमेर समुह सबै भन्दा पीडित समुह छ । ३३ देखि ४९ प्रतिशत पीडितहरु यो उमेर समुहका छन् । २५ बर्ष पु¥याउने हो भने ७० प्रतिशत पुग्छ । हामीले स्कुलमा जाने विषय सोचेका छौ । अभिभावकालाई बुझाउने कुरा सोचेका छौ । यसरी जादा पुरै समाजमा उदेलित भएर समाजसँग जुध्ने प्रयास भयो भने घटाउन सकिन्छ ।

सामाजिक कारणले कतिको काम गरेको छ ?
–हामी आधुनिकतातर्फ उन्मुख हुने नाममा समाजका सुन्दर मुल्य मान्यताहरु क्रमश भत्काउदै गएका छौं । एकअर्कोलाई गर्ने सम्मान खण्डित भएको छ । एक अर्कोलाई गर्ने मर्यादा खण्डित भएका छ । यो राम्रो पक्ष होइन । गत वर्षसम्म १०० वटा मुद्दा दर्ता भएका छन् ।

आगामी दिनमा बढछ । अहिले नयाँ ऐन डाफ्टमा कसरी समावेश गर्ने भन्ने विषयमा कुराकानी भइरहेको छ । १६ बर्ष नपुग्दासम्म फेसबुकको खाता खोल्न पाइदैन । तर दस बर्षको बालबालिकाले फेसबुक चलाउँछ । यौन दुराचारको घटनामा विदेशीले आफ्नो भिक्टिम सामाजिक सञ्जालमा खोज्ने गरेका छन् ।

सामाजिक सञ्जालको कारणले पनि यस्तो घटनामा वृद्धि भएको हो ?
–सामाजिक सञ्जाल भनेको ठूलो पोखरी हो । यहाँ जब असहाय बालबालिका प्रवेश गर्छन् अर्थात खाता खोल्छन । डिलमा रहेका अपराधीहरु बल्छी हालेर बस्छन् । आम अभिभवकाहरुले मेरो बच्चाले खाता खोल्यो भनेर दंगा पर्नु भन्दा पनि उमेर नपुगी फेसबुक चलाउन दिन हुन्न ध्यान राख्ने हो भने ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

–प्रहरीले कानुनको उल्लंघन गर्न पाउँदैन र गर्न दिनु हुँदैन

केही पात्रका कारण प्रहरी संगठन नै बदनाम हुँदै गएको हो ? संगठनभित्र गलत काम गर्नेलाई के साँच्चीकै कारबाही भएको छ त ?
–अहिले प्रहरीमा ७५ हजार फोर्स छ । सबै दूधले धोएका हुँदैन । कतिपय मानिसहरु गलत नियतका हुन्छन् । कतिपय प्रसगमा उनीहरुले गलत काम गरेका छन् । विगत बर्षको तथ्यांकअनुसार २२ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई विभिन्न प्रकारका कारवाही भएको छ ।

चार महिनाको अवधिमा ४ सय ९५ जना प्रहरी कर्मचारीलाई कारवाही गरेका छौं । प्रहरी भनेको कानुन कार्यान्वयन गर्ने निकाय हो । उसले त कानुनको उल्लंघंन गर्न नै पाउदैन र गर्न दिनु हुँदैन । गैरव्यावसायिक काम गर्ने जो सुकै प्रहरीलाई पनि कारवाही गर्न प्रहरी प्रधान कार्यालय प्रतिबद्ध छ ।

बर्दी लगाएर अपराध गर्नुपर्छ भन्नेलाई लुकाउनु पर्ने पक्षमा हामी छैनौ । हामी कोही कसैले संगठनभित्र गलत काम गरेको अवस्थामा कठोरता र निर्मतापूर्वक सजाय दिन्छौ । संगठनको विकास भनेको सुधारउन्नमुख हुन्छ । कतै हावा कमजोर भएको छ भने हावा हाल्छांै ।

नट पनि टाइट गर्छौं । संगठनलाई अग्रगमनमा लैजान्छांै । चेन अफ कमाण्डलाई बलियो छ । अझै बलियो हुन्छ ।

संगठनले नै बाटो बिराउन लागेको त होइन भन्ने आशंका पनि उब्जिएको छ नि ?
–यदाकदा कुनै मुद्दामा गल्ती गरेको होला । तर विगत हेर्ने हो भने ३९ हजार मुद्दाहरु अनुसन्धान गरेका छौ । अनुसन्धान गर्ने क्रममा एउटा दुई वटा केसमा चुक्यौ होला । त्यसैलाई कारण बनाएर संगठनको विरुद्ध राय बनाउनु उपयुक्त हुँदैन । नेपाल प्रहरी नागरिकप्रति प्रतिबद्ध छ । नागरिक केन्द्रीत काम गरिरहेका छौ ।

६ सय ३९ स्थानमा प्रहरी कार्यालय स्थापना गर्न माग छ । १०० नम्बरमा दैनिक ११ सय भन्दा बढी फोन सहयोगको लागि आउछ । प्रहरी ठिक ठाउँमा छ । यदाकता देखिने घटनाले प्रहरीको मनोबल पनि कमजोर भएको छैन् । आगामी दिनमा नेपाल प्रहरी उच्च व्यवसायिक सहित प्रस्तुत हुन्छ ।

नागरिकहरुलाई मेरो आग्रह छ प्रहरीले गर्ने कामको निष्पक्ष मुल्याङकन गरिदिनुहोस । आपत पर्दा अहिले पनि प्रहरी तपाईहरुको घरदैलोमा आइपुग्छ ।

प्रतिक्रिया दिनुहोस्