भूकम्पपछिको पुनर्निर्माणमा दाताले कबोलको सहयोग अझै दिएनन्



नेपाल समाचारपत्र
काठमाडौं
भूकम्पपछिको पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा व्यक्त भएको प्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको आठौं बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पर्ुयाएका संरचनाको पुनर्निर्माणका लागि थप ६ खर्ब रुपियाँ रहेको जानकारी गराउँदै २०७२ असार १० गते भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देश र दातृ निकायले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम समयमा प्राप्त गर्नका लागि प्रयास गर्न आग्रह गर्नु भएको हो।

उक्त सम्मेलनमा दातृ निकायले ४ खर्ब १० अर्ब रुपियाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए, जसमध्ये ६७ अर्ब उद्धार तथा राहत एवं अन्य कार्यक्रममा खर्च भएको रकम समेत थियो। पुनर्निर्माणका लागि ३ खर्ब ४३ अर्ब रुपियाँ रहेकोमा हालसम्म २ खर्ब ६२ अर्ब रुपियाँका लागि सम्झौता भएको छ। पञ्चवर्षीय पुनर्निर्माण योजनाअन्तर्गतका योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपियाँ लाग्ने आँकलन गरिएको छ।

हालसम्मको बजेट खर्च तथा चालू आर्थिक वर्षका लागि छुट्टाइएको बजेट जोड्दा करिब ३ खर्ब ३६ अर्ब रुपियाँ खर्च हुनेछ। पुनर्निर्माणमा केही स्रोत गैरसरकारी तथा निजी क्षेत्रबाट पनि परिचालन भएको छ। भूकम्पबाट प्रभावित ८ लाखभन्दा बढी घर परिवारमध्ये निजी आवास निर्माणका लागि ९० प्रतिशतले पहिलो किस्ता, ६२ प्रतिशतले दोस्रो किस्ता र ३२ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन्।

भूकम्पबाट क्षति भएका घरमध्ये ३६ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ५ लाख ५१ हजार घर निर्माणाधीन छन्।

७५ सय विद्यालयमध्ये ३८ सय विद्यालयको निर्माण सम्पन्न भएको छ भने २७ सय निर्माणको क्रममा छन्। १२ सय स्वास्थ्य संस्थामध्ये ६ सय ५० को निर्माण पूरा भएको छ र १ सय ५० निर्माणाधीन छन्।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामध्ये १ सय ८५ वटा सम्पदाको निर्माण सकिएको भने ३ सय १० वटा निर्माणको क्रममा छन्।

विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठकमा भारत सरकार, विश्व बैंक, संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, जाइका, युएसएड, डीएफआईडी, युनडीपी, एसडीसीलगायतका विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्