६० वर्षदेखि एक्लै बाटो खनिरहेका पासाङ अस्वस्थ



बुद्धवीर बाहिङ राई, सोलुखुम्बु,

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको बाटो ६० वर्षदेखि निरन्तररूपमा एक्लै खनिरहेका पासाङ शेर्पा ‘खुम्बुका सरकार’ अस्वस्थ भएका छन्। केही वर्षदेखि बेलाबेलामा बिरामी हुँदै आएका शेर्पालाई केही महिनाअघिदेखि झनै बिरामीले च्यापेपछि उनी अस्वस्थ भएका हुन्।

अस्वस्थ भएकामा उनलाई पटक्कै चिन्ता छैन। चिन्ता छ त बाटो खन्न नसक्दा। ८० वर्ष पुगेका पासाङलाई उमेर ढल्किँदै गएपछि बाटो बनाउन नसकिने भयो भनेर धेरै चिन्ता लागेको छ। ७ वर्ष अघिसम्म ढुंगा उचाल्दै आएका उनलाई अब चन्दा बाकससमेत बोक्न नसक्दा धेरै चिन्ता लागेको छ। ‘अब त यो चन्दा बाकस पनि बोक्न सक्दिनँ ? अनि कसले दिन्छ पैसा ? अनि कसरी बनाउने बाटो ? साह्रै चिन्ता लागिरहेको छ, –उनले भने। रोगव्याधि लागेर नथलिए आपूmले बनाउँदै गरेको बाटोमा खट्दाखट्दै मर्ने उनको इच्छा थियो। तर उनको इच्छाअनुसार शरीरले साथ दिएन। ‘मैले बाटोमै रगत, पसिना बगाएँ, जीवन पनि यही बिताएँ, अरूको घरमा भन्दा यही बाटोमा मर्न पाए मलाई आनन्द हुन्थ्यो।’ –गहभरि आँसु पार्दै शेर्पाले अन्तिम इच्छा सुनाए।

को हुन् पासाङ शेर्पा ‘खुम्बुका सरकार’ ?

उनले भौतिक सम्पत्ति, सुखसयल र आनन्दको जिन्दगी रोजेनन्। बाटो निर्माण गरेर अरूलाई हिँडडुल गर्न सहज बनाउन सके मनले शान्ति पाउँछ भन्दै अरूको उपकारको बाटो रोजे। सायद भौतिक सुखलाई नै परम सुख ठानी धनदौलतको पछाडि लागेको भए उनी यतिबेला भव्य महलमा हुन्थे। उनलाई चाहिने सम्पत्ति पनि जोड्थे होला। तर उनी यतिबेला बाटो हिँड्ने बटुवासँग हातमा चन्दा बाकस बोकेर खुम्बु पासाङ ल्हामु गाउँपालिकास्थित नाम्चे र क्याङजुमाबीचको सगरमाथा जाने बाटो खनिरहेका छन्, त्यो पनि एक्लै ६० वर्षदेखि निरन्तररूपमा। उनी अहिले चन्दा बाकससमेत आफैले बोक्न सक्दैनन्, तर उनकी कान्छी श्रीमतीलाई चन्दा बाकस बोकाएर अझै बाटो बनाउने काममा अस्वस्थताका बाबजुत पनि निरन्तर लागिरहेका छन्।

उनको नाममा सानो छाप्रोसमेत छैन। डेरामै जिन्दगी कटाएर सिंगो जीवन नै बाटो बनाउने काममा सुम्पेका उनी हुन् ८० वर्षीय पासाङ शेर्पा। न कुनै संस्था, न उनका सहयोगी साथीहरू नै। तैपनि एक्लैले यति लामो बाटो निर्माण गरेका छन् की यसको कुनै मापन नै छैन। पाखुरामा बलको तेज चढ्दै गर्दादेखि नै कुटो, कोदालो, गैंटी र घन बोकेर बाटो बनाउन निस्केका पासाङ जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत बाटो बनाएर थाकेका छैनन्। आफ्नो घर गृहस्थी सबै त्यागेर सिंगो जीवन नै बिग्रे भत्केको बाटो निर्माणमा लागेका उनको बाटोमै देह अन्त होस् भन्ने अभिलाषा छ।

विसं २०१५ सालदेखि नै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको बाटो निर्माण गर्न थालेका शेर्पाले अनवरतरूपमा आजसम्म निरन्तरता दिइरहेका छन्। बाटो निर्माण गर्न थालेको ६० वर्षको अवधिमा उनले सगरमाथा क्षेत्रमा ओहोरदोहोर गर्ने मूलबाटोहरू दिङ्बोचे तथा फेरिचेदेखि पाङ्बोचे, तेङ्बोचे हँुदै नाम्चेको खोङ्माडाँडा नजिकसम्म ल्याइसकेका छन्। बाटोसँगै जिन्दगीलाई साटेका शेर्पाले आफू जन्मेको ठाउँमा बाटो बनाएका भने होइनन्। उनको जन्म सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका काँकुस्थित मूलखर्कमा भए पनि उनले सगरमाथा क्षेत्रका पर्यटकीय पदमार्गहरूको निर्माण गरेका हुन्।

अरू केही नभए पनि उनी चन्दा बाकस सधै आफ्नै साथमा बोक्छन्। आफूले गर्ने काम र सहयोगको याचना समेटिएको कागजात पनि त्यहीं हुन्छ। पासाङले अरूलाई सहयोग गर्नुहोस् भनेर भनिरहनु पर्दैन। नयाँ पर्यटकका लागि उनीसँगै भएको कागज काफी हुन्छ भने पुराना मानिस पासाङ बाटो निर्माण गर्ने समाजसेवी हुन् भन्नेमा चिरपरिचित छन्।

बाटो खन्न
नसक्दा चिन्तित !

पर्यटकलाई चन्दा माग्दै बाटो बनाउँदै आएका उनलाई खुम्बुबासी ‘खुम्बुका सरकार’ भनेर सम्बोधन गर्छन्। हुन पनि सरकारको उपस्थितिबिना नै सगरमाथा आवतजावत गर्ने पर्यटकलाई स्वेच्छिक चन्दा मागेकै भरमा उनले यस क्षेत्रमा ७० किलोमिटरभन्दा बढी बाटो निर्माण गरिसकेका छन्। उच्च हिमाली क्षेत्रमा बाटो बनाउनुपर्ने भएकाले अत्यधिक चिसो, माइनस १ भन्दा माथि तापक्रमको सामना गर्दै उनले निरन्तर बाटो बनाइरहे। अझ आश्चर्यलाग्दो कुरा त के छ भने यस क्षेत्रमा पर्यटकहरू मुस्किलले एक दिनमा २ किलोमिटरभन्दा बढी हिँड्न सक्दैनन्। तर पासाङ भने यही उच्च हिमाली क्षेत्रमा हातमा गैंटी लिएर ६० वर्ष पहिलेदेखि निरन्तर बाटो खनिरहेका छन्।

शुरूमा पर्यटक भरिया भएर कालापत्थर ट्रेकिङमा जाँदा बाटोघाटो बिग्रिएको, भत्किएको र धेरै पर्यटक लडेर खुट्टा मर्किने भाँच्चिनेलगायतका समस्या देखेपछि उनलाई बाटो बनाउने चाहना बढेको रहेछ। त्यसको वर्षदिनपछि उनले एउटा जुक्ति निकाले। त्यो जुक्ति पर्यटकलाई पैसा माग्दै त्यही बाटो बनाउने थियो। यसका लागि उनले सगरमाथा राष्ट्रिय निकुञ्जसँग अनुमति मागे र स्वीकृतिपत्र पनि बनाउन लगाए।

सगरमाथा पदमार्गमा पर्ने दिङ्बोचेबाट बाटो निर्माण गर्न थालेका उनलाई जीवन नै बाटो बनाएर बिताउँछु भन्ने लागेको थिएन। ‘बाटो निर्माण गर्दै जाँदा प्रशंसक र पर्यटकको स्याबासीले गर्दा यो क्षेत्र त्यागेर जान मनै लागेन। बाटो बनाउने मोहका कारण आज म बाटोमै मर्ने अवस्थामा पुगेको छु’ –पासाङले भने। उनले बनाएको बाटो पुनर्निर्माण गर्नुपर्ने तरिकाले बनाएनन्। सिजनमा प्रायः व्यस्त रहने यस क्षेत्रको बाटोमा ओहोरदोहोर हुन मिल्ने गरी बनाएका छन्। जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि उनले कम्तिमा चार फुट चौडा बाटो निर्माण गरेका छन्।

शेर्पा भन्छन्– ‘दिङ्बुचे र फेरिचेदेखि यता यहाँ (नाम्चेको खोङ्मडाँडा) सम्म मेरो पसिना र रगत बगेको छ।’ बाटो बनाउँदा शुरूका दिनमा कतिले असहयोग गरेको समेत उनको तीतो अनुभव छ। ‘रकम संकलन गरेर भाग्छ होला भन्दै मलाई कतिले पैसा नै दिएनन्। पछि थोरै रकमबाट धेरै काम भएको प्रत्यक्ष आँखाले देखेपछि उनीहरूले मलाई सहयोग गर्न हौसिए’ –पासाङले भने। पछिल्ला वर्षमा उनले सिजनका बेलामा ६÷७ जना कामदार राखेर बाटो बनाइरहेका छन्। बाटो बनाउने मात्र होइन, बाटो आसपासमा उनले रोपेका ६ सयभन्दा बढी बिरुवा पनि उनीभन्दा अग्ला हुन थालेका छन्।

उनलाई देखेर अचम्मित हुनेहरू धेरै छन्। शुरूका दिनमा उनलाई देख्नेहरू उनीहरूको देशमा पुगेर फेरि ५÷७ पटक नेपाल आउँदासमेत उनको त्यही कामको निरन्तरता देखेर आश्चर्य मान्ने गरेको उनले बताए। हुन पनि उनको बाटो निर्माण यात्रासँगै ट्रेकिङ गर्न शुरू गरेकाहरूले बूढो भएर ट्रेकिङ पेसा नै छाडिसकेका रहेछन् तर पासाङ भने बाटो बनाएर कहिल्यै थाकेका छैनन्। बरु अझ धेरै वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन् पासाङ। ‘मैले बाटो बनाउन शुरू गर्दा ट्रेकिङ शुरू गरेकाहरू कोही बूढो भए, कोही मरिसके, यो बाटोमा देखिन छाडेका छन्। म पनि कुन दिन मर्छु होला, अलि बढी बाँच्न पाए बाँकी बाटो निर्माण गर्थें’ –उनले बढी बाँच्ने चाहना व्यक्त गर्दै भने।

चाउरी अनुहार, कुप्रो शरीर, फुलेका कपाल अनि पावरवाला चश्मा लगाएका उनको बाटो बनाउने शैली विगत ४÷५ वर्षयता बदलिएको छ। आफै ढुंगा फुटाउने, ढुंगा उचाल्ने र गारो लगाउने काममा तल्लीन हँुदै आएका उनको भूमिका ४÷५ वर्षयता अर्हाउने र रकम जम्मा गर्ने काममा मात्र सीमित हुन थालेको छ। बुढ्यौलीले छुँदै गएपछि शारीरिक अशक्तताका कारण उनको भूमिका साँघुरिएको पासाङ बताउँछन्। ‘दिनको दुई जना कामदार लगाएको छु, अरूले गरेको काम चित्त बुझ्दैन, आफैले काम गरेजस्तो हँुदैन, ढुंगा उचाल्न मन लाग्छ तर सक्दिनँ’ –उनले शरीरले साथ दिन छाडेको दुखेसो गर्दै भने।

पूरै घर गृहस्थी त्यागेर अविचलितरूपमा बाटो निर्माण गर्ने काममै होमिएका पासाङको जीवन भने त्यति सुखद रहेन। विसं २०१६ मा पहिलो विवाह गरेका उनले २०३६ सालमा माइली विवाह गर्नुपरेको थियो। पहिलो श्रीमतीको देहान्त भएपछि माइली विवाह गरेका उनले माइली श्रीमतीबाट खुसीभन्दा पनि पीडा बढी पाएका रहेछन्। उनको कामप्रति सन्तुष्ट नरहेकाले माइली श्रीमतीले गाली गरिरहने र सन्तानसमेत नभएपछि बीचैमा छाडेर गइन्। फलस्वरूप उनले ७ वर्षअघि कान्छी श्रीमतीका रूपमा ल्हमू शेर्पालाई भित्याए। खुम्जुङस्थित एउटा घरको कोठामा पासाङलाई उनै ल्हमूले लालनपालन र साथ सहयोग गर्ने गर्छिन्।

अरूको खुसीमा आफ्नो खुसी हुने, अरूलाई सघाउन पाउँदा आत्मा प्रफुल्ल हुने बताउने पासाङ कैयौंको स्याबासीको पात्र मात्र बनेका छैनन्, उनलाई नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत दोसल्ला ओढाएर सम्मान गरिसकेको छ। उनले गरेको कार्यको सराहना गर्दै पर्यटन मन्त्रालयले ६ वर्षअघि १६ हजार नगद र ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको पासाङले बताए। भौतिकरूपमा दरिद्र भए पनि प्रशंसा र स्याबासीको ओइरो लाग्दा धनी भएको महसुस हुने उनको अनुभव छ। उनी भन्छन्– ‘मेरो देख्ने सम्पत्ति छ भने सरकारले दिएको ताम्रपत्र मात्र छ, अरू त जीवनभरि बनाएको बाटो नै हो।’ उनलाई शेर्पा संघ युरोपले पनि सम्मान गरेको छ। उनलाई २ लाख २० हजार नगदसहित संघले सम्मान गरेको थियो।

त्यत्तिमात्र होइन उनलाई रिपब्लिक मिडियाले ‘नागरिक नायक’ को उपाधिले सम्मान गरिसकेको छ। खुम्बु क्षेत्रमा पदयात्रीका निम्ति सडक बनाउने क्रियाशील अभियन्ताका रूपमा शेर्पालाई सम्मान गरिएको थियो। ‘धनले धनी मानिसहरू मरेर जाँदा उनका सन्तानले बनाए भने चौतारासम्म हुन्छ, त्यसबाहेक अरू केही हुँदैन। मैले बाटो बनाएँ, म मरेपछि पनि रहन्छ र अरूले राम्रो भन्छन्, मलाई सम्झिँदै यो बाटो हिँड्छन’ –शेर्पाले भावुक भएर भने।

प्रतिक्रिया दिनुहोस्