रुकुम पुर्वमा खाद्य संकट, पश्चिमको गोदाममा चामल थन्कीयो



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिकामा खाद्य संकट देखिएको छ । चाड पर्व नजिकिँदै गर्दा जिल्लाको सो गाँउपालिकामा खाद्य संकट देखिएको हो । गत भदौ महिनामा चलेको अत्यधिक हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट देखिएको हो ।

रुकुम पुर्वका जिल्ला समन्वय समितीका प्रमुख गजेन्द्रबहादुर ओली कैलाशका अनुसार पुथाउत्तरगंगा गाँउपालिकाको मैकोट,हुकाम लगाएतका गाँउमा सबै भन्दा बढी खाद्य अभाव रहेको छ । ति गाँउमा हावाहुरीले पुरै मकै नष्ट गरेको छ । हिमाली क्षेत्र भएकोले सो ठाँउमा धान उत्पादन नहुने र मकैबाली मुख्य बाली भएकोले त्यही पनि हावाहुरीले नष्ट भएपछि खाद्य अभाव भएको प्रमुख ओलीले बताउनुभयो । यस्तै बर्षातका कारण पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट खाद्य भित्र्याउन नसक्दा खाद्यको संकट देखिएको छ । अझै पनि खाद्य भित्र्याउन ढिला हुने हो भने खाद्यको चरम संकट हुने उहाँले बताउनुभयो । यसै गरी भुमे गाँउपालिकाको धर्मशाला,गुनाम,कुचीबाङ, कोर्जा लगाएतका गाँउमा पनि खाद्य अभाव देखिएको छ ।

जिल्ला समन्वय समितीका प्रमुख ओलीले भन्नुभयो “यदी सदरमुकाम रुकुमकोट सम्म १५ दिन जति अझै सडक नखुलेको भए सदरमुकाममा पनि समस्या पर्ने सम्भावना थियो ।” नेपाल खाद्य संस्थानलाई खाद्यन्न उपलब्ध गराइदिनका लागी पहल गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा खाद्यको डिपो सदरमुकाम रुकुमकोट र पुथाउत्तरगंगाको वडा नं १२ मा राख्न माग गरिएको छ । “सकेसम्म अन्य ठाँउमा राख्नका लागी माग गरिएको छ” ओलीले भन्नुभयो “यदी सकिँदैन भने तत्कालको लागी २ वटा डिपो,एउटा सदरमुकाम रुकुमकोटमा र अर्काे पुथाउत्तरगंगाको वडा नं १२ मा माग गरिएको छ ।” यसै गरी जिल्लामा नुनको पनि समस्या छ । नुनको पनि डिपो राख्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

रुकुम पश्चिमको गोदाममा चामल थन्कीयो
यता रुकुम पश्चिमको सदरमुकाममा रहेको रुकुम पश्चिम र रुकुम पुर्वको काम सम्हालेको खाद्य संस्थान रुकुम शाखामा चामल थन्कीएको छ । अझै पनि ३९३ कुइन्टल चामल मौजात रहेको खाद्य संस्थान रुकुमका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो । खड्काले भन्नुभयो “रुकुम पुर्वको बिशेष गरी पुथाउत्तरगंगा गाँउपालिकामा खाद्य संकट देखिएको छ । त्यहाँ पठाउनका लागी ढुवानीको व्यवस्था नहुँदा खाद्य यतै थन्कीएको हो ।” गाँउपालिकाले ढुवानीको व्यवस्था गरी पश्चिमको गोदामबाट चामल लिन सक्ने संभावना हुँदा हुँदै पनि पहल नभएको स्थानीयको दुखेसो छ । यता रुकुम पश्चिममा भने खाद्य अभावको समस्या नआउने निमित्त कार्यालय प्रमुख खड्काको भनाई छ ।

 

अझै पनि चामल ढुवानीको लागी टेन्डर भइसकेकोले चाडपर्वमा पनि खाद्यान्न अभाव नहुने उहाँले बताउनुभयो । यसै गरी जिल्ला खाद्य व्यवस्थापन समितीले रुकुम पश्चिमका बिभिन्न ठाँउमा खाद्य डिपो राख्ने निर्णय गरेको छ । आठबिसकोट नगरपालिकाको स्यालाखदी, गोतामकोट र राडी ज्युला, चौरजहारी नगरपालिकाको वडा नं १३ एकौली, मुसिकोट नगरपालिकाको झुल्खेत, सानीभेरी गाँउपालिकाको सिम्ली, त्रिबेणी गाँउपालिकाको सिम्रुतु र पेउघा तथा बाँफिकोट गाँउपालिकाको छिन्खेतमा डिपो राख्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्