१ वर्षमा १० काठेपुल विस्थापित गरी आरसिसि पुल निर्माण



किरन धामी, दार्चुला ।
महाकाली नगरपालिकाको विभिन्न स्थानमा एक वर्षको अवधिमा १० वटा काठे पुलहरु विस्थापित गरी आरसिसि पुल निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाले काठे पुल विस्थापित गर्दै आरसिसि पुल निर्माण गरेको हो । नगरपालिकाको काठे पुल विस्थापन निति अन्तर्गत उक्त पुलहरु निर्माण गरिएको नगर प्रमुख हंसराज भट्टले बताए ।

नगरपालिकाको वडा नम्बर १, ३, ५, ६ र ८ का विभिन्न स्थानमा १० वटा आरसिसि पुलहरु निर्माण गरिएको उनले जानकारी दिए । वडा नम्बर १ को भेरेखोला र लास्कु खोला तथा आरसिसि पुल र बाटो निर्माण गरिएको छ, भने वडा नम्बर ३ को घट्टे खोला, वडा नम्बर ५ को ठा–खोला, वडा नम्बर ६ को परसैन खोला र ऐराडखोला तथा वडा नम्बर ८ को घट्टे खोलामा गरी १० वटा आरसिसि पुल निर्माण गरिएको उनको भनाई छ ।

नगरपालिकाको काठे पुल विस्थापन गर्ने निति अन्तर्गत क्रमिक रुपमा नगरपालिका क्षेत्र भित्र रहेका सबै काठे पुलहरुलाई विस्थापित गरी आरसिसि पुल निर्माण गर्ने योजना रहेको नगर प्रमुख भट्टले बताए । उक्त पुलहरु जन श्रमदान सहित कुल २७ लाख ५५ हजारमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए । काठे पुल विस्थापित गर्दै निर्माण गरिएका आरसिसि पुलहरुले स्थानियलाई आवत जावतमा सहजता भएको नगर प्रमुख भट्टले बताए ।

यसैबीच नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा संचालित २ सय ९५ योजना मध्ये २ सय ८७ योजनाहरु सम्पन्न गरेको जनाएको छ । नगरपालिकाका ९ वटै वटामा संचालित विभिन्न विकास निर्माणका योजनाहरु सम्पन्न भई ९७ दशमलव २८ प्रतिशत भौतिक प्रगती हासिल भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाले बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो घाटो, सडक, पुलपुलेसा, विद्यालय मर्मत, मन्दिर निर्माण, सिचाई कुलो लगायतका योजनाहरु कार्यान्वयन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत देवकोटाले जानकारी दिए ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा ९४ दशमलव ४ प्रतिशत आर्थिक प्रगती गरेको छ, भने ९७ दशमलव २८ प्रतिशत भौतिक प्रगती गरेको उनले बताए । नगरपालिकाले २ सय ९५ योजनाहरु निर्माणका लागी रु १२ करोड ५३ लाख ३६ हजार रुपैया विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्