“निर्माण क्षेत्रको म्याच फिक्सिङ, सिन्डिकेट तथा कार्टेलिङ सबै अन्त्य”



lgdf{0f Joj;foL dxf+;3sf] jflif{sf]T;j k|wfgdGqL s]kL zdf{ cf]nL sf7df8f}Fdf laxLaf/ g]kfn lgdf{0f Joj;foL dxf+;3sf] @)cf}F jflif{sf]T;j ;df/f]xnfO{ ;Daf]wg ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;;

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटक–पटक अवधि थप्न नसकिने बताउनुभएको छ। नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको जानकारी दिनुभयो।

‘व्यवसायीका जायज मागका विषयमा छलफल गर्न सरकार जहिले पनि तयार छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो। व्यवसायीहरूको माग बमोजिम भूकम्प तथा नाकाबन्दीका कारण सम्पन्न हुन नसकेको परियोजनाको म्याद थप्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो।
व्यवसायीहरूलाई मर्का पर्ने ऐन कानुनसमेत संशोधनका लागि सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत हितभन्दा राष्ट्रको हितका लागि बढी ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो। सबै क्षेत्रबाट योजनाबद्ध ढंगले विकास निर्माणका कार्य अघि बढाउनु आजको आवश्यकता हो भन्दै प्रधानमन्त्री ओलीले अनुचित ढंगको लाभ नलिन सम्बन्धित् पक्षको ध्यानाकर्षण गराउनुभयो।

‘अब निर्माण क्षेत्रमा रहेको म्याच फिक्सिङ, सिन्डिकेट तथा कार्टेलिङ सबै अन्त्य गरिनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो। व्यावसायिक एकता कायम गर्दै अघि बढ्न व्यवसायीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले व्यवसायीलाई सरकारको मात्र नभएर सिंंगो संसद्को साथ रहेको बताउनुभयो।

व्यवसायीको हितमा मात्र नभई समग्र जनताको काम गर्न आग्रह गर्दै उहाँले जानी–जानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही हुने दृढता व्यक्त गर्नुभयो। उहाँले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गर्नुभयो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीमैत्री ऐन कानुनको अभावमा व्यवसायीले गुणस्तरीय काम गर्न नसकेको बताउनुभयो। पूर्वमन्त्री विक्रम पाण्डेले गुणस्तरीय काम नहुनुमा व्यवसायीको मात्र दोष नरहेको स्पष्ट पार्नुभयो। पूर्वमन्त्री बालकृष्ण खाँडले निर्माण व्यवसायीको योगदानबिना समृद्ध राष्ट्रको परिकल्पना बेकार रहेको तर्क गर्नुभयो।

महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले कठिन अवस्थामा पनि नेपाली व्यवसायीले उत्कृष्ट काम गरिरहेको दाबी गर्नुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना र महासचिव रामशरण देउजाले व्यवसायीका समस्या र समाधानका बारेमा चर्चा गर्नुभयो। सोही अवसरमा प्रधानमन्त्री ओलीले अग्रज निर्माण व्यवसायी कृष्णभक्त मानन्धरसहित निर्माण क्षेत्रमा योगदान दिने कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभयो। भोलिबाट शुरु हुने निर्वाचन प्रक्रियामार्फत् आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुनेछ।

निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसियएट उपाध्यक्ष, महासचिवसहित पदाधिकारी र सदस्य गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिनुभयो। महासंघको विधानअनुसार पाँच सदस्य भने पछि अध्यक्षद्वारा मनोनयन गरिने बताइएको छ। साधारण सभामा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २५ सयभन्दा बढी निर्माण व्यवसायीको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्