इन्टु मिन्टु लन्डनमा र बाँध मायाले सहित एकै साता ३ फिल्म



चाडबाडको रौनक बढ्दै जाँदा फिल्म रिलिजमा पनि त्यसको असर देखिन थालेको छ। चाडबाडको रौनक बढेसँगै एकै साता २ वा त्योभन्दा बढी फिल्म रिलिज हुन थालेका छन्। यसै क्रममा यस साता एकसाथ ३ फिल्म रिलिज हुने भएका छन्। आज शुक्रबारबाट इन्टु मिन्टु लन्डनमा, बाँध मायाले र धुम ३ एकसाथ रिलिज हुन लागेका हुन्।
इन्टु मिन्टु लन्डनमा कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशनमा बनेको छ भने बाँध मायाले सविर श्रेष्ठ र धुम ३ जयकिशन बस्नेतले निर्देशन गरेका छन्। लन्डन र नेपालका मनोरम दृश्यमा खिचिएकाले इन्टु मिन्टु लन्डनमाका दृश्यले आँखालाई लोभ्याउँछ। बिहीबार साँझ राजधानीमा प्रिमियर शो गरिएको फिल्म रोमान्टिक प्रेमकथामा बनेको छ। प्रज्वल शमशेर जबरा र रेनेशा वान्तवा राईको कथा रहेको फिल्ममा आभाष कर्मचार्य र रेनेशा वान्तवा राईकै संवाद रहेको छ। आइकोर फिल्मसको ब्यानरमा प्रज्जवल शमशेर जबरा र प्रभु शमशेर जबराद्वारा निर्देशित फिल्ममा धिरज मगर, सारुक ताम्राकार, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुबी राणा, अर्जुन श्रेष्ठ, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईं, मेनिशा गुरुङलगायतले अभिनय गरेका छन्। वसन्त सापकोटा, संजिल कर्माचार्य, हर्कुलस बस्नेत र स्वप्न सुमनसमेतको संगीतकार रहेको फिल्म शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन् भने कृष्ण भण्डारीको सम्पादन रहेको छ। निर्देशक रेनेशा वान्तवा राईले आफूले सधै गुणस्तरमा विश्वास गर्ने गरेको र इन्टु मिन्टु लन्डनमालाई परीक्षाका रूपमा लिएको बताएकी छिन्। उनले दर्शकको प्रतिक्रिया हेर्दा राम्रो काम गरेको रहेछु भन्ने महसुस भएको पनि बताइन्।

बाँध मायाले नामक फिल्म भावनात्मक प्रेम कथामा बनेको छ। यसलाई लिएर पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ उत्साहित छिन्। बाँध मायाले आफ्नो तेस्रो फिल्म भएकाले सृष्टि उत्साहित भएकी हुन्। गाजलुजस्तो हिट फिल्म दिएपछि रोमियो एन्ड मुनामा अभिनय गरेकी उनले बाँध मायालेमा एक अनाथ युवतीको भूमिकामा अभिनय गरेकी छिन्। फिल्ममा सृष्टिका साथमा आर्यन अधिकारी, नवअभिनेता किशोर खड्का, राजाराम पौडेल, रवीन्द्रप्रताप सेन, विशाल चाम्लिङलगायतले अभिनय गरेका छन्।

रामहरि धिताल र विभीषिका श्रेष्ठद्वारा निर्मित फिल्ममा केदार धिताल कार्यकारी निर्माता र महेन्द्र अधिकारी सहनिर्माता रहेका छन् भने अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, बाबु श्रेष्ठको छायांकान र राजु ढुंगानाको सम्पादन रहेको छ। निर्देशक सविर श्रेष्ठले आफ्नो यो पछिल्लो फिल्म बाँध मायालेले दर्शकलाई बाँधेर राख्ने बताए।

धुम ३ जयकिशन बस्नेतको लेखन निर्माण तथा निर्देशन रहेको फिल्म हो। फिल्म जयकिशन बस्नेत फिल्म्स प्रालिको ब्यानरमा जान्हवी बस्नेत र ब्रबीन बस्नेतद्वारा प्रस्तुत फिल्मलाई हास्यप्रधान भनिएको छ। जयकिशन बस्नेतको साथमा एलिना रायमाझी, प्रज्वल गिरी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, शुरवीर पण्डित, सिमरन कार्कीलगायतले अभिनय गरेको फिल्ममा टंक बुढाथोकी र ओम सुनारको संगीत, हिमाल केसीको द्वन्द्व, जीवन श्रेष्ठको छायांकन तथा तुलसी बास्कोटाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्