पोखरा–बागलुङ सडक असोज २० गतेसम्म दैनिक ७ घण्टा बन्द



नेपाल समाचारपत्र
पर्वत
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालिएको छ।

सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खरेहा गेटसम्म असोज १ गतेदेखि २० गतेसम्म दैनिक सात घण्टा बन्द गर्न थालिएको हो।

लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भिर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ। सडकमा विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राती ८ बजेसम्म २ घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ।

असोज २० देखि दशैं शुरू हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविद भुसालले बताउनुभयो। सडक खुल्ला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भइरहेको छ। असोज ५ गतेदेखि हुने नेपाल जेसिजको क्षेत्र ख सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाई समेत हटाएर सडक फराकिलो बनाउने काम भएको प्रोजेक्ट म्यानेजर भुसालले बताउनुभयो।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ। कम्पनीले ८३ करोड ९८ लाख रुपियाँमा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ। अहिलेसम्म १५ प्रतिशत काम सकिएको म्यानेजर भुसालले जानकारी दिनुभयो। अहिले सबै ठाउँबाट काम शुरू गरिएको र दशै तिहारपछि कामलाई अझै तीव्र बनाउने निर्माण कम्पनीले जनाएको छ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्ड लाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ। लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ। मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ। २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँ–ठाउँमा जाम समेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँ–ठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो।

प्रतिक्रिया दिनुहोस्