पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन प्राधिकरणले सहयोग गर्ने



काठमाडौं, (नेस)
भूकम्पबाट भत्किएका पशुपति क्षेत्रको संरचनाको पुनर्निर्माण र पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालसहितको टोलीसँग छलफल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताउनुभयो।

पशुपति क्षेत्र विकास कोषअन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुननिर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नु पर्ने संरचनाहरूको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताउनुभयो। उहाँले धार्मिक र पुरातात्विक सम्पदाको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

पुनर्निर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरूको संरक्षण कार्यलाई एकासाथ अगाडि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गर्नु भएको थियो। गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपियाँ विनियोजन गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको १५ शिवालयका मन्दिर क्षेत्र जमीन भासिएकाले सो क्षेत्रमा भूसंरक्षण गर्नुपर्ने र मन्दिरहरूको जीर्णद्वार र संरक्षण गर्न आवश्यक छ। यस्तै सत्तल बने पनि विश्वरूपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन। जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरू, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनर्निर्माण अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्