जनप्रतिनिधि आए पनि संस्कृतिको समस्या ज्यूँका त्यूँ



सुनील महर्जन, ललितपुर,
ललितपुर महानगरपालिकामा मेयर आएपछि जात्रा, पर्व सञ्चालनका लागि आवश्यक रकम बन्दोबस्तो हुनेमा स्थानीयवासी साम्राज्य श्रेष्ठ निकै आशावादी थिए। तर मेयर, उपमेयरले महानगरपालिका चलाउन थालेको डेढ वर्ष बितिसकेको छ। यतिन्जेलसम्म उनको आशा सुस्तरी निराशामा फेरिएको छ।

श्रेष्ठ मंगलबजारस्थित मुछेँ आँगन घरमा रहेको मनमानेश्वरी देवीका मुख्य व्यवस्थापक हुन्। लिच्छिविकालीन मुछेँ आँगन घर भूकम्पले क्षतिग्रस्त भएको थियो। मन्दिर पुनर्निर्माणसँगै नाँच सञ्चालन गर्नका लागि महानगरपालिकामा पटक–पटक धाउनुपर्दा उनको आशा निराशामा बदलिएको हो। ‘हिजो कर्मचारी संयन्त्रले स्थानीय तह चलाइरहँदा जनप्रतिनिधि आएपछि सबै समस्या क्रमशः समाधान हुनेछन् भन्ने लागेको थियो। त्यो आखिर जनतालाई बाँडिएको भ्रम मात्र रहेछ।’ –श्रेष्ठले भने।

मूः छेँ आँगन घर गुठीको माजुसँग द्यः पूजा पर्व, मल्लकालीन तलेजु पूजा पर्व र शाहकालीन फूलपाती भित्याउने पर्व जोडिएको छ। सो पूजासँग नवदुर्गा भवानी (गथु प्याखँ), पायो जात्रा (खड्ग जात्रा) र धार्मिक सांस्कृतिक महत्वका अनेक पूजा र अमूर्त संस्कृतिहरू जोडिएका छन्। रकम अभावले गर्दा ती परम्पराहरू अहिले बन्द भइसकेका छन्। अधिकांश सांस्कृतिक पर्वहरू बन्द हुने क्रममा रहेका छन्।

‘यस्तै अवस्था रहने हो भने अहिले सञ्चालन भइरहेका पर्वहरू भने लोप हुनेछन्।’ तलेजु भवानीका पुजारी सञ्जयराज शर्माले भने ‘जनप्रतिनिधिहरूले यसप्रति संवेदनशीलता देखाएर समस्या समाधान गर्नुपर्दछ।’

यसैगरी कायगु ननीःका गुठियारले खड्गजात्राका बेलामा बौः (धान र चामल मिसाएर पकाएको भात) बोक्ने परम्परा पनि अहिले बन्द अवस्थामा रहेको छ।खड्गजात्राको क्रममा खड्ग समात्ने व्यक्तिको अगाडिपछाडि बसेर नगर परिक्रममा गर्ने गरिन्छ। महालक्ष्मी मन्दिरमा राँगासहित बलि चढाउँदा जल चढाउन बौः गुठियार अनिवार्य मानिन्छ। यो चलन २०४३ मा र रातो मत्स्येन्द्रनाथ जात्रामा जाने चलन २०४४ मा बन्द भएको थियो। कायगु ननीका गुठियार ६३ वर्षीय कृष्णबहादुर महर्जनले भने– ‘१५ जना गुठियारलाई हरेकपल्ट बाहिर आउँदा प्रसाद ग्रहण गर्नुपर्छ। यसका लागि २५ हजार रूपियाँ बढी खर्च हुन्छ।’

आवश्यक रकम विनियोजित नगरेकोमा च्यासलका ७७ वर्षीय इन्द्रवीर व्यञ्जनकार पनि महानगरपालिकाप्रति रुष्ट छन्। उनी लोप भइसकेको लिच्छवीकालीन खड्गजात्रामा अग्रपंक्तिमा बसेर इन्द्रबाजा बजाउने गुठियार हुन्। एकपटक बाजा बजाउन ४ जना गुठियार अनिवार्य आवश्यक पर्छ। गुठी संस्थानले एकपटक गुठी बाहिर आउँदा प्रत्येक गुठियारलाई २५ रूपियाँका दरले खान्की रकम दिने गरेको छ। इन्द्रजात्रा गुठीलाई महानगरपालिकाबाट केही दिने गरेको छैन। एकपटक बाहिर आउँदा कम्तीमा १० हजार रूपियाँ खर्च हुन्छ। ‘रातो मत्स्येन्द्रनाथ, तलेजु पूजाविधिमा पनि बजाउनुपर्छ।’ अहिले जेनतेन सञ्चालन गरिरहेका छांै।’ वर्ष दिनमा १८ पटक बजाउनुपर्ने चलन छ। अधिकांश लोप भइसकेको छ।

खड्गजात्रासँग सम्बन्धि यी गुठियार उदाहरण मात्र हुन्। ठेचो नवदुर्गा भवानी देवी, तलेजु, नायः बाजा खलः, यल मुःखल, कोन्ति खलः, महालक्ष्मी धःपाला, कुमारी घर, कुम्भेश्वर मन्दिरका पुजारी, गः प्याखः खलः नकबहिल (अष्टमातृका नाच), डंगु खलः हौगलगायत गुठीसम्बन्धी छन्। यी गुठीमध्ये कतिपयलाई ललितपुर महानगरपालिकाले केही रकम दिने व्यवस्था छैन। गुठी संस्थानबाट दिँदै आइहरेको जिन्सी र रकममा समयनुकुल परिमार्जन हुन सकेको छैन।

सांस्कृतिक नगरी कसरी बन्छ ?

‘भएभरका अधिकाशं अमूर्त संस्कृति क्रमशः लोप हुँदै जाने ललितपुर महानगरपालिकालाई कसरी सांस्कृतिक नगरी बनाउन सकिन्छ ?’ यो प्रश्न धार्मिक र सांस्कृतिक महत्वका परम्परा र नाँचहरू बन्द हुने क्रममा पुगेपछि सरोकारवालाहरूले तेस्र्याएका प्रश्न हुन्।

गुठियारहरू पर्व पुनःसञ्चालनका लागि गुठी संस्थान र महानगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन्।गुठी संस्थान र महानगरपालिकाले मुखले सांस्कृतिक नगरी बनाउने भने पनि व्यवहारमा अनेक बहानाबाजी गरी सहयोग नगरेकाले चाडपर्व बन्द भएको गुठियारहरू बताउँछन्। कुमारीलाई गुठी संस्थान र महानगरपालिकाले दिँदै आएको रकम समयानुकूल नभएको कुमारी गुठीका सदस्य सिद्धिरत्न वज्राचार्यले बताए।

पर्यटकबाट मात्रै महानगरपालिकाले वर्षेनी करोडौं रूपियाँ राजस्व भित्याउने गरेका छन्। तर संस्कृति संरक्षणमा उदासीनता रहेको पाइयो गुठीका रामकृष्ण महर्जनले भने।

दरबन्दीमा पुनरावलोकन गर्नुपर्ने माग

महानगरपालिकाले विभिन्न पर्व, नाँच र जात्राका लागि निश्चित रकम तोकेर वर्षेनी दिँदै आएको छ। यसरी दिने रकमलाई दरबन्दीमा राखिएको रकम भनिन्छ। २०५४ सालमा बुद्धिराज वज्राचार्य नगरपालिकाको प्रमुख हुँदा बन्दोबस्तो गरिएको दरबन्दीको रकममा अहिले पनि समयसापेक्ष परिर्वतन गरिएको छैन। यसले गर्दा विभिन्न संस्कृति, पर्व चलाउन रकम अभावको समस्या स्थानीयले व्यहोर्दै आएका छन्।

‘दरबन्दी पुनरावलोकन गर्दै त्यसमार्फत पर्याप्त रकमको बन्दोबस्तो गर्नुले मात्र ती बन्द भएका नाँच चल्नेछन्। तजबिजको भरमा आर्थिक सहायता गर्नु नाँच निरन्तरताका लागि दरिलो स्रोत होइन।’ नाँच सञ्चालनका लागि २ वर्षअघि नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा भएको सरोकारवालाको बैठकको निचोड सुनाउँदै शाखाका सचिव राजेश वज्राचार्यले भने– ‘दरबन्दी पुनरावोलकनका लागि पटक–पटक प्रतिबद्धता व्यक्त गरे पनि कार्य भने सोहीअनुरूप भइरहेको छैन।’

सो सरोकारवाला बैठकपछि गुठियारबीच आवश्यक समन्वय, सरकारी प्रशासनमा लबिङ गर्न ललितपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा यल सांस्कृतिक पर्व संरक्षण समिति गठन भएको थियो। सोही समिति, नेवाः पत्रकार राष्ट्रिय दबू र सम्बन्धित गुठियारको प्रयासमा गत वर्षदेखि नवदुर्गा नाँच सञ्चालन पुनः सञ्चालन भएको थियो। दरबन्दीमा नै पुनरावलोकन गरेर नाँचका लागि आवश्यक रकम दिनुपर्ने माग सरोकारवालाहरूले अघि सारेका थिए। तैपनि महानगरपालिकाले गत वर्ष प्रस्तावना पेश गर्न लगाएर नवदुर्गा नाँचका लागि २ लाख रूपियाँ दिएको थियो।

‘प्रस्तावना पेश गरेर दिने तरिका नाँच निरन्तरताका लागि दिगो स्रोत होइन। कार्यपालिका बैठकबाट पारित गराएर दरबन्दीमा नै परिर्वतन गर्नुले मात्र नाँचको निरन्तरता सुनिश्चित गर्दछ।’ नाँच सञ्चालनका लागि गुठियारहरूलाई सहजीकरण कार्यमा समेत संलग्न हुँदै आएका पत्रकार शाखाका सचिव वज्राचार्यले भने। गत वर्षदेखि नवदुर्गा नाँच सञ्चालनमा आए पनि आवश्यक रकमको व्यवस्थापन दिगो तवरले नहुँदा स्थानीय गुठियारहरू महानगरपालिकामा अहिले दौडधुप गर्नुपरिरहेको स्थिति रहेको छ।

नवदुर्गा नाँच सञ्चालन गर्ने क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जात्रापर्व सञ्चालनका लागि दरबन्दी पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोहीअनुरूप पुनरावलोक समिति गठन गरिएको बताए पनि यस दिशामा ठोस कार्य हुन नसकेको पाइएको छ। हालै भएको सरोकारवाला भेलामा १ वर्षअघिकै प्रतिबद्धता व्यक्त गर्दै उपप्रमुख गीता सत्यालले भने– ‘हाललाई जात्रा सञ्चालन गर्न वैैकल्पिक व्यवस्था गरिनेछ। क्रमशः समयानुकूल दरबन्दीमा वृद्धि गरिनेछ।’

‘कर्मचारी संयन्त्रले चलाउँदा पनि यस किसिमका प्रतिबद्धताहरूले धेरै सुनें, अहिले जनप्रतिनिधि आएपछि पनि सुन्दै छु। ‘दरबन्दीको समयसापेक्ष हेरफेर गर्न प्रमुख महर्जन र उपप्रमुख सत्यालले आखिर केले रोकेको छ?’ –पर्व सञ्चालनका लागि ललितपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित यल सांस्कृतिक पर्व संरक्षण समितिका पूर्वसंयोजक सविन श्रेष्ठले भने। यस्तो अवस्थामा प्रमुख महर्जनले ज्यापू समाजको रजत जयन्तीको अवसरमा आयोजित समारोहमा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित सबैका सामू आगामी ४० वर्षसम्म अमूर्त संस्कृतिहरू लोप नहुने बताएका थिए। दशैं नजिकिँदै गर्दा पाटन दरबार क्षेत्रसँग सम्बन्धित पर्वहरू सञ्चालन हुने वा नहुने आशंकाले प्रमुख महर्जनको सो भनाइलाई उपहास गरिरहेको गुठियारहरूको सामूहिक भनाइ रहेको छ।

गुठियारहरूको भनाइप्रति ऐक्यबद्धता व्यक्त गर्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका यल सांस्कृतिक पर्व संरक्षण समितिका संयोजक कृष्णलाल महर्जनले धार्मिक र सांस्कृतिक महत्वको नाँच र पर्व संरक्षण गर्न पर्याप्त बजेटको व्यवस्था मिलाउन महानगरपालिका र गुठी संस्थानको ध्यानाकर्षण गराए।

गुठियारलाई सधैं आश्वासन मात्र

प्रतिक्रिया दिनुहोस्