नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा ई–हाजिरी



रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने सवै माध्यमिक तहका सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु गरिएको छ । शिक्षकहरु समयमा विद्यालय नजाने तथा गएर पनि समय अगाडि नै विद्यालय छाड्ने क्रम बढेकाले नियन्त्रण गर्न नगरपालिकाभित्र पर्ने १८ वटा माध्यमिक तहका विद्यालयमा ई–हाजिरी शुरु गरिएको हो ।

सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु भएपछि शिक्षकहरु समयमै विद्यालय आउन थालेको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । विद्यालयमा जडान गरिएको ई–हाजिरीको रिपोर्ट सिधै नगरपालिकामा आउने गरी व्यवस्था मिलाइएको नगरपालिकाका सुचना प्रविधि अधिकृत सुवास राईले बताउनुभयो । नगरपालिकाको लगानीमा जडान गरिएको ई–हाजिरी इन्टरनेटको माध्यमबाट सिधै कार्यालयसँगै जोडिएको जनाइएको छ ।

नगरपालिकाभित्र पर्ने माध्यमिक तहको १८ वटा सामुदायिक विद्यालयमा १ सय ८२ जना शिक्षक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्