डढुवा रोगले चिया खेती सखाप, किसानले चियाको बोटै फाँड्न थाले



गणेश घिमिरे, इलाम ।
पूर्वी इलामको सूर्योदय नगरपालिकाको एउटा सिंगो वडाम डढुवा रोगका कारण चिया खेती सखपा भएको छ । यस्तै सोहि नगरपालिकाको अन्य वडामा पनि डढुवा रोगको संक्रमण देखिएको छ । वडा नम्बर ८ सिद्धिगाउँको सबैजसो किसानको चिया बगानमा रोगका कारण चिया सखाप भइसकेको छ । कसैको बगान रोगले पूरै ढाकेको छ भने कसैकोमा रोग लाग्न सुरु भएको छ ।

स्थानीय कन्याम चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष ख्याम प्रधानले चियामा देखिएको डढुवा रोगको प्रकोपले निरास बनाएको बताए । ‘डढुवाले एउटा टोलको सबै चिया सखाप भइसकेको छ’ उनले भने रोगले भेटेपछि किसानले चियाका बोट फाँड्नसमेत थालेका छन् ।’ उक्त क्षेत्रमा दुईसभन्दा बढि चिया किसान रहेका छन् । घरेलु उपचारले नभएपछि किसानले चिया नै मास्न थालेका हुन् । बोटमा देखिएको संक्रमणकै कारण स्थानीय सहकारीले सञ्चालन गरेको चिया प्रशोधन कारखानामा हरियो चियापत्तीको परिमाण पनि ह्वात्तै घटेको छ ।

किसानका अनुसार चियालाई अग्र्यानिक बनाउने प्रक्रिया थालिएपछि रोगको संक्रमण बढी भएको हो । ‘रासायनिक मल र विषादी हालुञ्जेल चियामा रोग लाग्दैनथ्यो’ स्थानीय किसान प्रेम कटुवालले भने ‘तर अग्र्यानिकमा गएपछि चियामा घातक रोग देखा परेर चिया बगानै मासिन थालेको छ ।’

रोगले चिया बगान अहिले कालो भएको छ । चिया अग्र्यानिक बनाउन ३ वर्षको प्रक्रिया पार गर्नुपर्छ । यो अवधिभर जैविक बाहेक कुनै रासायनिक मल र विषादी प्रयोग गर्न हुँदैन । सूर्याेदय नगरपालिकालाई ३ वर्ष भित्रमा अग्र्यानिक उत्पादनको नगर बनाउने घोषणासँगै किसानले चिया पनि अग्र्यानिक बनाउन थालेका हुन् । तर, रोगले चिया मासिने डर भएकाले जैविक मल र विषादी सहज बनाउन स्थानीय सरकारसँग किसानले मागसमेत गरेका छन् ।

जिल्लाभरकै किसानले खेती गरेको चियामा महिनादिनयता डढुवा रोगको प्रकोप अत्यधिक देखिएको छ । केन्द्रीय चिया सहकारी संघका अनुसार इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालगायत सबै जिल्लामा डढुवाले चिया सखाप बनाउँदै लगेको जनाएको छ । ‘६० प्रतिशत किसानको बगानमा डढुवा रोग फैलिएको छ’ संघका अध्यक्ष गोविन्द दाहालले भने ‘संघमा १ सयभन्दा बढी सहकारी आबद्ध छन्, ती सहकारीमा रहेर चिया खेती गर्ने किसानको संख्या ३० हजार हाराहारी छन् ।’ गत वर्षहरूमा पनि यो रोग चियामा नदेखिएको होइन । तर, टिपाइको सिजन सकिएपछि (कात्तिक लागेपछि) मात्रै देखिने यो रोगले अहिले मुख्य सिजनमै आक्रमण गर्दा पत्ती उत्पादनमा असर पुगेको किसान बताउँछन् ।

चियाविज्ञ चन्द्रभूषण सुब्बाले बढी चिसो र हुस्सु लाग्ने ठाउँमा लाग्ने यो रोग ढुसीजस्तो भएको बताए । ‘यो रोग स्याहार नपुगेको बोटमा बढी लागेको हुनसक्ने भएकाले अग्र्यानिक चियालाई पुग्दो मल र जैविक औषधि प्रयोग गर्नुपर्छ’ उनले भने ‘कमजोर बिरुवामा यो रोगले बढी आक्रमण गर्ने भएकाले मलखाद र बोटको स्याहारमा किसानले ध्यान दिनसपरयो ।’

प्रतिक्रिया दिनुहोस्