गिफ्टलाई ३ लाखको पुरस्कार



फिल्म स्क्रिप्ट राइटिङ कम्पिटिसन–३ मा सुनील गुरुङको द गिफ्ट प्रथम भएको छ। माओवादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेसा रोज्ने युवतीबीचको प्रेमकथा बुनिएको स्क्रिप्टले उपाधिसँगै ३ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ।

ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यु नेपाली सिनेमाले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विजेतालाई पुरस्कार प्रदान गरेको थियो। अस्ट्रेलिया निवासी फिल्म निर्माता तथा निर्देशक मनोज अधिकारीको अगुवाइमा सन् २०१२ बाट शुरू भएको स्क्रिप्ट राइटिङ कम्पिटसनको तेस्रो संस्करणमा १ सय ५० स्क्रिप्ट प्राप्त भएकोमा उत्कृष्ट ३० स्कृप्ट छानिएको थियो। जसमध्येबाट सुनीलको द गिफ्टसहित रियाज नतकारको मी र म तथा विपीन भुषालको अड वान आउट उत्कृष्ट ३ मा परेका थिए। नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरी प्रतियोगिता आयोजना गरिएको अधिकारीले बताए। उनले अघिल्ला प्रतियोगितामा उत्कृष्ट ठहरिएका स्क्रिप्टमा ऋतु र दोष फिल्म बनिसकेको उल्लेख गर्दै द गिफ्ट पनि छिट्टै फिल्मका रूपमा आउने बताए।

कार्यक्रममा फिल्म निर्माता छविराज ओझाले नेपाली फिल्म निर्माणको धार, शैली र प्रविधि बदलिसकेकाले स्क्रिप्टमा ध्यान दिनुपर्नेमा जोड दिए। निर्माता माधव वाग्लेले पनि फिल्मको मेरुदण्ड भनेकै स्क्रिप्ट भएको चर्चा गर्दै चलचित्र विकास बोर्डले गर्नुपर्ने काम गरेकोमा प्रशंसा गरे। विजेता सुनीलले स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम हुँदा आफूले जिन्दगीकै सबैभन्दा ठूलो खुसी पाएको महसुस गरेको बताए।

प्रतिक्रिया दिनुहोस्