मिस नेपालबाट नायिका बनेकी सृष्टिको उत्साह



पूर्वमिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ आफ्नो तेस्रो चलचित्र बाँध मायालेलाई लिएर उत्साहित छिन्। फिल्म करियर शुरू गर्दै गाजलु जस्तो हिट फिल्म दिएपछि रोमियो एन्ड मुनामा अभिनय गरेकी उनले बाँध मायालेमा एक अनाथ युवतीको भूमिकामा रहेको खुलाइन्।

सोमबारको भेटघाटमा सृष्टिले बाँध मायालेमा आफू साधारण नेपाली युवतीको भूमिकामा भएको र फिल्म हेरेपछि दर्शकले आफ्नो भूमिका मन पराउने बताइन्। ‘म आफ्नो कामलाई सधैं सिरियसली लिन्छु र त्यहीअनुसार फिजिकल्ली मात्र नभएर मेन्टल्ली पनि आफूलाई तयार गर्छु यस कारण साधारण गाउँले युवतीको भूमिका निर्वाह गर्न मलाई गाह्रो भएन’, सृष्टिले सुनाइन्– ‘केही दिनअघि मैले पनि फिल्म हेरें। फिल्म निकै राम्रो लाग्यो। मैले फिल्ममा आफ्नो काम देखाएको छु जस्तो लाग्यो।’

फिल्मका नायक आर्यन अधिकारीले बाँध मायाले भावनात्मक प्रेम कथामा आधारित द्वन्द्व तथा हासोले भरिएको फिल्म भएको दाबी गरे। ‘फिल्म अर्जुन र श्रद्धाको प्रेमकथामा छ। गाउँले केटा अर्जुन जोसँग पैसा, सम्पत्ति र लक्ष्य केही छैन। ऊ कहीं हिँडिरहँदा आफूजस्तै अनाथ केटी श्रद्धालाई भेट्छ र उनीहरूको कथा नै बाँध मायाले हो। अस्ट्रेलियाको सिड्नी र अमेरिकाको सन फ्रान्सिस्कोमा प्रिमियर गर्दा निकै राम्रो फिडब्याक पाएका छाँं’, आर्यनले भने– ‘सृष्टिसँग काम गर्दा निकै सजिलो भयो। उनी निकै फ्रन्डली छिन्। उसमा मिस नेपाल हुँ भन्ने खालको व्यवहार नै छैन।’ फिल्ममा किशोर खड्काले नायकका रूपमा डेब्यु गरेका छन्। ‘निर्देशक सविर श्रेष्ठले अडिसन लिएपछि केहीपटक भेटेर कुराकानी गरेपछि मात्र मैले फिल्ममा काम गर्न सक्दोरहेछु भन्ने लागेर लिनुभएको हो। फिल्ममा म ह्याप्पी क्यारेक्टरमा छु। उहाँजस्तो सिनियर डाइरेक्टर र आर्यन र सृष्टि जस्ता राम्रो कलाकारहरूसँग काम गर्न पाउँदा निकै खुसी छुु।’ –उनले भने।

आगामी शुक्रवबर अल नेपाल रिलिज हुने सविर श्रेष्ठ निर्देशित बाँध मायालेमा आर्यन, श्रृष्टि र किशोरको साथमा राजाराम पौडेल, रवीन्द्रप्रताप सेन, विशाल चाम्लिङलगायतले अभिनय गरेका छन्। रामहरि धिताल र विभिषिका श्रेष्ठद्वार निर्मित फिल्ममा केदार धिताल कार्यकारी निर्माता र महेन्द्र अधिकारी सहनिर्माता रहेका छन् भने अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन, बाबु श्रेष्ठको छायांकान र राजु ढुंगानाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्