सामुद्रिक आँधी फ्लोरेन्सको बितन्डा, ४ को मृत्यु



विलमिङ्टन, (एजेन्सी)
सामुद्रिक आँधी फ्लोरेन्स शुक्रबार अमेरिकाको नर्थ क्यारोलाइनामा प्रवेश गरेपछि अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेमा एक महिला र उनको बच्चा पनि भएको बताइएको छ।

अमेरिकाका पूर्वी राज्यहरूमा यस सामुद्रिक चक्रवातका कारण अविरल मुसलधारे वर्षा भइरहेको छ। नदीमा पानीको स्तर अत्यधिक बढेको छ। ट्रेन्ट र नियुज नदीको संगमस्थल स्थित नर्थ क्यारोलाइनाको न्युबर्न इलाकामा आँधीको प्रभाव धेरै परेकाले सयौं बासिन्दा आफ्नै घरमा फसेका छन््। उनीहरूलाई त्यहाँबाट उद्धार गर्नुपर्ने स्थिति रहेको बताइएको छ। उक्त इलाकाको आवादी ३० हजार रहेको छ।

नेसनल हरिक्यान सेन्टर (एनएचसी) ले स्थानीय समय राति ८ बजे फ्लोरेन्स उच्चस्तरभन्दा तलको सामुद्रिक आँधीमा परिणत भएको जानकारी दिएका थिए। तर, खतरा अहिले पनि कायमै रहेकोमा अधिकारीहरूलाई सचेत गराएका थिए। नर्थ क्यारोलाइनाका गभर्नर राय कुपरले भने– ‘अझै कयौं दिनसम्म वर्षा हुने आशंका छ।’ सामुद्रिक आँधीका कारण हुने यस प्रकारको बर्षालाई ‘हजारौं वर्षमा हुने घटना’ भएको उनले बताए।

कुपरले भने– ‘आगामी हप्तासम्म हाम्रा नदीहरूमा डरलाग्दो बाढीको स्थिति रहेनेछ र यसमा पानीको मात्रा थपिँदै जानेछ।’

सामुद्रिक चक्रवातका कारण ३ जनाको मृत्यु भएको पुष्टि भइसकेको र अन्य घटनामा पनि आँधीबाट भएको हो वा होइन भन्ने जाँच भइरहेको उनले बताए। न्यु हेनोभर काउन्टीमा मारिएका आमा र बच्चाको मृत्यु उनकै घरको रुख ढलेर भएको कुपरले जानकारी दिए। अर्का एक व्यक्तिको मृत्यु लेनायर काउन्टीमा जेनेरेटर चलाउँदै गर्दा भएको उनले बताए।

स्थानीय अधिकारीहरूले पेन्डर काउन्टीमा पनि एकको मृत्यु भएको सूचना दिएका छन्। उक्त इलाकामा रुख ढलेका कारण एक बिरामी महिलाका लागि आपत्कालीन सेवा पुग्न नसकेको बताइएको छ। ती महिलालाई हृ्रदयघात भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
ह्वाइट हाउसले अर्को हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पले सामुद्रिक आँधी प्रभावित इलाकाको भ्रमण गर्न सक्ने जनाएको छ। उनको भ्रमणका कारण राहत तथा उद्धार कार्य प्रभावित नहुने सुनिश्चित गर्ने पनि उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्