ट्रम्पको मित्र मोदी !



वासिङ्टन, (एजेन्सी)
अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना मित्रका रूपमा लिएको हालै प्रकाशित एक पुस्तकमा उल्लेख गरिएको छ। मोदीले ट्रम्पलाई अफगानिस्तानबाट अमेरिकालाई केही पनि प्राप्त नभएको बताएका थिए। चर्चित पत्रकार बब बुडवर्डको नयाँ किताबमा उक्त जानकारी दिएका हुन्।

गत मंगलबारदेखि बिक्रीका लागि बजारमा ल्याइएको बुडवर्डको उक्त पुस्तकको नाम ‘फियर ः ट्रम्प इन द ह्वाइट हाउस’ हो। किताबमा ट्रम्पलाई उद्धृत गर्दै भनिएको छ– ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मेरो एक मित्र हुन्। म उनलाई अत्यन्तै मन पराउँछु।’
ट्रम्पलाई अराजक, अस्थिर र अनभिज्ञका रूपमा चित्रित गरिएकाले किताबले विवाद खडा गरेको छ। बुडवर्डका अनुसार ट्रम्पले गत वर्ष १९ जुलाईमा ह्वाइट हाउसको एक कक्षमा भएको बैठकका क्रममा यो प्रतिक्रिया दिएका थिए। यसको करिब ३ हप्ताअगाडि जुन २६ मा ह्वाइट हाउसमा मोदीसँग ट्रम्पको बैठक भएको थियो।

१९ जुलाईको बैठकमा ट्रम्पले भनेका थिए– ‘उनले (मोदी) मलाई अफगानिस्तानमा अमेरिकालाई केही पनि हासिल नभएको बताए। केही पनि त पाएनौं। अफगानिस्तानमा ठूलो परिमाणमा खनिज सम्पदा छन्। हामी यसलाई चीनले जसरी लिँदैनौं।’

ट्रम्पले भने– ‘अमेरिकालाई अफगानिस्तानको केही मू्ल्यवान खनिज कुनै पनि समर्थनको बदलामा ल्याउन आवश्यक छ। जबसम्म हामीले खनिज पाउँदैनौं तबसम्म म कुनै सम्झौता गर्ने छैन। अमेरिकाले पाकिस्तानलाई पनि पैसा दिन बन्द गर्नुपर्छ, जबसम्म उसले सहयोग गर्दैन।’
त्यसको ६ महिनापछि ट्रम्पले नयाँ वर्षको जनवरी १ मा गरेको ट्विटमा पाकिस्तानलाई सबै प्रकारको सैन्य सहायता रोक्ने घोषणा गरे। पाकिस्तानले आफ्नो भूमिमा सञ्चालित आतंकवादी समूहविरुद्ध पर्याप्त कारबाही नगरेको उनले आरोप लगाए।

बुडवर्डले आफ्नो नयाँ किताबमा मोदीले राष्ट्र«पति ट्रम्पसँग क्याम्पडेविडमा रात्रिभोज गर्न र सही तालमेल बनाउन चाहेको दाबी गरिएको छ। तर, त्यस्तो सम्भव हुन नसकेको पनि उल्लेख गरिएको छ। क्याम्प डेविड अमेरिकी राष्ट्र«पतिको एक अत्यन्त राम्रो रिसोर्ट मानिन्छ।

प्रतिक्रिया दिनुहोस्