सन्दीप विश्व क्रिकेटमाझ प्यारो बन्दै



-फिरोज राजोपाध्याय
सन्दीप लामिछाने नेपाली क्रिकेट जगत्मा अहिलेसम्मकै सबैभन्दा चर्चित र प्रतिभावान खेलाडी हुन्। सन्दीपले जस्तो सफलता कसैलाई प्राप्त भएको छैन। उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा छाएका खेलाडी बनिसकेका छन्। यसमा कसैको दुईमत नहोला, उनी लामो रेसको घोडा हुन्। स्पिनमा माहिर सन्दीपको तुलना अस्टे«लियन लेग स्पिनर शेन वार्नसँग हुने गर्छ। उनी यसको हकदार पनि छन्। उनले सावित पनि गरिरहकेका छन् कि उनी वार्नकै चेला हुन्।

वार्नकै बलिङ हेर्दै त्यहीअनुसार आफँलाई ढाल्दै गएका सन्दीप अहिले नेपालकै उत्कृष्ट क्रिकेटर त बनिसकेका छन्, जता गए त्यतै उनले प्रभाव छाडेका छन्। यसैले पनि उनले एकपछि अर्को गदै लगातार विभिन्न लिगमा खेल्न सौभाग्य प्राप्त गरेका छन्। सन्दीपको सबैभन्दा ठँलो अवसर भनेको इन्डियन प्रिमियर लिग नै हो। आईपीएलले चर्चित सो लिगमा सन्दीप दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेले। नेपाली ३२ लाख रुपियाँमा आबद्ध उनले सो टिमका लागि उनले ५ विकेट लिएका थिए।

दिल्ली डेयरडेभिल्सले आफ्नो वेभसाइटमा उल्लेख पनि गरेको थियो। जसमा लेखिएको थियो– ‘दिल्लीका लागि यो सिजनमा केही नयाँ खेलाडीले स्मरणीय प्रदर्शन गरे। जसमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको नाम सबैभन्दा अगाडि आउँछ। सन्दीपलाई अगाडिको खेल खेलाउन नपाउँदा हाम्रो लागि नोक्सान भएको छ।’

यो उल्लेखनीय प्रतिक्रियाले गर्दा आगामी सिजनमा आईपीएलमा महँगो रकम लिएर सन्दीपले खेल्ने पक्का नै छ। आईपीएलबाट उनको यात्रा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रारभ्म भयो। आईपीएलपछि नै उनी नेपाली क्रिकेटरमा सबैभन्दा बढी व्यस्त भएका खेलाडी बने। उनले क्यानाडामा क्यानाडा ग्लोबल टी–२० मा सहभागिता जनाएका थिए। त्यहाँ पनि सन्दीपले आफ्नो प्रभाव छाडे।

१८ वर्षमा टेकेका सन्दीपको खुबी भनेको हावामै बल घुमाउन सक्ने हो। यसले उनलाई विश्वस्तरीय बलरको रूपमा हेरिएको छ। उनी गुगली फ्याल्नेमा पनि अगाडि नै छन्। उनको यही खुबीले गर्दा हाल वेस्ट इन्डिजमा भएको क्यारिबियन प्रिमियर लिग (सीपीएल) मा समेत उनले गजबको बलिङ गरे। उनले त्यहाँ क्रिस गेलजस्ता अन्तर्राष्ट्रिय चर्र्चित ब्याट्सम्यानसँग खेल्ने मौका पनि पाए। उनको बलमा छक्का प्रहार गरे पनि त्यसपछि उनको गुगलीमा ब्याट्सम्यान आउट हुन पुग्छन्। उनको लगातार बलमा बाउन्ड्री प्रहार गर्न अहिलेसम्म कसैले सकेका छैनन्।

सीपीएलमा सन्दीपले बीचैमा छाडेर मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा सहभागी जनाए। यहाँ पनि उनको जादु छायो। पहिलो खेलमा ओमानविरुद्ध उनले विकेट लिन सकेनन्। यसपछि उनले युएईविरुद्ध २४ रन खर्चेर ४ विकेट लिएका थिए। हङकङविरुद्ध नेपालले ७ विकेट लिएकामा ५ विकेट उनको नाम रहेको थियो। यो उनको प्रतियोगितामा उत्कृष्ट बलिङ स्पेल बन्यो। उनले ७ दशमलव ५ ओभरमा १४ रन दिएर ५ विकेट हात पारेका थिए। यद्दपि उनको उत्कृष्ट प्रदर्शन बावजुद यो खेल नेपालले हा¥यो र नेपालको एसिया कप खेल्ने आश त्यही समाप्त भएको थियो।

मलेसियाबाट सबै क्रिकेटर नेपाल फर्के तर सन्दीपले भने अर्को फड्को मारेका छन्। पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक प्रतियोगिता खेलेर अर्को प्रतियोगिता खेल्न लामो पर्खाइ गर्छन् तर सन्दीप भने व्यस्त बन्दै गएका छन्। उनी अफगानिस्तानमा हुने अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा आबद्ध भइसकेका छन्। ५ अक्टोबरदेखि २१ तारिखसम्म सञ्चालन हुने ५ टिमले प्रतिस्पर्धा गर्ने एपीएलमा नानगार्हारबाट उनले खेल्नेछन्। सो टिममा एन्डे« रसेल, तामिम इकबालजस्ता विश्वचर्चित खेलाडी पनि समावेश छन्।

प्रतिक्रिया दिनुहोस्