नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ ढाँचा



काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलले आज मन्त्रालयमा भेटवार्ता गरेको छ ।

 

नेपालको शान्ति प्रकियाको ढाँचा अध्ययन गर्न सो प्रतिनिधिमण्डल यहाँ आउनुभएको हो । अफगानस्तानको उच्च शान्ति परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहनुभएका मन्त्री पुनसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको बताइएको छ । हबिबा अफगानस्तानकी पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

 

सो अवसरमा ऊर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ ढाँचा भएको उल्लेख गर्दै शान्ति प्रक्रिया सम्पन्न गरेर नेपालले संसारलाई एउटा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामीले शान्ति प्रक्रिया आफ्नै अग्रसरतामा सम्पन्न गर्न सफल भयौँ ।” युद्ध कुनै पनि समाजका लागि राम्रो नभए पनि त्यसका पछाडि केही बाध्यता र केही ऐतिहासिक संयोग हुने गरेको पनि मन्त्री पुनले बताउनुभयो ।

 

अफगानिस्तानमा शान्ति प्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले नेपालको ढाँचाबाट अफगानिस्तानले सिकेर शान्ति कायम गर्ने दिशामा लाग्नसमेत सुझाव दिनुभयो । मन्त्री पुनले शान्ति प्रक्रिया भनेको लडाइँभन्दा जोखिम हुने भन्दै त्यसमा धैर्यतापूर्वक काम गर्न आग्रह गर्नुभयो ।

 

भेटमा अफगानिस्तानका उच्च शान्ति परिषद्की उपप्रमुख डा साराबीले अफगानिस्तान शान्ति प्रक्रियामा अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिनुभयो ।

उहाँले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्