धेरै जनता गाँउमा तर धेरै डाक्टर शहरमा बस्दा उपचारमा समस्याः मन्त्री यादव



पुष्कर बुढाथोकी, भक्तपुर ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको र ८० प्रतिशत भन्दा बढी डाक्टर शहरमा बस्ने गरेको बताउनुभएको छ ।गाउँमा जनता धेरै, शहरमा डाक्टर धेरै हुने यो असमानता हटाउँनुपर्ने बताउँदै उहाँले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन देशभर १२ सयवटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको बताउनु भयो ।

 

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संचालनमा ल्याएको अत्याधुनिक सि.टि.स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्दै उहाँले सबै नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य उक्त केन्द्र छिट्टै स्थापना गर्न लागेको बताउँनुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा सबैलाई कसरी पुर्याउँने बताउँन जनशक्तिको विकास, अत्याधुनिक उपकरण ल्याउँन र भौतिक संरचना निर्माण गर्न सरकार लागिरहेको उहाँको भनाई छ ।

 

गरिबी धेरै कठिन रोग भएको टिप्पणी गर्दै उहाँले गरिब र विपन्नबाट धेरै रोगहरु जन्मिने भन्दै उहाँले गरिबी कै कारण उपचार पाएर ज्यान जानु पर्ने अबस्थाको अब अन्त्य हुने बताउनुभयो । क्यान्सर, मुटु, मिर्गौला लगायतका जटिल खालका रोगहरुको उपचार गर्न अब विदेश जानु नपर्ने बताउँदै उहाँले नेपाल मै सबै रोगको उपचार सहज हुदै आएको बताउनुभयो । केन्द्रले अब अत्याधुनिक सि.टि.स्क्यानबाट विरामीलाई सेवा दिन सकिने र मुटुको विरामीको लागि क्याथ ल्याब सेवा संचालनमा ल्याएर उपचार गर्ने भएको छ ।

 

कार्यक्रममा केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म ५०० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै भारत, पाकिस्तान लगायतका बिभिन्न देशबाट समेत विरामी आउँने गरेको बतउँनुभयो ।केन्द्रका निर्देशक डा. श्रेष्ठले मानवका बिभिन्न अंगहरु प्रत्यारोपण गर्ने उदेश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसंगै कलेजो प्रत्यारोपण गर्दै सरकारको रु. ८ करोडको लागतमा ल्याएको अत्याधुनिक प्रबिधि युक्त मेशिनले क्याथल्याब सेवा सुरु गरेको बताउनुभयो ।

 

केन्द्र मै मुटुको सेवा संचालन गर्नु भक्तपुरका बासिन्दाका लागि खुसीको कुरा भएको बताउँदै उहाँले “मिर्गौला र कलेजो मात्रै होईन, भविश्यमा मुटु र फोक्सो समेत प्रत्यारोपण गर्ने योजना रहेको जानकारी दिनुभयो । मुटुको एनजिओग्राफी, एनजिओ प्लाष्टरदेखि मुटुको ओपन हार्ट सर्जरी समेत नभई मुटु प्रत्यारोपण गर्न सकिदैन, यसका लागि हामी प्रयासरत छौ ”उहाँले भन्नुभयो ।यस अघि नै मुटु परीक्षण सेवा संचालन गरेको केन्द्रले मुटुको परीक्षणसंगै, एनजिओग्राफी ,(Angiography) बन्द मुटुको नशामा खुलाउने, एनजिओप्लाष्टी (Angioplasty) एवं मुटुमा जाली हाल्ने लगायतका मुटुसंग सम्बन्धित सेवाहरु सुरु गरेको छ ।

 

शहिद गंगालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियोथेरासिस एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले दिदै आएको सेवामा विरामीको चाँप बढेकाले त्यहाँ पालो कुरेर बस्नु पर्ने विरामीलाई केन्द्रले सेवा दिन सक्ने भएको छ । कम्तीमा थप पाँच जना चिकित्सक र नर्स एवं प्राबिधिक जनशक्ति थप गर्न सके नियमित रुपमा सेवा दिन सकिने उहाँको भनाई थियो । आवश्यक जनशक्ति र शैया थप गर्न सके आकस्मिक उपचार समेत सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

 

केन्द्रको शैया थप गर्ने, आवश्यक जनशक्तिको व्यबस्थापन गर्ने र भौतिक पूर्वाधारको व्यबस्था भए मुटुको सबै सेवा यहीबाट संचालन गर्न सकिने जनाएको छ । केन्द्रले २०६९ बैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र २०७३ मंसिर २२ गते बुधबार कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।

 

अहिले ३२ हजार विरामीले वार्षिक रुपमा ओपिडी सेवा लिएको बताउँदै केन्द्रको क्षमता बृद्धि गर्दै उहाँले १०० शैयाबाट ३०० शैयामा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले यो केन्द्रलाई सातवटै प्रदेशमा बिस्तार गर्नुपर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रा.डा. राकेश शर्मा, डा. कल्पना श्रेष्ठ, ईन्दिरा प्रधानलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्