आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुग्यो



जलालाबाद ।
अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विस्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताउनुभयो ।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।

नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ ।

उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेको अवस्थामा भएको थियो । हमलाकारीले प्रदर्शनकारीको बीचमा गएर आफैंलाई बमले उडाएको बताइएको छ ।

मृत्यु भएका र घाइतेहरुलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालहरुमा लगेका थिए ।

जनवरीमा भएको यस्तै एक विभत्स घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउँदा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए । त्यो बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्