चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना हुने



विनोद सिंह विष्ट, बैतडी ।
चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा थप एउटा प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापनाको तयारी भएको छ । सुरक्षा देष्टिकोणले उक्त ठाउँमा असुरक्षित रहेकोे प्रहरी चौकी खडा गरिन लागिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए । स्थानीय सरकारको आग्रह तथा सुरक्षाको दृष्टिकोणले त्यँहा आवश्यक रहेकोले प्रहरी चौकी थप्न लागेका हौं उनले भने“स्थानीयको मागअनुसार प्रहरी चौकी स्थापना गर्न लागेका छौ ।”

सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्ने बिषय जिल्ला सुरक्षा समितिमा पारित भईसकेको छ । उनले भने“प्रहरी चौकी स्थापनाका लागी माथिको आदेश चाहिन्छ , हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौं” अबको १५ दिनभित्रै प्रहरी चौकीको स्थापना भईसक्ने जनाईएको छ । प्रहरी चौकी स्थापनापछि प्रहरीका लागि आगामी दिनमा शान्ती सुरक्षा र कार्य सम्पादनका लागि सहज हुने विश्वास गरिएको छ ।

शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको भएपनि त्यहाँवाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न ४ घण्टा लाग्ने गरेको छ ।

गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भएकाले प्रहरी चौकी स्थापनाको माग गरिएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताईन् । तल्लोस्वराड चितुवा प्रभावित क्षेत्र रहेकाले यहाँ प्रहरी चौकी थप्न आवश्यक रहेको थियो । उनले भनिन्“सुरक्षाको कारण देखाउदै बैंक शाखा समेत स्थापना हुन सकेको थिएन, अब बैंक पनि स्थापना हुन्छ ।”

तल्लोस्वराडमा चितुवाको आक्रमणमा परी ६ बर्षयता २३ जनाले ज्यान गुमाएका छन् भने दर्जन बढी घाईते भएका छन् ।

जिल्लामा हाल ३१ वटा प्रहरीचौकी रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्