मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व मनाइँदै



महेन्द्रनगर । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् ।

चौठचन्द्र पर्वका दिन ब्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउँछन् । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन् । मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । ठाकुर आफै ज्योतिष थिए । उहाँलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुवात गर्नुभएको हो । मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्