मुख्यमन्त्रीद्वारा कारागार अनुगमन, ‘बिचौलियाका कारण कारागारभित्र समस्या’



हेटौंडा,(नेस)
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको भीमफेदीमा रहेको कारागारको निरीक्षण गर्नुभएको छ । मंगलबार कारागार पुगेर मुख्यमन्त्री पौडेलले कारागारको अबस्थाबारे जानकारी लिनुभएको थियो ।

कारागारमा देखिएका समस्या निराकरण गरिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । बिचौलियाका कारण कारागारभित्र समस्या देखिएको भन्दै मुख्यमन्त्री पौडेलले यसको समाधानका लागि कारागारबाट सोझै सामान खरिद गर्ने व्यबस्था मिलाउन कारागार प्रशासनलाई निर्देशन दिनुभयो ।

कारागारमा विद्यालय स्थापनाका लागि प्रदेश सरकारले एक जना शिक्षकलाई तलब व्यबस्था गर्ने उहाँले बताउनुभयो । कारागारमा स्थानीय उत्पादन खपत गराउने वातावरण निर्माण गरिने उहाँको भनाइ छ । कारागारमा कैदीबन्दी जीवन बिताइरहेकालाई उत्पादनमा लगाउने उहाँले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले असोज १ गतेदेखि कारागार प्रदेशको मातहतमा आउने तयारी भइरहेको जानकारी दिनुभयो । भीमफेदी कारागारलाई प्रदेशस्तरीय बनाउन लागिएको उहाँको भनाइ छ ।

जेलको ‘ख’ ब्लकका चौकीदार दीपेन्द्र राई र ‘क’ ब्लकका चौकीदार डानियल लामाले शौचालयको सेफ्टी ट्यांकी, औषधी उपचार तथा बिरामीको सेवाका लागि समस्या भएको बताउनुभयो ।

निरीक्षणका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक थापा, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, ३ नम्बर प्रदेश सांसद् जुनेली श्रेष्ठ, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङलगायत टोलीमा सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्