सङ्घीयतालाई सफल बनाउनुपर्छः नेता गच्छदार



विराटनगर ।
नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सङ्घीयताको सफल कार्यान्वनका लागि सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सङ्घीयता कमजोर भएमा राजनीतिक दलको कुनै भविष्य नरहने हुँदा यसको सफल कार्यान्वयनका लागि सबै लाग्नुपर्दछ ।”

 

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई चिरस्थायी र दीर्घ बनाउन सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउँदै जनताको मागअनुसार संविधानलाई क्रमिकरुपमा संशोधन गर्दै लैजानुपर्छ भन्नुभयो ।

मुलुकको राज्य प्रणाली संसदीय मूल्य मान्यताअनुसार अघि बढेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहीँ कतैबाट हुनुहुँदैन भन्नुभयो ।

 

नेता गच्छदारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ सरकारको मात्र नभएर काङ्ग्रेसको पनि चाहना भएकाले यसलाई पूरा गर्न सरकार दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

एक प्रश्नको जवाफमा उहाँले सङ्घीय सरकारले संविधानमा उल्लेख भएबमोजिमको अधिकार प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुुभयो ।

 

फरक प्रसङ्गमा नेता गच्छदारले यही भदौ २८ गते बस्ने नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठकले नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच विगतमा भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्