“बालमैत्री स्थानीय शासन वडा” घोषणाको तयारी पूरा



सीताराम चौधरी, कपिलवस्तु ।
जिल्ला समन्वय समिति कपिलवस्तुले शिवराज नगरपालिका वडा नं. ९ साविक शिवगढी गाविसलाई बालमैत्री स्थानीय शासन वडा घोषणाको स्वीकृति प्रदान गरेको छ ।

बालमैत्री स्थानीय शासन रणनीति तथा कार्यान्वयन कार्यविधि २०६८ अनुसार सम्पूर्ण उपलब्धी पूरा गरेको साथै सूचकहरु हासिल गरेकाले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि जि.स.स.ले स्वीकृति प्रदान गरेको हो । जिल्ला समन्वय समिति अन्तर्गत जिल्ला स्तरीय बालमैत्री स्थानीय शासन जिल्ला समिति, विषयगत कार्यालय र विज्ञको टोलीद्वारा गरिएको अनुगमन पश्चात वडाले सम्पूर्ण उपलब्धी पूरा गरेको ठहर गर्दै बालमैत्री स्थानीय शासन वडा घोषणाको स्वीकृति पत्र प्राप्त गरेको वडासचिव प्रेम वलीले जानकारी दिनुभयो ।


जिल्ला समन्वय समिति संयोजक एवं जिल्ला स्तरीय बालमैत्री स्थानीय शासन जिल्ला समिति संयोजक नारायण प्रसाद खनालको नेतृत्वको टोलीले वडास्थित विभिन्न विद्यालय, स्वास्थ्य चौकी, शौचालय लगायत बालमैत्री भए नभएको अनुगमन गरेको थियो । अनुगमन टोलीले स्थानीय अनगुमन तथा समन्वय समिति, बाल संजाल, सरसफाई लगायतका समितिसँग अन्तरक्रिया समेत गरेपछि सम्पूर्ण सूचक पूरा गरेको ठहर गरेका थियो ।


अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछाने, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत, महिला तथा बालबालिका कार्यालयका दिपेन्द्र पन्थी, शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्मा, कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल, कालिकाका सन्दिप लम्साल, जिल्ला समन्वय समिति सदस्य सठिया थारु, कालिका कार्यक्रम प्रमुख अजय कुमार चौधरी, सुभाष रेग्मी लगायतको सहभागिता रहेको थियो । टोलीले प्रकाश मावि, सरस्वती मावि, शिवगढी आधारभूत विद्यालय, शिवगढी स्वास्थ्य चौकी, २४ घण्टे प्रसुति सेवा लगायतको स्थलगत अनुगमन गरेको थियो ।


अनुगमनपश्चात वडा कार्यालयमा आयोजित अन्तरक्रियामा वडाध्यक्ष चुरबहादुर खडकाले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि विगत २०७१ सालदेखि बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिंदै आएको अवगत गराउनुभयो । पाँच वर्षको प्रयासपछि बल्ल ३९ वटा सूचक पूरा गर्न सफल भई बालमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । आगामी असोज ३ गतेका दिन शिवराज नगरपालिका वडा नं. ९ लाई भव्यताका साथ बालमैत्री स्थानीय शासन वडा घोषणाको तयारीमा जुटेको वडाध्यक्ष खडकाले उद्घोष गर्नुभयो ।


बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि यतिबेला त्यहाँ मूल समितिको मातहतमा विभिन्न ७ वटा उपसमिति गठन गरी कार्यक्रम अघि बढाई पूरा तयारी पूरा भएको वडाध्यक्ष खडकाले बताउनुभयो । वडाले पाँच वर्षपछि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेका सेवा प्रभाव सम्बन्धी २७ वटा सूचक तथा संस्थागत विकास सम्बन्धी १२ वटा सूचक गरी ३९ वटा सूचक पूरा गरेको अनुगमन टोलीले अनुगमन पश्चात ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्