हवाई कारबाहीमा चार प्रहरीसहित ८७ आतङ्ककारी मारिए



काबुल ।
अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारमा अफगान हवाइ सेनाले तालिवान आतङ्ककारीविरुद्ध सोमबार मध्यरातमा गरेको कारबाहीमा ५७ आतङ्ककारी मारिनुको साथै १६ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

 

कन्दाहारको प्रान्तीय राजधानी कन्दाहारबाट पश्चिमतर्फको एक जिल्लालाई कब्जामा लिने कोसिसमा तालिबानी आतङ्ककारीहरु रहेका थिए ।

त्यसैगरी अफगान सुरक्षाफौज र अमेरिकाआवद्ध नेटो संयुक्त गठबन्धनले अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाहलान इ मार्काजी जिल्लामा तालिबान आतङ्ककारी विरुद्ध चलाएको हवाइ कारबाहीमा ३० जना आतङ्ककारी मारिनुको साथै अन्य १६ जना घाइते भएका सेनाका प्रवक्ता हनिफ रेजाइले बताउनुभएको छ ।

 

शुक्रबार राति सोहीे जिल्लामा भएको आतङ्ककारी आक्रमणमा २० जना सैनिकको मृत्यु भएपछि प्रतिशोधको रुपमा यो कारबाही भएको बताइएको छ ।

अफगानिस्तानमा आगामी अक्टोबर २० मा संसदीय र जिल्ला परिषदको निर्वाचनको तयारी भइरहेको अवस्थामा अफगान सुरक्षाफौजले संयुक्त गठबन्धन सेनाको सहयोगमा आतङ्ककारीविरुद्ध भीषण जमिन र हवाई कारबाही शुरु गरेको छ ।

तालिबान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन ।
रासस

प्रतिक्रिया दिनुहोस्