स्वतन्त्र प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकारः नेता गच्छदार



सरोज यादव, विराटनगर ।
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले जनताका अधिकार कुण्ठित बनाउनेतर्फ सरकार अग्रसर भएको बताए । “लोकतन्त्रको धुकधुकी र मेरुदण्डका रुपमा रहेको प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकार लागिपरेको छ,” गच्छदारले भने, “यसतर्फ सबै नेपाली जनता सचेत हुनुपर्छ ।” उनले संघीयतालाई असफल बनाउन सरकार उद्दत रहेको समेत बताए । संघीयता असफल भयो भने सरकार पनि असफल हुने गच्छदारको तर्क थियो । ७ महिनाको अवधिमा सरकारले जनतालाई कुनै परिवर्तनको महसुस हुनेगरी काम गर्न नसकेको दाबी गरे । “सरकारले जनतालाई मीठा–मीठा सपना बाँडेको छ,” उनले थपे, “खोई त सपना पूरा गराउनेतर्फ सरकारको ध्यान अझै गएको छैन ।”

वर्तमान सरकार जनताका समस्या समाधान गर्नेतर्फ भन्दा पार्टीको आन्तरिक व्यवस्थापनमा अलमलिएको उनको भनाइ थियो । उनले समृद्ध नेपाल ः सुखी नेपाली सरकारको मात्र नभएर कांग्रेसको नारा भएको बताउँदै जनता र देशको हितमा गर्ने काममा सरकारलाई सधैं कांग्रेसले साथ दिने प्रस्ट पारे ।

उनले कांग्रेसको अब बस्ने केन्द्रीय समितिको बैठकले फोरम लोकतान्त्रिकसँग भएको सम्झौताअनुसार कार्यकर्ता समायोजन प्रक्रिया सुरु हुन लागेको बताए । नेता गच्छदारले भदौ २८ गते बस्न लागेको केन्द्रीय समितिको बैठकले सम्मानजनक समायोजनका लागि प्रक्रिया सुरु हुने उल्लेख गरे । “पार्टी एकीकरणका क्रममा गरिएको सहमति अक्षरशः पालना हुनुपर्छ भन्ने हाम्रो माग छ,” उनले भने, “जहाँसम्म अब बस्ने केन्द्रीय समिति बैठकबाट सबै टुंगो लाग्छ ।” उनले उपसभापतिसहित केन्द्रीय सदस्य, महाधिवेशन तथा महासमिति सदस्य पदमा फोरम लोकतान्त्रिका नेता तथा कार्यकर्तालाई समायोजन गर्ने गरी आफूले कांग्रेसमा प्रस्ताव पेश गरिसकेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्