भद्रपुर भन्सारमा कर्मचारी र व्यापारीकोबाट राजस्व छली



भद्रपुर ।
भद्रपुरमा रहेको छोटी भन्सार कार्यालय स्तरोन्नति भएर भद्रपुर भन्सार भएपनि कर्मचारीको व्यवहार भने कमाउधन्दामा नै रहेको पाइएको छ । भन्सार कर्मचारी र व्यापारीको आन्तरिक साँठगाँठमा मनोमानी ढङ्गले काम गरिरहेको पाइएको हो । भन्सारमा न्यून बिल बिजक प्रयोग गरी सामान लैजाने, प्रज्ञापन पत्र काटिसकेपछि पनि गाडी भन्सारमा नै राख्ने,प्रहरीको आँखा छलेर राजस्व तिरेको पोकासँगै अर्को पोका गाडीमा राख्ने ,सामान अनुसारको राजस्व नकाटने लगायतको हर्कत पछिल्लो समय हुदै आएको छ । चाडपर्व नजिक आएसँगै दायाँवायाँबाट भन्दा भन्सारमा ‘सेटिङ् ’मिलाएपछि सामान सुरक्षित हुने व्यापारीको बुझाइ छ । भन्सारमा सहज भइसकेपछि पछिल्लो समय अन्य नाकाहरुमा तस्करी कम भएको छ । भन्सारसँग कुरा नमिलेमा कारोबारीले झापा भन्दा वाहिरी जिल्लाबाट तस्करी गर्ने गरेका कयौं घटनाहरुबाट पुष्टि भइसकेको छ ।

 

घटना विवरण अनुसार व्यापारी र कर्मचारीलेको आपसी मिलेमतोमा आइतबार राजस्व काटिएका सवैसामग्री प्रज्ञापन पत्रसँग मिल्दो जुल्दो नभएको सूचना राजस्व अनुसनधान कार्यालयले पाएको थियो । भन्सारमा भइरहेको चलखेललाइ पुष्टि गर्न टोली भन्सारको आसपास आएको जानकारी व्यापारी र कर्मचारीले चाल पाएसँगै उनिहरुबिच खैला वैला मच्चिएको थियो । अकस्मात राजस्वको टोली आएपछि जाँचपास गरेर भन्सारबाट वाहिरीन लागेका आधा दर्जन गाडी भन्सार पसिरमा नै थन्किएका थिए । विहानैदेखि जाँचपास भएका गाडी साँझ ५ बजे मात्र व्यापारीले भन्सारबाट लैजादै आएका थिए ।

 

राजस्वको टोलीले सामान नियन्त्रणमा लिने व्यापारीले जानकारी पाएपछि सोमबार पनि भन्सार भित्रै गाढी राखिएका छन् । गाडीमा अधिकाम्स कपडा रहेको छ । कर्मचारी र व्यापारीबिच भएको सहमतिमा गरिएको काम सार्वजानिक हुने डरले दुवैपक्ष जोगिनलाइ आ–आफ्नो ढङ्गले पुष्टयाइ दिइरहेका छन् । राज्यले रातारात भन्सार शुल्क बढाएकोे व्यापारीलाइ जानकारी नभएपछि सामान नकाटिएको व्यापारी भिमा राजपूतले बताए । व्यापारीलाइ मार पर्नेगरी सामानको राजस्व बढाएको भएपनि एकदिनलाइ पूरानो दरमा राजस्व काटिनु पर्ने उनको माग छ । भन्सारमा रहेको सामान भद्रपुरका अधिकाम्स व्यापारीको रहेको छ । भन्सार परिसरमा भेटिएका दर्जनभन्दा बढी व्यापारीले एकदिनलाइ भन्सारले पुरानै दरमा राजस्व लिनु पर्ने माग गरेका छन् । आइतबार एउटा दर र सोमबार अर्को दर भनेपछि समस्या आएको उनिहरुले बताए ।

 

यता भन्सार कर्मचारी लोकेन्द्र बम भने वर्षाका कारण जाँचपासमा समस्या आएको बताउँछन् । केही समानको जाँचपास भइसकेको र अन्य सामानको पनि क्रमश प्रक्रिया अघि बढने बताउँछन् । अनलाइन प्रणाली भएकोले तलमाथि गर्न नसकिने बमले दाबी गरे । व्यापारीले गोदामबाट निकाली सकेको सामान पुनः गोदाममा राख्दा तलमाथि हुनसक्ने आशङ्काले सामान गाडीमा नै लोड गरिएको उनको भनाइ छ । व्यापारीले प्रज्ञापन पत्र भरेर ल्याएमा राजस्व लिने हो तर, सवै व्यापारी भन्सारबाट हिडिसकेको उनले जनाए ।

 

भन्सार र कर्मचारीको मिलेमतोमा हुदै आएको काम राजस्वको टोलीले बरामद गर्ने डरले भन्सार भित्रै गाडी राखिएको भद्रपुरका केही व्यापारी बताउँछन् । जाँचपास नभइकन सामान गाडीमा राख्नै नपाइने नियम रहेपनि कर्मचारीले उलङ्घन गरेको उनिहरुले आरोप लगाए । भन्सार भित्र भइरहेको अनियमिततालाइ सम्बन्धित निकायले चासो देखाउनु पर्ने उनिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्