‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम शुरु



नेपाल समाचारपत्र, चितवन
यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आज (सोमवार) देखि चितवनमा शुरु भएको छ । नारायणगढको बालकुमारी इङलिस स्कुलमा चेतनामूलक कार्यक्रम गरी अभियानको शुरुवात गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु प्रसाद ढकालले महिला हिँसा ,बलात्कार र यौनजन्य कृयाकलाप कम गर्न शिक्षक शिक्षिका र विद्यार्थीको भूमिकाका बारेमा जानकारी प्रदान गरेका थिए ।

“विद्यार्थी पनि बिना बर्दिका प्रहरी हुन्,उनिहरुले परिवार,नातागोता र छरछिमेकलाई समेत सचेत बनाउन सक्छन्,ढकालले भने’, यसैकारण विद्यालयमा कार्यक्रम गरिएको हो ।” उनले लागु औषध दुव्र्यसन ,माधकपदार्थ सेवन,सामाजिक संजालको दुरुपयोगले हुने असरका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

सो अवसरमा विद्यार्थीले अपनाउनुपर्ने सुरक्षात्मक उपायका बारेमा समेत जानकारी गराइएको थियो । बालबालिकालाई सुरक्षित राख्नका लागि स्कुल स्कुलमा प्रहरी कार्यक्रममार्फत प्रहरी कार्यालय मतहतका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा कक्षा १ देखी कक्षा १२ सम्मका विद्यार्थीलाई जानकारी गराउने लक्ष्य राखिएको ढकालले जानकारी दिए ।

अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश नं ३ प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पूर्ण मातहत जिल्लामा आजदेखि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय आफ्ना मातहतका सबै वडा,इलाका र प्रहरी चौकीलाईस्थानीय तहलगायत अन्य सामाजिक सङ्घसंस्थाको समन्वयमा यौनजन्य अपराधका घटना नियन्त्रण र न्यूनीकरणका लागि सम्पूर्ण शिक्षण संस्थामा ‘स्कुल स्कुलमा प्रहरी कार्यक्रम’ सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्