कर्मचारीको कार्यक्रमबारे एक समीक्षा



गत शुक्रबार निजामती कर्मचारीहरुले आफ्नो महान् पर्वका रुपमा निजामती दिवस मनाए । कतै दर खाने, कतै खेल खेल्ने त कतै सडक तथा पदमार्गहरुको सरसफाइ गरेर दिवस मनाइएको थियो ।

कर्मचारीहरुले दिवसलाई प्रभावकारी कार्यक्रमको आयोजना गरेर मनाउने भने तापनि सोचेजस्तो प्रभावकारी र प्रेरणादायी बनाउन भने नसकेको भान भयो । स्थायी सरकारको रुपमा मानिने कर्मचारी संगठनले गर्ने कार्यक्रम, उनीहरुको दिवस मनाउने तरिका समाजका अन्य संघ–संगठनको लागि प्रेरणाको स्रोत अथवा नक्कल गर्नलायकको हुनुपर्दथ्यो । उनीहरुले गरेका कार्यक्रमहरुले समुदाय स्तरमा जनचेतनाको विकास, सामाजिक रुपान्तरणमा सहयोग र विकास निर्माणमा टेवा पुग्ने खालको हुनुपर्ने थियो । तर सबै कर्मचारीहरुको दिवस केवल कर्म पु¥याउनेमा सीमित रह्यो ।

जिल्ला सदरमुकाममा आयोजना भएको पदमार्ग सरसफाइ, कानुनमाथिको छलफल र कर्मचारी र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता कर्मकाण्डी भए पनि सदरमुकामनजिकै रहेको काठेखोला गाउँपालिकामा भने कर्मचारीहरुले नै दिवसको अवसरमा गरेको कामले चर्चा बटुल्यो । दिवसको अवसर पारेर काठेखोला गाउँपालिकाका कर्मचारीले आयोजना गरेको श्रमदान कार्यक्रमले यति बेला सबै तह र क्षेत्रलाई पाठ सिकाएको छ ।

निजामती दिवसको अवसरमा आयोजना गरीएको श्रमदानको कार्यक्रममा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई सहभागी गराएर अफ्टेरो सडक बनाउने काम निकै महत्वपूर्ण काम हो । एउटा गाउँपालिकाका सीमित कर्मचारी र जनप्रतिनिधिले झन्डै चार घन्टा श्रमदान गर्दा ५ लाखभन्दा धेरैको काम गरेका छन् ।

छवटा तारजालीको लागि ढुंगा बोकेर तारजाली भर्ने काम छोटो समयमा नै सम्पन्न गरेर सच्चा मनले गर्ने श्रमदानको नमुना त्यहाँ प्रस्तुत भएको छ । कुनै पनि विकासका काममा अनिवार्य जनश्रमदान गर्नुपर्ने सरकारी नियम भए पनि प्राविधिक स्टमेटमा श्रमदानलाई समावेश गर्ने तर श्रमदान शून्य रहेको अवस्थामा काठेखोलाले गरेको यो कामलाई अनुकरणीय मान्नुपर्छ । श्रमदानको महत्व र मूल्यलाई समेत ध्यानमा राखेर काठेखोलाबाट सबैले सिक्नुपर्ने वेला आएको छ । कम्तीमा कुनै पर्व वा अवसरका रुपमा मात्रै नभएर ३ सय ६५ दिनमा एक–एक हप्ता हामी सबै नागरिककले श्रमदान गर्न सक्ने हो भने मात्रै पनि हाम्रो विकासले फड्को मार्छ ।

काठेखोलाका जनप्रतिनिधि र कर्मचारीले गरेको श्रमदानलाई नमुना मानेर महिनामा एक दिन सबैले श्रमदान गर्ने चलन बसाल्ने हो भने त्यसको प्रभाव निकै राम्रो हुने थियो । सर्वसाधारणबाट असुलेको करबाट बनेको बजेट विनियोजन हुँदा आउने रकमबाहेक हाम्रो विकासको स्रोत अरु छैन । हाम्रो गाउँठाउँको विकास निर्माणको लागि हामी आफैंले योगदान नगर्ने हो भने त्यसबाट आशा गर्नु पनि आवश्यक हैन । राज्यले दिएको सुविधा उपभोग गर्न आतुर हामी हाम्रो कर्तव्यमा श्रमदान छ भन्ने कुरालाई भुलिरहेका छौं ।

त्यसैले आमसर्वसाधारणले पनि श्रमदानलाई स्वीकार गर्ने, सामाजिक तथा राजनीतिक संघ–संगठनले पनि श्रमदानलाई आफ्नो प्राथमिकतामा राखेर भड्किलो कार्यक्रमको सट्टा विकासमा श्रमदान गर्ने परिपाटीको विकास गरौं ।
– सरिता खत्री, उदयपुर ।

प्रतिक्रिया दिनुहोस्