कपिलवस्तुमा आत्महत्याका घटना बढ्दै, तीन वर्षमा २५८ आत्महत्या



सीताराम चौधरी, कपिलवस्तु ।
पछिल्लो समय कपिलवस्तुमा आत्महत्याका घटना बढ्दै गएको छ । गतवर्ष मात्र १०१ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो २०७२ यताकै उच्च हो । प्रहरीले दिएको जानकारी अनुसार जिल्लामा तीन वर्षमा २५८ जनाले आत्महत्या गरेका छन् ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कपिलवस्तु प्रहरीले सो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार सबैभन्दा बढी झुण्डिएर र विष सेवन गरी आत्महत्या गरेका छन् । त्यसबाहेक हाम फालेर, आगो लगाएर समेत आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिनुभयो । तथ्यांकलाई हेर्दा जिल्लामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ ।
दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्ला विभिन्न विद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जिल्लका बिभिन्न बिद्यालयमा पुगी सचेतना कक्षा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
नेपालमा आत्महत्या रोकथाम चुनौतिपूर्ण बन्दै गएको प्रहरीको भनाई छ । खासगरी गरिबी, पारिवारिक कलह, श्रीमान्श्रीमती बीचको असमझदारी, पे्रममा असफल, बेरोजगारी तथा अन्य विभिन्न तनाव जस्ता कारणले आत्महत्याका घटना हुने गरेको छ । विश्वमा हरेक वर्ष झण्डै ८ लाख बढीको आत्महत्याबाट ज्यान जाने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्