हत्याको बिरोधमा रोल्पा ठप्प



महेश न्यौपाने, रोल्पा ।
आफ्नो नगर स्तरीय नेताको हत्या विरोधमा नेपाल तरुण दल रोल्पाले आह्वान गरेको वन्दका कारण रोल्पाको जनजीवन ठप्प भएको छ ।
वन्दका कारण रोल्पा सदरमुकाम लिबाङ, सुलिचौर, घर्तीगाउँ, होलेरी, वाग्मारा लगायतका साना ठूला वजार, शिक्षण संस्था र उद्योग धन्दाहरु पूर्ण रुपमा वन्द रहेका छन । वन्दका कारण जिल्ला सदरमुकामवाट भित्री सडकमा चल्ने साना सवारी साधन तथा काठमाण्डौ, वुटवल, नेपालगंज, कपिलवस्तु, दाङ चल्ने सवारी साधनहरु गुड्न सकेका छैनन ।

तरुण नेताको हत्या संगै जिल्ला शोकमा डुवेको छ । नेपाली हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको मुखैमा आएर भएको हत्याकाण्ड पछि भएको वन्दले वजारको चहलपहल समेत ह्वात्तै घटेको छ । तीजका लागी किनमेलमा व्यस्त हुने दिनमा वजार वन्द हुदा व्यवसायीहरु मर्कामा परेको वताएका छन ।
दिनदहाडै प्रहरी चौकी नजिक भएको हत्याकाण्डले कानूनको शासनको खिल्लीमात्रै नउडाई सरकारको सुरक्षा संवेदनशीलता माथि नै गम्भिर प्रश्न उठाएको नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले वताए । हत्यामा संलग्न समूहलाई प्रहरीले पक्राउ नगर्नुले आशंका थपिएको तरुण नेताहरुले आरोप लगाएका छन ।

हत्यामा धेरै जनाको संलग्नता रहे पनि रोल्पा नगरपालिका १० धवाङका देववहादुर घर्तीले पेस्तोल सहित प्रहरीमा आत्म समर्पण गरेको वताइएको छ । हत्यामा संलग्न पूर्व माओवादी केन्द्रको कार्यकर्ता रहेका घर्तीसंगै सोही पार्टी संवद्ध अन्य व्यक्ति भने अझै सम्म फरार रहे पनि प्रहरीले पक्राउ गर्न नसकेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
तरुण नेताको हत्याको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र नेपाल तरुण दल केन्द्रीय समितिले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरि हत्याको विरोध गरेका छन । नेपाली कांग्रेसका कार्यालय सचिव र नेपाल तरुण दलका महासचिवद्धारा हस्ताक्षरित विज्ञप्तीमा सत्ताको आडमा हत्याकाण्ड भएको आरोप लगाएका छन ।

मृतक पुनको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगिएको वताइएको छ । पोष्ट मार्टम पछि नेता पुनको पार्थिव शरिरमा श्रद्दाञ्ली दिई अन्तिम दाह सस्कार गरिने नेपाली कांग्रेस श्रोतले वताएको छ ।
नेता पुनलाई हिजो वेलुका ४ः४० वजे ईलाका प्रहरी कार्यालय सुलिचौरवाट १५ मिटर दुरीमा रहेको एक रेष्टुरेण्टमा हत्या गरिएको थियो । नेता पुनलाई नास्ता खान रेष्टुरेन्टमा बोलाई हत्या भएको वताइएको छ । छाती र पेटमा ३ वटा गोली लागेका पुनको घटना स्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्