फौजदारी संहिता कार्यान्वयनः कुकुर कुट्दा दुई पक्राउ



मोतीराम तिमल्सिना, काभ्रे
टमी र काली मान्छे होईनन् । दुबै कुकुर हुन् । पशुपक्षी सम्वन्धी कसुरले उनिहरुलाई पशुपक्षी प्रति निर्दयी ब्यवहार गर्न पाईदैन ।

कुकुर कुटेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपामा दुई ब्यक्ति पक्राउ परेका छन् ।

२०७५ भदौ २२ गते राति ८ बजेको समयमा मादक पदार्थ सेवन गरी सडकमा समेत होहल्ला गर्दै बनेपा नगरपालिका वडा नम्वर ७ स्थित संविधानबहादुर जोशीको घरमा बाँधी राखेका दुई कुकुर टमी र कालीलाई नजिकै रहेको निर्माण सामाग्रीको रड प्रयोग गरी आक्रमण गरेका थिए ।

खानिखोला गाउँपालिका ७ घर भई बनेपा ७ सिनागालमा डेरा गरी बस्ने बर्ष १९ का सुरेश भ्लोन र धुलिखेल नगरपालिका वडा नम्वर १ घर भएका बर्ष २८ का राज लामाले दुबै कुकुरलाई आक्रमण गरी खुट्टा समेत भाँचिदिएका थिए ।

कुकुर धनी संविधानबहादुर जोशीले बाँधेर राखेका कुकुरलाई किन आक्रमण गरेको भनेपछि दुबै पक्ष बीच बादविबाद भएको थियो । बादविवादका बीच राज लामाले कोठामा रहेको खुकुरी ल्याएर कुकुर र मान्छे दुबैलाई छिनाल्न भनेपछि सुरेश भ्लोन कोठामा गई खुकुरी समेत ल्याई आक्रमण गर्ने प्रयास भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

संविधान बहादुर जोशीले आफुले घरमा बाँधी राखेका दुई कुकुरलाई आक्रमण गरेको उजुरी दिएपछि प्रहरीले उजुरीका आधारमा आक्रमणकारीलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीसँग अनुमति मागेको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहले पक्राउ परेका दुबैलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पक्राउ अनुमति दिदै ७ दिनको अनुसन्धानको म्याद दिएको बताए ।

मुलुकी अपराध(संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ९ को उपदफा ७ बमोजिम पक्राउ अनुमति प्राप्त गरेको प्रहरीले अनुसनधानका लागि ७ दिनको अनुमति प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

मुलुकी फौजदारी कार्याविधिले गरेको ब्यवस्था अनुसार पशुपक्षी सम्वन्धी कसुरको २९० दफामा पशुपक्षी प्रति निर्दयी ब्यवहार गर्न नपाईने उल्लेख छ ।

कसैले कुनै पशुपक्षीलाई कुटी, हिकाई वा बोक्न सक्ने क्षमता भन्दा बढी भारी बोकाई वा सामाथ्र्यभन्दा बढी दौढार्ए वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफुले पालेको पशुपक्षी रोगी वा बृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर ब्यवहार गर्न पाईने छैन । त्यस्तो गर्ने ब्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयासम्म जरिवना वा दुबै सजायँ गर्ने ब्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी राउतले उक्त कसुरमा पहिलो पटक पक्राउ पुर्जी जारी गरी अनुसन्धानका लागि म्याद दिएको बताए । इलाका प्रहरी कार्यालय बनेपाले पशुपक्षी सम्वन्धी मुद्दा पहिलो पटक दर्ता भएको बताए ।

सडकमा गाई बस्तु छाड्ने विरुद्ध पनि मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको इप्रका बनेपाका प्रहरी निरिक्षक शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्